जेलबाट भागेका अमेरिकी पूर्व प्रहरी प्रमुख हार्डिन पक्राउ
प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार
हत्या र बलात्कारको आरोपमा जेल सजाय भोगिरहेका अमेरिकी पूर्व प्रहरी प्रमुख ग्रान्ट हार्डिनलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ। उत्तरी अर्कान्ससको पहाडी क्षेत्रमा करिब दुई हप्ता लामो खोजीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हार्डिन जेलबाट भागेको स्थानबाट २.४ किलोमिटर उत्तर पश्चिममा पक्राउ परेका हुन्। हार्डिन सन् २०१७ देखि अर्कान्सस-मिसौरी सिमानामा पर्ने गेटवे सहरका पूर्व प्रहरी प्रमुख थिए। उनले हत्या र बलात्कारको आरोपमा लामो जेल सजाय काटिरहेका थिए।
प्रहरीलाई देखेपछि हार्डिन भाग्न खोजेका थिए, तर थकित अवस्थाका कारण उनलाई तुरुन्तै पक्राउ गर्न सकिएको अर्कान्सस जेल प्रणालीका प्रवक्ता रान्ड च्याम्पियनले बताए। इजार्ड काउन्टी शेरिफ कार्यालयले फेसबुकमार्फत फिंगरप्रिन्ट परीक्षणमार्फत हार्डिनको पहिचान पुष्टि गरेको जानकारी गराएको छ।
हार्डिन जेलको भान्सा विभागमा काम गर्थे। उनले एक सुरक्षागार्डजस्तै लुगा लगाएर हिँड्ने तरिका पनि नक्कल गरेर जेलको सुरक्षागेटबाट सजिलै बाहिरिन सफल भएका थिए। टावरमा रहेका एक गार्डले पहिचान परीक्षण नगरीकन गेट खोलिदिएपछि उनी हिँडेरै निस्किएका थिए। यो सुरक्षा प्रणालीमा गम्भीर कमजोरी भएको भन्दै यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
मे २५ मा भागेपछि सुरक्षाबलले कुकुर, घोडामा चढेका प्रहरी, ड्रोन र हेलिकप्टर प्रयोग गरेर खोजी कार्य थालेका थिए। रक्तकुकुरले हार्डिनको गन्ध पत्ता लगाए पनि भारी वर्षाका कारण उनको ट्रेल हराएको थियो।
खोजी अभियानमा अमेरिकी सीमा सुरक्षा बलको विशेष टोली ‘बोर्डर पेट्रोल ट्याक्टिकल टिम’ समेत सहभागी भएको थियो। उक्त टोलीले कठिन भौगोलिक स्थानहरूमा काम गर्ने अनुभव भएकाले खोजीमा महत्वपूर्ण सहयोग पुर्याएको थियो।
अमेरिकी सीमा सुरक्षा बलले फेसबुकमा हार्डिनको तस्बिर सार्वजनिक गरेको थियो, जसमा उनी मैलो शरीरसहित, हात पछाडि बाँधिएको अवस्थामा देखिन्छन्। उनले प्रतिरोध नगरेको अर्कान्सस राज्य प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेको छ।
हार्डिनले सन् २०१७ मा ५९ वर्षीय जेम्स एपलटनलाई गोली हानेर हत्या गरेको स्वीकार गरेका थिए। एपलटन गेटवेको पानी विभागमा काम गर्थे र उनको शव गाडीभित्र फेला परेको थियो। उक्त हत्याका लागि हार्डिनलाई ३० वर्ष जेल सजाय सुनाइएको थियो।
त्यसपछि, १९९७ मा रजर्स सहरको एक प्राथमिक विद्यालयमा शिक्षिका बलात्कार गरेको घटनामा उनको डिएनए मिलेसँगै उनलाई दोषी ठहर गर्दै ५० वर्षको अर्को सजाय सुनाइएको थियो।






