न्यूयोर्कका पूर्व फिल्म निर्माता हार्भे यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर
प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार
न्यूयोर्कका पूर्व फिल्म निर्माता हार्भे वाइनस्टीन पुनः यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका छन्। सात महिला र पाँच पुरुष मिलाएर बनेको १२ सदस्यीय ज्यूरी प्यानलले छ हप्ता लामो मुद्दा सुनेपछि पाँच दिनसम्म छलफल गरी वाइनस्टीनलाई तीनमध्ये एक आरोपमा दोषी ठहर गरेको हो ।
अर्को एक यौन दुर्व्यवहारको आरोपमा उनी निर्दोष ठहरिए । अभिनेत्री जेसिका म्यानसम्बन्धी बलात्कारको मुद्दामा भने फैसला आउन बाँकी छ। यो फैसला वाइनस्टीनले लस एन्जलसमा यौन अपराधको आरोपमा पाएको १६ वर्षको सजायसँग थपिएको हो । जुन उनले अझै भोग्न बाँकी छ।
न्यायालयमा वाइनस्टीनविरुद्ध टेलिभिजन प्रोडक्सन सहायक मिरियम हाले, अभिनेत्री जेसिका म्यान र मोडल काजा सोकोलाले बयान दिएका थिए । ती महिलाले वाइनस्टीनले आफूलाई यौन शोषण गर्न फिल्म उद्योगमा रहेको आफ्नो प्रभावको प्रयोग गरेको आरोप लगाएका थिए।
फैसला अनुसार वाइनस्टीन मिरियम हालेमाथिको यौन दुर्व्यवहारमा दोषी ठहरिए । तर काजा सोकोलामाथिको दुर्व्यवहारमा भने निर्दोष ठहरिएका छन । जेसिका म्यानसँग जोडिएको बलात्कार आरोपमा भने निर्णय आउन बाँकी छ । बिहीबार पुनः छलफल गरिनेछ।
फैसला आएपछि हालेले भनिन्, “यो फैसला यौन हिंसासम्बन्धी चेतनामा परिवर्तन भइरहेको देखिएको छ ।” गत वर्ष एक अपिल अदालतले वाइनस्टीनको २०२० को सजाय उल्ट्याएको थियो । उनले निष्पक्ष सुनुवाइ नपाएको ठहर गर्दै उनको सजाय उल्टाइएको थियो । त्यसपछि उनलाई नयाँ अभियोगमा सेप्टेम्बरमा अभियोग लगाइएको थियो ।
वाइनस्टीनका प्रवक्ताले भने, “मुद्दा निष्पक्ष थियो तर निर्णयमा पुगेपछि केही ज्यूरी सदस्यले पहिले नै धारणा बनाएको र वाइनस्टीनको अघिल्लो जीवनका कुराहरूलाई दोष प्रमाण मानिरहेको गुनासो गरेका थिए।”
पछिल्लो हप्तामा ज्यूरीको छलफल तनावपूर्ण भएको थियो। एकजना ज्यूरी सदस्यले अर्कालाई लडाइँको धम्की दिएको आरोप समेत आएको थियो । अन्ततः, न्यायाधीशले ज्यूरीलाई केवल मुद्दासँग सम्बन्धित प्रमाणहरूमा मात्रै विचार गर्न निर्देशन दिए।
क्यान्सर र मधुमेह पीडित ७३ वर्षीय वाइनस्टीन मुद्धा अवधिभर जेलको सट्टा अस्पतालमा रहेका थिए । उनी ह्वीलचेयरमा अदालतमा उपस्थित भएका थिए।
तीन महिलाले अदालतमा लामो समयसम्म बयान दिँदै वाइनस्टीनले होटल वा निजी घरमा बोलाई आफूहरूलाई जबरजस्ती यौन शोषण गरेको बयान दिएका थिए ।
वाइनस्टीनका वकिलहरूले ती सम्बन्धहरू पारस्परिक सहमतिमा भएको र केही महिलासँग “मित्रता तथा फाइदाको सम्बन्ध” भएको जिकिर गरे।
वाइनस्टीनमाथि सयभन्दा बढी महिलाले यौन दुर्व्यवहार र बलात्कारको आरोप लगाएका छन् । धेरैजसो आरोपमा आपराधिक मुद्दा चलेको छैन । तर क्यालिफोर्नियामा भएको सजायले उनलाई बाँकी जीवन जेलमै बिताउने सम्भावना देखिन्छ।
उनका विरुद्ध महिलाहरूको साहसिक कदमले विश्वभर फैलिएको मी टू आन्दोलनलाई थप बल दिएको छ।






