मध्यपूर्वमा सैन्य वृद्धि र इरानमाथि इजरायली आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा
प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार
UN-UN CHIEF-PRESS CONFERENCE
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा कुनै पनि प्रकारको सैन्य वृद्धि प्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेका छन्।
उनका उपप्रवक्ता फरहान हकले एक विज्ञप्तिमार्फत इरानविरुद्ध इजरायलले गरेको हालको आक्रमणबारे महासचिवको प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रका महासचिव इरानको आणविक कार्यक्रमबारे इरान र अमेरिका बीच वार्ता जारी रहेको संवेदनशील घडीमा, इजरायली आक्रमण विशेष रूपमा चिन्ताजनक रहेको ठान्नुहुन्छ।”
महासचिवले सबै सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार आचरण गर्न आग्रह गर्दै दुबै पक्षलाई अधिकतम संयम अपनाउन र गहिरो द्वन्द्वबाट जोगिन आग्रह गरेका छन्।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमाथि ‘पूर्वनियोजित आक्रमण’ गरेको पुष्टि गरेका छन्। इजरायली रक्षा बलले पनि आफ्नो जेट विमानहरूले पहिलो चरणको आक्रमण पूरा गरेको र इरानका विभिन्न क्षेत्रमा रहेका दर्जनौँ सैन्य तथा सम्भावित आणविक लक्ष्यहरूमा हमला गरिएको जनाएको छ।
यसैबीच, इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले राजधानी तेहरानका साथै नातान्ज, खोन्डाब र खोर्रामाबाद काउन्टीहरूमा विस्फोट भएको पुष्टि गरेको छ। सरकारी टेलिभिजनका अनुसार, तेहरानको एक आवासीय भवनमा भएका विस्फोटमा महिला तथा बालबालिकासहित थुप्रै व्यक्तिहरू हताहत भएका छन्।








