फ्रान्समा बालबालिका जाने सार्वजनिक स्थानमा धूमपान निषेध
प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार
फ्रान्सले आगामी जुलाई १ देखि सार्वजनिक स्थानहरूमा धूमपान गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो प्रतिबन्ध बच्चाहरू जाने सम्भावना भएका सबै बाहिरी स्थानहरूमा लागू हुनेछ।
फ्रान्सकी स्वास्थ्य तथा परिवार मन्त्री क्याथरिन भत्रिनले बालबालिकालाई धुवाँबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै भनिन्, “बच्चाहरूले ताजा हावा फेर्ने स्वतन्त्रता पाउने ठाउँमा धूमपानको स्वतन्त्रता अन्त्य हुनेछ।”
प्रतिबन्ध लागू हुने स्थानहरूमा समुद्रकिनार, पार्कहरू, सार्वजनिक बगैँचा, विद्यालय बाहिरका क्षेत्रहरू, बस स्टपहरू र खेलकुद स्थलहरू समावेश हुनेछन्। यद्यपि, क्याफे तथा बारका बाहिरी भागहरू भने यस प्रतिबन्धको दायरामा पर्ने छैनन्।
नियम उल्लंघन गरेमा १३५ युरो जरिवाना लाग्नेछ। मन्त्री भत्रिनले सामान्य प्रहरीहरूद्वारा यस प्रतिबन्धको निगरानी गरिने बताए पनि ‘आत्मनियन्त्रण’ मा विश्वास राख्ने कुरामा जोड दिइन्।
इलेक्ट्रोनिक सिगरेट भने हालका लागि यस प्रतिबन्धबाट मुक्त रहने उनको भनाइ छ। तर, सरकारले यसमा प्रयोग हुने निकोटिनको मात्रामा सीमा तोक्ने तयारी गरिरहेको उनले बताइन्।
फ्रान्सको लागुऔषध तथा लत अनुगमन केन्द्रका अनुसार हाल दैनिक धूमपान गर्ने जनसंख्या २३.१ प्रतिशत रहेको छ, जुन सन् २०१४ यता पाँच प्रतिशतभन्दा बढीले घटेको छ।
धूमपानका कारण फ्रान्समा हरेक वर्ष ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जुन फ्रेन्च नेसनल कमिटी अगेंस्ट स्मोकिङको तथ्याङ्क अनुसार कुल मृत्युदरको करिब १३ प्रतिशत हो।
रेस्टुरेन्ट, नाइट क्लबजस्ता स्थानहरूमा सन् २००८ देखि नै धूमपान प्रतिबन्धित छ। यद्यपि, सन् २०२४ देखि देशव्यापी रूपमा सार्वजनिक स्थानहरूमा धूमपान निषेध गर्ने योजना भए पनि आवश्यक कानुनी आदेश जारी नभएकाले कार्यान्वयन हुन सकेको थिएन।
फ्रान्सका १५०० भन्दा बढी नगरपालिका र सयौँ समुद्रकिनार क्षेत्रहरूमा भने पहिले नै स्वेच्छिक रूपमा धूमपान निषेध गरिसकिएको छ।
हालै क्यान्सरविरोधी संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ८० प्रतिशत फ्रेन्च नागरिकहरू समुद्रकिनार, पार्क र क्याफेका बाहिरी भागहरूमा धूमपान प्रतिबन्ध लगाउने कुराको समर्थनमा छन्।






