रातिको पार्टीपछि शिकागोमा नरसंहार, अज्ञात समूहको गोलीबारीमा ४ जनाले ज्यान गुमाए
प्रकाशित मिति : असार १९, २०८२ बिहीबार
अमेरिकाको शिकागो शहरमा बुधबार राति भएको गोलीकाण्डमा ४ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। घटनास्थल रिभर नर्थ क्षेत्रको वेस्ट शिकागो एभिन्युको ३०० ब्लक रहेको बताइएको छ।
शिकागो प्रहरीका अनुसार राति करिब ९ बजे एक एसयूभी गाडीबाट सडक किनारमा उभिएको भीडमाथि अन्धाधुन्ध गोली चलाइएको थियो। भीडमा धेरैजसो व्यक्ति एल्बम रिलिज पार्टीबाट फर्किरहेका थिए। हालसम्म कुनै पनि अभियुक्त पक्राउ नपरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा दुई पुरुष र दुई महिला रहेका छन्। १४ जना घाइतेमध्ये ११ जना महिला छन् र सबै घाइतेहरू २० देखि ३० वर्ष उमेर समूहका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
स्थानीय समाजसेवी तथा हिंसाका पीडितहरूलाई सहयोग गर्दै आएका पास्टर डोनोभन प्राइसले घटनाबारे बोल्दै भने, “जब म त्यहाँ पुगेँ, त्यो पूर्णरूपमा अराजक स्थिति थियो। मानिसहरू चिच्याइरहेका थिए, सडक रगताम्य थियो, केही मानिस लडिरहेका थिए, त्यहाँ ठूलो संख्यामा प्रहरी तैनाथ थिए। यो मेरा लागि अहिलेसम्मकै सबैभन्दा भयावह घटना थियो।”
उनी भन्छन्, “अस्पतालमा पनि त्यत्तिकै अफरातफरी थियो। आफ्ना आफन्त खोज्ने मानिसहरू हतास मुद्रामा थिए।”
शिकागो प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीहरूको बयान संकलन गरिरहेको छ। घटनामा प्रयोग भएको गाडीको खोजी भइरहेको र दोषीको पहिचान तथा पक्राउका लागि अनुसन्धान तीव्र पारिएको बताइएको छ।
प्रहरी प्रवक्ताले भने, “यो घटनाको गम्भीरताका कारण हामी विस्तृत अनुसन्धानमा जुटिरहेका छौं। कसैलाई पनि उम्किन दिइने छैन।”






