इटालियन पर्यटकलाई न्यूयोर्कमा अपहरण गर्ने अमेरिकी पक्राउ
प्रकाशित मिति : जेष्ठ ११, २०८२ आईतबार
इटालियन पर्यटकलाई अपहरण गरेको आरोपमा एकजना अमेरिकी नागरिकलाई न्यूयोर्कबाट पक्राउ गरिएको छ ।
उनलाई म्यानह्याटनको एक घरमा इटालियन पर्यटकलाई अपहरण गरी यातना दिएको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका ३७ वर्षीय क्रिप्टोकरेन्सी लगानीकर्तालाई न्यूयोर्कको अदालतमा उपस्थित गराइएको छ ।
जोन वोल्ट्ज नामका ती व्यक्ति न्यूयोर्कको आपराधिक अदालतमा उपस्थित भएका थिए। उनीमाथि फिरौती असुल्ने उद्देश्यले अपहरण, कुटपिट, गैरकानुनी कैद लगायतका अभियोग लगाइएको छ।
यस घटनासँग सम्बन्धित अर्का व्यक्ति २४ वर्षीया बियाट्रिस फोल्चीलाई पनि पक्राउ गरिएको हो।
न्यूयोर्क प्रहरीले जनाए अनुसार, ती इटालियन पीडित व्यक्ति एक लक्जरी टाउनहोमबाट भाग्न सफल भएपछि दुवै आरोपीलाई नियन्त्रणमा लिइएको हो।
ती व्यक्तिलाई हप्तौँसम्म बाँधेर यातना दिइएको बताइएको छ। पीडितलाई अस्पताल लगिएको छ । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।
प्रहरीले उक्त घरमा पीडितको यातना गरिरहेको देखिने पोलारोइड तस्वीरहरू र केही हतियारहरू फेला पारेको बताइएको छ।
क्रिमिनल उजुरीअनुसार पीडितले प्रहरीलाई बताए अनुसार उनी ६ मेमा इटालीबाट न्यूयोर्क आएका थिए । वोल्ट्जको घरमा पुगेपछि पासपोर्ट खोसिएको र उनलाई जबरजस्ती थुनिएको थियो।
उनले आफ्नो बिटकइन पासवर्ड दिन अस्वीकार गरेपछि उनीमाथि कुटपिट गरिएको थियो । उनलाई झ्यालबाट झुण्ड्याइएको पनि उजुरीमा उल्लेख छ।
जोन वोल्ट्ज केन्टकीका निवासी हुन् । उनले सोहो क्षेत्रको उक्त घर प्रति महिना ३० हजार देखि ४० हजार अमेरिकी डलर भाडामा लिइरहेका थिए।






