अमेरिकाले बेलायत र अष्ट्रेलियासँगको ऐतिहासिक आणविक पनडुब्बी सम्झौता पुनरावलोकन गर्ने
प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार
फोटो : रासस
अमेरिकाले बेलायत र अष्ट्रेलियासँगको ऐतिहासिक आणविक पनडुब्बी सम्झौता पुनरावलोकन गर्नुपर्ने बताएको छ । यो सुरक्षा साझेदारी पहिले अमेरिका नीतिसँग मेल खाने सुनिश्चित गर्नुपर्ने जनाएको छ ।
सन् २०२१ मा हस्ताक्षर गरिएको यो त्रिपक्षीय सुरक्षा सम्झौता चीनको बढ्दो प्रभावको जवाफको रूपमा हेरिएको छ ।
सम्झौता अन्तर्गत अष्ट्रेलियाले पहिलोपटक अमेरिका बाट आणविक ऊर्जा चालित पनडुब्बी पाउनेछ । त्यसपछि तिनै प्रविधिमा आधारित नयाँ पनडुब्बी निर्माणमा तीनै मुलुक मिलेर अगाडि बढ्नेछन्।
बेलायत र अष्ट्रेलियाले भने यो पुनरावलोकनलाई स्वाभाविक भनेका छन । नयाँ प्रशासनले पूर्व सरकारका नीतिहरूको मूल्यांकन गर्नु सामान्य प्रक्रिया भएको उनीहरुले बताएका छन्।
अष्ट्रेलिया माथि अमेरिकाले सैन्य खर्च बढाउन दबाब दिएको छ । हाल कुल गार्हस्थ उत्पादनको २ प्रतिशत बराबर रहेको अष्ट्रेलियाको रक्षा खर्चलाई ३.५ प्रतिशतमा पुर्याउन ट्रम्प प्रशासनले जोड दिइरहेको छ । यद्यपि अष्ट्रेलियाले अहिलेसम्म यो माग अस्वीकार गरेको छ।
यो सम्झौताको कुल लागत २ सय ३९ मिलियन अमेरिकी डलर बराबरको छ । सम्झौता हस्ताक्षर हुँदा तीनवटै देशमा नेतृत्व फेरिएको थिएन। अमेरिकी रक्षा अधिकारीले भने, “रक्षा मन्त्रालय यस पहललाई वर्तमान राष्ट्रपति ट्रम्पको ‘अमेरिका फस्ट’ नीति अनुरूप बनाउने हेतुले समीक्षा गरिरहेको छ।”
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आफ्ना सैनिकहरूको तयारी उच्चतम स्तरमा राख्ने, साझेदार राष्ट्रहरूलाई सामूहिक सुरक्षामा बराबरी जिम्मेवारी लिन लगाउने, र अमेरिका भित्रको रक्षा उद्योगलाई आवश्यकताअनुसार उत्पादन गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।
समीक्षाको नेतृत्व एलब्रिज कोल्बीले गर्नेछन् । उनले सम्झौताप्रति आलोचना गर्दै अमेरिका आफैंलाई अत्यन्त आवश्यक रहेको अत्यन्त मूल्यवान रणनीतिक स्रोत किन अरूलाई दिइरहेको भन्ने प्रश्न उठाएका थिए।
अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्लेसले स्थानीय मिडियालाई बताएअनुसार, “म अत्यन्त विश्वस्त छु कि यो सम्झौता कायम रहनेछ।”
उनले थपे, “नक्सा हेर्दा मात्रै पनि बुझ्न सकिन्छ कि अष्ट्रेलियालाई लामो दूरी पार गर्न सक्ने पनडुब्बी क्षमताको अत्यावश्यकता छ।” अष्ट्रेलियामा स्वतन्त्र रक्षा नीति विकास गर्नुपर्ने माग पनि उठिरहेको छ ।
अष्ट्रेलियाली सरकारी प्रवक्ताले भने, “नयाँ प्रशासनले सुरक्षा सम्झौता समीक्षा गर्नु स्वाभाविक हो,” भन्दै बेलायतले पनि विगतमा यस्तो समीक्षा गरिसकेको बताए।
उनले थपे, “अमेरिकामा राजनीतिक दलहरूबीच यस सम्झौताको लागि स्पष्ट र निरन्तर समर्थन देखिन्छ,” । उनले अष्ट्रेलिया ट्रम्प प्रशासनसँग यस ऐतिहासिक परियोजनामा घनिष्ठ सहकार्य जारी राख्न इच्छुक रहेको बताएका छन ।






