अर्को साता सम्ममा गाजा युद्धविराम सम्झौता हुनसक्ने ट्रम्पको अपेक्षा, इजरायलले वार्ता टोली कतार पठाउदै
प्रकाशित मिति : असार २१, २०८२ शनिबार
इजरायलले गाजा युद्धविराम र बन्धक साटासाट प्रस्तावमा हमाससँग अप्रत्यक्ष वार्ता गर्न कतारमा वार्ता टोली पठाउने निर्णय गरेको छ।
प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको कार्यालयले निम्तो स्वीकार गर्दै आइतबार वार्ता टोली कतार पठाउन लागेको बताएको हो । यद्यपि हमासले प्रस्तुत प्रस्तावमा गर्न खोजेका केही संशोधनहरूलाई इजरायलले “अस्वीकार्य” भनेको छ ।
हमासले ६० दिनको युद्धविराम प्रस्तावमा ‘सकारात्मक प्रतिक्रिया’ दिएको र वार्ताका लागि तयार रहेको बताएको थियो ।
तर एक प्यालिस्तीनी अधिकारीका अनुसार हमासले प्रस्तावमा केही संशोधनको माग पनि राखेको छ । स्थायी युद्धविराम वार्ता असफल भए पनि पुनः आक्रमण नहुने अमेरिकी ग्यारेन्टी हमासले चाहेको संशोधनमा उल्लेख छ।
गाजामा हमास नियन्त्रित सिभिल डिफेन्स एजेन्सीका अनुसार, शनिबार इजरायली आक्रमण र गोलीबारीमा कम्तीमा ३५ जना प्यालिस्तीनीको मृत्यु भएको छ।
शनिबार राति नेतन्याहूको कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, “हमासले गर्न खोजेका परिवर्तनहरू इजरायलका लागि अस्वीकार्य छन्।”
इजरायली अधिकारीले हमासको प्रतिक्रियामा काम गर्न मिल्ने केही आधार देखिएको बताएका छन । वार्ता कतारको दोहामा हुनेछ । मध्यस्थकर्ताहरू कतार, अमेरिका, मिस्रले बाँकी विवाद समाधान गर्न प्रयास गर्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनहरूमा सम्भावित सम्झौताका विषयमा आशावादी धारणा दिएका छन् । उनले सम्भवतः अर्को साता गाजा सम्झौता हुन सक्ने बताएका छन । सोमबार ट्रम्पले नेतन्याहूसँग भेट गर्ने कार्यक्रम छ ।
शनिबार राति तेल अविभमा हजारौं मानिस सहभागी ¥यालीमा बन्धक परिवारहरूले सरकारलाई सम्झौता गर्न आह्वान गरेका थिए । नेतन्याहूले सबै बन्धकको रिहाइ र हमासको सैन्य तथा शासकीय संरचना पूर्ण रूपमा नष्ट नभएसम्म युद्ध नरोकिने बताएका छन ।
इजरायली सैन्य अभियान हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणपछि सुरु भएको थियो । जसमा १ हजार २ सय इजरायलीको मृत्यु भएको थियो । २५१ जना बन्धक बनाइएका थिए।
गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा कम्तीमा ५७ हजार ३३८ मानिस मारिएका छन्।






