रुसले सीमा क्षेत्रमा १ लाख सेना तैनाथ गरेको युक्रेनको दाबी
प्रकाशित मिति : असार १४, २०८२ शनिबार
रुसले पूर्वी युक्रेनी सहर पोक्रोभस्क नियन्त्रणमा लिनका लागि १ लाख १० हजार सेना तैनाथ गरेको युक्रेनले दाबी गरेको छ।
युक्रेनी सेनाका प्रमुख ओलेक्सान्द्र सिर्स्कीका अनुसार १ हजार २०० किलोमिटर लामो युद्धरेखामा पोक्रोभस्क क्षेत्रमा हाल सबैभन्दा भीषण संघर्ष भइरहेको छ।
रुसी सेनाले लगभग एक वर्षदेखि पोक्रोभस्क कब्जा गर्ने प्रयास गर्दै आएको छ। तर, सैनिक र हतियारको प्रचुरता हुँदा पनि अहिलेसम्म सहर नियन्त्रणमा लिन असफल भएको छ।
पोक्रोभस्क रुसका लागि रणनीतिक लक्ष्य हो। राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेत्स्क र लुहान्स्क पूर्ण रूपमा नियन्त्रणमा लिने आफ्नो लक्ष्य स्पष्ट पारेका छन्।
पोक्रोभस्क कुनै ठूलो सहर नभए पनि यो क्षेत्रका अन्य सैन्य केन्द्रहरूलाई जोड्ने मुख्य आपूर्ति सडक र रेलमार्गमा अवस्थित भएकाले अत्यन्तै महत्त्वपूर्ण छ। कोस्ट्यान्तिनिभ्का, क्रामाटोर्स्क र स्लोभियान्स्कसँग मिलेर पोक्रोभस्कले युक्रेनी रक्षा पंक्तिको मेरुदण्ड बनाएको छ।
युद्ध सुरु हुनुअघि पोक्रोभस्कमा करिब ६० हजार मानिस बस्थे। तर, २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण गरेदेखि अधिकांश बासिन्दा विस्थापित भइसकेका छन्।
पोक्रोभस्कमा युक्रेनको अन्तिम सञ्चालनमा रहेको कोकिङ कोइला खानी पनि बन्द भएपछि त्यहाँ काम गर्ने धेरै श्रमिकहरू पनि क्षेत्र छाड्न बाध्य भएका थिए।
अमेरिकास्थित युद्ध अध्ययन संस्थानका अनुसार युक्रेनी सेनाले पोक्रोभस्कमा रक्षात्मक रणनीतिअन्तर्गत ड्रोनहरू प्रभावकारी रूपमा प्रयोग गरेपछि रुसले प्रत्यक्ष आक्रमण गर्ने योजना परित्याग गरेको हो।
यसैबीच, युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेपछि रुसले पोक्रोभस्क क्षेत्रमा थप सेना पठाउन सकेको छैन। उक्त आक्रमणले करिब ६३ हजार रुसी सेना र करिब ७ हजार उत्तर कोरियाली लडाकुहरू पछि हट्न बाध्य पारेको जनाइएको छ।






