इरानका सर्वोच्च नेता खामेनी १२ दिन लामो युद्धपछि पहिलो पटक सार्वजनिक
प्रकाशित मिति : असार २१, २०८२ शनिबार
इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनी इजरायलसँगको द्वन्द्व सुरु भएयता पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन् ।
सार्वजनिक गरिएको टेलिभिजन फुटेजमा खामेनीलाई तेहरानको इमाम खुमैनी मस्जिदमा श्रद्धालुहरूसँग अभिवादन गर्दै गरेको देखिन्छ। यो कार्यक्रम शिया मुस्लिम पर्व आशुराको अघिल्लो दिन आयोजना गरिएको हो।
१३ जुनबाट सुरु भएको इजरायल इरान द्वन्द्वका क्रममा इरानी वैज्ञानिक र शीर्ष सैन्य कमाण्डरहरूको मृत्यु भएको थियो ।
इजरायलले इरानका न्यूक्लियर र मिलिटरी साइटहरूमा आश्चर्यजनक हमला गरेपछि इरानले पनि इजरायलविरुद्ध हवाई आक्रमण गरेर जवाफ दिएको थियो।
यो युद्धका बेला खामेनीले तीनवटा पूर्व धारित भिडियो सन्देश मार्फत मात्र उपस्थिति जनाएका थिए । धेरैले अनुमान गरेका थिए कि उनी बंकरमा लुकेर बसेका छन्।
शनिबार खामेनीको प्रत्यक्ष उपस्थितिले इरानी सञ्चारमाध्यमहरूमा ठूलो स्थान पाएको छ । टेलिभिजन फुटेजमा समर्थकहरू खामेनीलाई देखेर खुसी व्यक्त गरिरहेका देखिन्छन्।
खामेनीलाई वरिष्ठ धर्मगुरु महमूद करिमी तर्फ फर्केर ‘गीत गाउनुस्, हे इरान’ भनेर भनेको देखिन्छ । यो देशभक्तिपूर्ण गीत हालैको इजरायलसँगको युद्धको दौरान विशेष रूपमा लोकप्रिय भएको थियो।
राज्य टेलिभिजनले जनतालाई खामेनीको सार्वजनिक उपस्थितिप्रति आफ्नो प्रतिक्रिया भिडियोमार्फत पठाउन आह्वान गरेको छ। सन् २०२५ को आशुरा पर्व ६ जुलाईमा परेको छ । यो मुहर्रम महिनाको दसौं दिन पर्दछ । जसमा शिया मुस्लिमहरू हजरत हुसैनको सहादत सम्झन्छन्।
सामान्यतया खामेनी यो अवसरमा सार्वजनिक रूपमा सहभागी हुने गरेका छन् । यसपटकको उपस्थिति पनि त्यसैअनुसार भएको देखिन्छ।
२२ जुनमा अमेरिकाले इरानी न्यूक्लियर साइटहरूमा हवाई आक्रमण गरेको थियो । अमेरिकी अभियानमा १२५ सैन्य विमान प्रयोग गरिएको थियो । मुख्य रूपमा फोर्डो, नतन्ज र इस्फाहान लाई अमेरिकाले लक्षित गरेको थियो ।
इरानको न्यायिक संयन्त्रले १२ दिने युद्धमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको बताएको छ । खामेनीको पुनः सार्वजनिक उपस्थितिले इरानी जनमानसमा केही भरोसा फर्किएको संकेत देखिए तापनि द्वन्द्वको प्रभाव अझै पनि गहिरो छ ।
अबको राजनीतिक र कूटनीतिक रणनीतिले क्षेत्रीय स्थायित्व कतातर्फ जान्छ भन्ने कुराले सबैको ध्यान तानेको जानकारहरुले बताउदै आएका छन ।






