अमेरिकाले नेपालमा पाइने २ प्रजातिसहित ७ प्रजातिका शालकलाई लोपोन्मुख सूचीमा राख्ने


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

brown and white spotted bird

फोटो: स्टुडियो क्रेभेट्स

अमेरिकाले मंगलबार फेडरल रजिस्टरमा प्रकाशित एक प्रस्तावित नियममार्फत नेपालमा पाइने २ प्रजातिसहित ७ प्रजातिका शालकलाई सन् १९७३ को लोपोन्मुख प्रजाति ऐन अन्तर्गत लोपोन्मुख प्रजातिको रूपमा सूचीकृत गर्ने प्रस्ताव गरेको छ। मंगलबार फेडरल रष्ट्रिरमा प्रकाशित  प्रस्तावमा नेपालमा पाइने चिनियाँ शालक र नेपालको दक्षिणी भेगमा पाइने भारतीय शालकसहित सुन्टा शालक, फिलिपिनी शालक, सेतो पेट भएको शालक, कालो पेट भएको शालक र विशाल शालक समावेश छन्।

यो निर्णय सन् २०१५ मा संरक्षण संस्थाहरूबाट प्राप्त याचिकाको आधारमा वैज्ञानिक तथा व्यावसायिक तथ्यांकको व्यापक समीक्षा पछि आएको हो, जसले यी अत्यधिक तस्करीमा परेका स्तनधारी प्राणीहरूलाई संरक्षण गर्ने लक्ष्य राख्छ। साथै, अमेरिकाले लोपोन्मुख प्रजाति ऐनमा सूचीकृत टेम्मिन्कको भुइँ शालकको नाम र वैज्ञानिक वर्गीकरणलाई पनि अद्यावधिक गर्ने प्रस्ताव गरेको छ।

नेपालमा पाइने दुई प्रजातिका शालक विश्वमा सबैभन्दा बढी तस्करी हुने स्तनधारी प्राणीमा पर्छन्। शालकका खपटा र छालाहरू गैरकानुनी वन्यजन्तु कारोबारमा फेसन सामग्रीलगायत अन्य प्रयोजनका लागि बेचिन्छन्।

शालकको शरीरमा केराटिनबाट बनेका कवचहरू हुन्छन्, जसले खतरा महसुस गर्दा गोलो भएर आफूलाई सुरक्षित राख्छन्। यी एकान्तप्रिय, मुख्यतः रात्रीकालीन प्राणीहरू एसिया र सब-सहारा अफ्रिकामा पाइन्छन्। शालकले कमिला र धमिरा खान्छन् भने तिनीहरूको प्रजनन दर निकै कम हुन्छ। लामो गर्भावस्थापछि हरेक वर्ष एक सन्तान मात्रै जन्मिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी ७ शालक प्रजातिहरू मुख्यतया गैरकानुनी अन्तर्राष्ट्रिय व्यापार, वन विनाश र कृषि विस्तारका कारण आफ्नो बासस्थान गुमाउँदै गम्भीर संकटमा परेका छन्। शालकहरू फेसन उद्योगका साथै परम्परागत औषधिमा प्रयोग हुने भएकाले समेत तस्करीमा पर्ने गरेका छन्। शालक विश्वका सबैभन्दा बढी तस्करी गरिने स्तनधारी प्राणी हुन्, जसका कवचहरू परम्परागत औषधिमा प्रयोग हुन्छन् भने मासुको पनि कालो बजारमा ठूलो माग छ।

संयुक्त राष्ट्रसंघको ड्रग्स र क्राइम कार्यालयका अनुसार सन् २०१८ मा शालकसँग सम्बन्धित जफत गरिएका वस्तुहरूमा ९७ प्रतिशत कवच थिए। मध्य अफ्रिकामा मात्र वार्षिक ४ देखि २७ लाख शालक मारिन्छन्। भारतीय शालक दक्षिणी नेपालसहित भारत, श्रीलङ्का, उत्तर बंगलादेश र पूर्वी पाकिस्तानमा पाइन्छ। यी वन, घाँसेमैदान, म्याङ्ग्रोभ र झाडी क्षेत्रमा बसोबास गर्छन्।

नेपालमा यो प्रजाति दक्षिणी तराई क्षेत्रमा पाइन्छ, जहाँ सुख्खा क्षेत्रलाई प्राथमिकता दिँदै विश्राम र खानाका लागि गुफा खन्छ। यो वर्षभरि प्रजनन गर्छ। तर, करिब २५१ दिन लामो गर्भावस्थापछि हरेक वर्ष एक सन्तान जन्माउँछ र करिब तीन वर्षमा यौन परिपक्वता प्राप्त गर्छ।

भारतीय शालक कवच र मासुका लागि तीव्र चोरी शिकारका कारण सम्पूर्ण क्षेत्रमा दुर्लभ बन्दै गएको छ। विशेषगरी दक्षिणपूर्वी एसियामा यसको तस्करी व्यापक छ। सन् २००१ देखि २०२३ सम्म यसको क्षेत्रमा १२ प्रतिशत वन कभर नष्ट हुँदा यसको सङ्ख्या थप खण्डित भएको छ। त्यस्तै चिनियाँ शालक दक्षिणी चीन, नेपाल र दक्षिणपूर्वी एसियामा पाइन्छ। सन् १९९० को दशकमा मासु, छाला र औषधिका लागि अत्यधिक शिकार हुँदा चीनमा व्यापारिक रूपमा लोप भइसकेको छ। सन् २००० देखि २०१९ सम्म करिब ३,५०० वटा शालक तस्करी भएका अनुमान छन्। सन् २००१ देखि यसको १९ मिलियन हेक्टर बासस्थान नष्ट भइसकेको छ।

सबै शालकहरू अन्तर्राष्ट्रिय व्यापारमा लोपोन्मुख प्रजातिहरूको सन्धिमा सूचीकृत छन्, जसले व्यावसायिक कारोबारलाई असाधारण परिस्थितिबाहेक प्रतिबन्धित गर्छ। यद्यपि, प्रवर्तन अपर्याप्त छ। सन् २०१७ देखि २०२१ सम्म विश्वभर २६९ टन शालक उत्पादनहरू जफत गरिएका थिए, जसले गैरकानुनी कारोबार अझै जारी रहेको देखाउँछ।

यी ७ शालक प्रजातिहरूलाई अमेरिकाले लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेपछि अमेरिकी व्यक्तिहरूद्वारा तिनीहरूको आयात, निर्यात, शिकार र व्यावसायिक कारोबार निषेध हुनेछ। यद्यपि, पहिल्यै गैरव्यावसायिक रूपमा सङ्कलित नमूनाहरूका लागि सीमित छुट दिइनेछ। यसले शालक संरक्षणमा अमेरिकी सहभागिता बढाउनेछ, जसले नेपालजस्ता देशहरूलाई वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराउन सक्छ।

यो प्रस्तावले विश्वव्यापी चेतना र सहकार्यलाई प्रवर्द्धन गर्दै विदेशी सरकार तथा संस्थाहरूलाई चोरी शिकारी र बासस्थान संरक्षणमा थप सक्रिय हुन प्रोत्साहित गर्नेछ। यी प्रजातिहरू अमेरिकी अधिकार क्षेत्रबाहिर पाइने भएकाले कुनै विशेष बासस्थान निर्धारण गरिने छैन।

अमेरिकाले प्रस्तावित नियममा सन् २०२५ अगस्ट १६ सम्म सार्वजनिक टिप्पणी मागेको छ। यस्तै, सार्वजनिक सुनुवाइका लागि अनुरोध सन् २०२५ अगस्ट १ सम्म दिनुपर्नेछ। अमेरिकाले विशेष गरी प्रजातिहरूको जीवविज्ञान, संख्या प्रवृत्ति, जोखिम र संरक्षण उपायहरूबारे थप तथ्यांक समेत मागेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com