मे महिनामा अमेरिकाबाट ५८ जना नेपाली डिपोर्ट: अघिल्लो महिनाको तुलनामा दोब्बरभन्दा बढी


प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार

अमेरिकाले सन् २०२५ को मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ, जुन अघिल्लो महिना अप्रिलको तुलनामा दोब्बरभन्दा बढी हो। अप्रिलमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या २६ जना रहेकोमा मे महिनामा झन्डै १२३ प्रतिशतले वृद्धि भएको छ।

एयरपोर्ट अध्यागमनका अनुसार मे महिनामा डिपोर्ट गरिएकाहरू सबै पुरुष रहेका छन्। ट्रम्प प्रशासन सुरु भइसकेपछि सन् २०२५ को जनवरी २० देखि हालसम्म अमेरिकाले कुल १४० जना नेपालीलाई नेपालमा डिपोर्ट गरेको छ। थप २ जना पानामा देशनिकाला भएका थिए। यस प्रक्रियामा दुई पटक चार्टर उडानमार्फत नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छोडिएको थियो।

अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकहरूको संख्यामा ट्रम्प प्रशासन आइसकेपछि वृद्धि भएको छ। अमेरिकाले मार्च महिनामा ३० जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो, जसमा ६ जना महिला र २४ जना पुरुष रहेका थिए। जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरीमा २० जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरी ८ मा एकैदिन ६ जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका थिए।

अमेरिकाबाट फिर्ता पठाइएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि आप्रवासन ब्यूरोमा सामान्य सोधपुछपछि छोड्ने गरिएको छ। यी व्यक्तिहरूले मानव तस्करहरूको सहयोगमा अमेरिका प्रवेश गरेको हुन सक्ने आशङ्कामा अनुसन्धान हुने गरेको छ। डिपोर्ट गरिएकामध्ये अधिकांशलाई कमर्सियल उडानमार्फत फिर्ता पठाइएको छ।

एयरपोर्ट अध्यागमनका अनुसार मे महिनामा फिर्ता पठाइएका ५८ जना र जनवरीदेखि हालसम्म फिर्ता गरिएका १४० जना सबै वयस्क छन्। डिपोर्ट गरिएकाहरूलाई हत्कडी लगाइएको थियो वा थिएन भन्ने विषयमा भने स्पष्ट जानकारी उपलब्ध छैन, तर अध्यागमन विभागले स्वीकार गर्दाको अवस्था सामान्य नै रहेको जानकारी गराएको छ।

अमेरिकाले कागजातविहीन आप्रवासीहरूलाई फिर्ता पठाउने नीतिलाई कडाइका साथ लागू गरिरहेको छ। डिपोर्ट गरिएका नेपालीहरू अधिकांश मेक्सिको हुँदै अमेरिका प्रवेश गरेकाहरू रहेका छन्, जसले अमेरिका प्रवेशका लागि १ लाख डलरसम्म खर्च गरेका छन्। त्यसमा मानव तस्करीका गिरोहहरूको संलग्नता रहेको छ। यो विषयमा गम्भीर अनुसन्धान भने हुन सकेको छैन।

सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। सन् २०२४ को १२ महिनाको तुलनामा सन् २०२५ को ५ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या झन्डै तीन गुणा बढी रहेको छ। सन् २०२३ मा २४, सन् २०२२ मा २२ र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ। सन् २०२१ को जनवरी १७ देखि सन् २०२४ को डिसेम्बर ३० सम्म एक सय ३३ नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com