इजरायल-इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि: विश्व बजारमा असर
प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार
तस्बिर : एएफपी/रासस
इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। मध्यपूर्वमा बढेको तनावले ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताले यो वृद्धि देखिएको हो।
आक्रमणपछि बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य १० प्रतिशतभन्दा बढीले उकालो लागेको थियो, जुन जनवरीपछिकै उच्चतम स्तर थियो। यद्यपि, पछि केही गिरावट आए पनि शुक्रबारको कारोबार अन्त्यसम्म यो बिहीबारको तुलनामा ७ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ७४.२३ डलरमा कारोबार भइरहेको थियो।
हालको वृद्धिका बाबजुद, तेलको मूल्य अझै पनि गत वर्षको सोही समयको तुलनामा १० प्रतिशतभन्दा कम छ, साथै सन् २०२२ को सुरुमा रुस-युक्रेन युद्धपछि चुलिएको मूल्यभन्दा निकै तल छ। कच्चा तेलको मूल्य वृद्धिले सिधै कारमा इन्धन भर्ने लागतदेखि लिएर सुपरमार्केटमा खाद्यान्नको मूल्यमा असर पार्छ।
शेयर बजारमा गिरावट: जापानको निक्केई सूचकांक ०.९ प्रतिशतले घटेको छ भने अमेरिकी बजारमा पनि गिरावट आएको छ।
सुरक्षित लगानीको खोजी: यस्तो अन्योलपूर्ण परिस्थितिमा सुन र स्विस फ्र्याङ्क जस्ता ‘सुरक्षित लगानी’ को मूल्य बढेको छ। सुनको मूल्य १.२ प्रतिशतले बढेको छ, जुन पछिल्ला दुई महिनाको उच्चतम हो।
इजरायलले इरानका आणविक साइट र सैन्य कमान्डरहरूलाई लक्षित गर्दै आक्रमण गरेको पुष्टि गरेको छ भने जवाफस्वरूप इरानले करिब १०० ड्रोन इजरायलतर्फ प्रक्षेपण गरेको इजरायली रक्षा बलले जनाएको छ।
विश्लेषकहरूले ऊर्जा व्यापारीहरूले अब स्थिति अझ बिग्रन्छ कि भन्ने कुरामा नजर राखिरहेका बताएका छन्। यदि इरानको तेल उत्पादन र निर्यात संरचनामाथि हमला भयो भने, ब्रेन्ट क्रूडको मूल्य डलर ८० देखि १०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने उनीहरूको अनुमान छ।
तर, मूल्य वृद्धि भएमा अन्य तेल उत्पादक मुलुकहरूले उत्पादन बढाउने सम्भावना हुँदा मूल्य स्थायित्वमा आउन सक्ने पनि उनीहरूको भनाइ छ। बेलायती मोटरिङ संस्थाका प्रवक्ता रोड डेनिसका अनुसार तेल मूल्य वृद्धिले पेट्रोलमा के असर पार्छ भन्ने थाहा पाउन अझै समय लाग्नेछ।
अत्यधिक खतराको अवस्थामा इरानले होर्मुज जलडमरू मार्ग मार्फत तेल आपूर्तिमा अवरोध ल्याउन सक्छ, जसले विश्व बजारमा लाखौं ब्यारेल तेलको आपूर्ति प्रभावित पार्न सक्छ।
यो जलडमरू मार्ग विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल यातायात मार्गहरूमध्ये एक हो, जहाँ विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुन्छ। मध्यपूर्वबाट ऊर्जा निर्यात गर्ने प्रमुख देशहरू र उनीहरूका ग्राहकबीचको यातायातमा यो मार्ग अत्यन्त महत्त्वपूर्ण छ।






