ट्रम्प प्रशासनको स्वास्थ्य प्रतिवेदनमा विज्ञहरूले प्रश्न किन उठाए ?
प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार
US President Donald Trump speaks with reporters outside the White House in Washington, DC, on April 23, 2025. (Photo by SAUL LOEB / AFP)
ट्रम्प प्रशासनको बालबालिकाको स्वास्थ्यसम्बन्धी प्रतिवेदनमा नक्कली अध्ययनहरू समावेश भएको भन्दै आलोचना भएको छ ।
ट्रम्प प्रशासनले बालबालिकाको स्वास्थ्यसम्बन्धी विविध समस्याहरूमाथि कारबाहीका लागि ‘स्पष्ट आधार’ का रूपमा प्रचार गरेको एक प्रतिवेदनमा नक्कली अध्ययनहरू समावेश भएको पाइएपछि विज्ञहरूले प्रश्न उठाएका छन्।
गत हप्ता सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा अस्तित्वमा नै नरहेका अध्ययनहरू उल्लेख गरिएका दाबी गरिएको छ। प्रत्यक्ष उपभोक्ता औषधि विज्ञापन, मानसिक रोग र दम भएका बालबालिकालाई दिइने औषधिहरूबारे बनावटी अध्ययनहरू प्रतिवेदनमा उल्लेख गरिएका बताइएको छ।
कोलम्बिया विश्वविद्यालयकी महामारीविद् क्याथरिन कीजले प्रतिवेदनमा उल्लेख गरिएजस्तो शीर्षकको कुनै पनि लेख आफूले नलेखेको बताउनुभयो। उहाँले प्रतिवेदनमा उल्लेख गरिएको जस्तो कुनै अध्ययन नै नभेटिएको पनि बताइन।
न्यूयोर्क विश्वविद्यालयमा मेडिकल पत्रकारिता पढाउने डा. इभान ओरान्स्कीले यी त्रुटिहरू जेनेरेटिभ एआईको प्रयोगबाट भएको जस्ता देखिने बताएका छन्।
उनले यस्ता समस्याहरू कानुनी कागजातहरूमा समेत भेटिएको बताएका छन्। यद्यपि, सरकारको प्रतिवेदन वा सन्दर्भहरू बनाउन एआई प्रयोग भएको हो कि होइन भन्ने ठोस प्रमाण प्राप्त भएको छैन।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सानातिना उद्धरण र ढाँचासम्बन्धी त्रुटिहरू भन्दै विरोधको कुनै अर्थ नरहेको बताए । प्रतिवेदनको प्रारम्भिक संस्करणमा उद्धरणहरू नै थिएनन्।
अमेरिकाभरि प्रशस्त मात्रामा प्रयोग हुने कृत्रिम रसायन र अत्यधिक प्रशोधित खाद्यपदार्थहरूप्रति आलोचनामा विज्ञहरूले सहमति जनाएका थिए। तर, नियमित बाल खोपहरू हानिकारक हुन सक्छन् भन्ने सुझाव वैज्ञानिक दृष्टिकोणले त्रुटिपूर्ण भएको उनीहरूले बताएका छन्।
नक्कली सन्दर्भहरू सार्वजनिक भएपछि प्रतिवेदनको विश्वसनीयता थप कमजोर भएको कोलम्बियाकी डा. कीजले भनिन् । यद्यपि, उनले प्रतिवेदनमा बताइएजस्तै किशोरहरूमा डिप्रेसन र चिन्ताको दर बढ्दो छ भन्ने कुरा उनीहरूको अनुसन्धानबाट प्रमाणित भएको भनिन्।
कसैकसैले सही अध्ययनलाई पनि प्रतिवेदनमा गलत रूपमा व्याख्या गरिएको देखिएको छ।
यी सबै त्रुटिहरूले प्रतिवेदनको तथ्यमा भन्दा पनि तयार गर्ने प्रक्रियामै प्रश्न उठाएका छन्।






