न्यूयोर्कका डेमोक्रेटिक उम्मेदवार ममदानीको नागरिकतामाथि राष्ट्रपति ट्रम्पले उठाए प्रश्न
प्रकाशित मिति : असार १८, २०८२ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सिटीका मेयर उम्मेदवार जोहरान ममदानीको नागरिकतामाथि प्रश्न उठाएका छन् ।
राष्ट्रपति ट्रम्पले दक्षिण फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा न्यूयोर्क सिटीका मेयर पदका डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानीको नागरिकता अवस्थाबारे शंका व्यक्त गरेका हुन ।
उनले ममदानीको अमेरिका बसाइलाई अवैध भएको संकेत गरे। “धेरै मानिसहरू भन्छन् उनी यहाँ अवैध रूपमा छन्,” ट्रम्पले ३३ वर्षीय डेमोक्रेटिक समाजवादी ममदानीबारे भने। “हामी सबै कुरा जाँच गर्दैछौं । अहिलेको अवस्थामा उनी कम्युनिस्टभन्दा केही कम निस्कनु पर्ने हो, तर अहिले उनी कम्युनिस्ट हुन्।”
जोहरान ममदानी कानुनी रूपमा अमेरिकामा छन् । उनी भारतीय मूलका युगाण्डामा जन्मिएका नागरिक हुन् । उनी सन् २०१८ मा अमेरिकी नागरिक बनेका हुन्।
ममदानीले ट्रम्पका आरोपको कडा प्रतिक्रिया दिएका छन् । उनले भने, “राष्ट्रपतिका यी अभिव्यक्तिहरू हाम्रो प्रजातन्त्रमाथिको आक्रमण मात्रै होइन, हरेक त्यस्ता न्यूयोर्कवासीलाई सन्देश दिन खोजिएको हो । जसले आफ्नो आवाज उठाउँछ — यदि तपाईं बोल्नुहुन्छ भने, उनीहरू तपाईंलाई लक्ष्य बनाउँछन्।”
ट्रम्पले ममदानीले आफ्नो चुनावी प्रतिज्ञा अनुरूप आप्रवासन र कस्टम्स प्रवर्तन आइस का आदेशलाई अवज्ञा गरेमा उनलाई पक्राउ गरिने पनि चेतावनी दिए ।
उनको प्रशासनले यसअघि पनि आप्रवासन कडाइ गर्ने अभियानमा डेमोक्रेट नेताहरूलाई हिरासतमा लिएको छ ।
नेवार्कका मेयर रस बाराका, न्युजर्सीकी प्रतिनिधि लमोनिका म्याकइभर र ममदानीका प्रतिस्पर्धी तथा न्यूयोर्क सिटीका कम्पट्रोलर ब्र्याड ल्याण्डर पक्राउ परेका थिए ।
ट्रम्प प्रशासनले न्यूयोर्कजस्ता संघीय आप्रवासन अधिकारीसँग सहयोग नगर्ने शहर विरुद्ध पनि कारबाही गर्ने चेतावनी दिएको छ । यसै सन्दर्भमा, प्रशासनले लस एन्जलस विरुद्ध पनि मुद्दा दायर गरेको थियो।






