क्यानाडाको निर्यात अमेरिकातर्फ घट्दै, अन्य देशसँगको व्यापार कस्तो हुँदैछ ?
प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार
अमेरिकातर्फ क्यानाडाको निर्यात घट्दै गएको छ । तर अन्य देशसँगको व्यापार भने नयाँ उचाइमा पुगेको अधिकारीहरुले बताएका छन ।
अमेरिकाले क्यानाडाबाट आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाको अमेरिका तर्फको निर्यात निरन्तर घटिरहेको हो ।
क्यानाडाको राष्ट्रिय तथ्यांक संस्था अनुसार अमेरिका तर्फको निर्यात पछिल्लो पटक ०.९ प्रतिशतले घटेको छ । जुन लगातार चौथो पटकको गिरावट हो ।
यसअघि क्यानाडाको निर्यातको झन्डै ७६ प्रतिशत हिस्सा अमेरिकातर्फ जान्थ्यो । तर हाल त्यो घटेर ६८.३ प्रतिशतमा झरेको छ ।
यो इतिहासमै सबैभन्दा कम अनुपातहरूमध्ये एक हो । यता, अमेरिका बाहेक अन्य देशहरूसँगको क्यानाडाको व्यापार भने तीव्र रूपमा बढेको छ ।
निर्यात ५।७ प्रतिशतले बढेको छ । कुल व्यापार ४७.६ अर्ब क्यानाडियन डलर (३५ अर्ब अमेरिकी डलर) पुगेको छ । जुन लगातार तेस्रो पटकको रेकर्ड हो ।
क्यानाडाको कुल निर्यात १.१ प्रतिशतले बढेर ६०.८ अर्ब क्यानाडियन डलर पुगेको छ । आयात पनि १।६ प्रतिशतले घटेर ६६.७ अर्ब क्यानाडियन डलरमा झरेको छ ।
उता अमेरिकाले व्यापार कर लागू गरेमा श्रीलङ्कामा पनि समस्या आउन सक्ने संभावना देखिएको छ ।
श्रीलङ्काको प्रतिस्पर्धात्मक क्षमतामा आएको कमी र बढ्दो अनिश्चितताले व्यावसायिक लगानीलाई निरुत्साहित गर्ने र कुल गार्हस्थ्य उत्पादनमा नोक्सानी हुने आइएमएफले जनाएको छ । आइएमएफले बेरोजगारी बढ्ने चेतावनी पनि दिएको छ ।
अमेरिकाले श्रीलङ्काविद्ध लगाएको ४४ प्रतिशत कर जुलाई ९ सम्मका लागि स्थगित छ । हाल आधारभूत १० प्रतिशत निर्यात करको सामना गरिरहेको छ ।
जुलाईपछि करको दायरा बढ्यो भने समस्या आउनसक्ने चेतावनी आएमएफले दिएको हो ।






