युक्रेनमाथि रुसको भीषण हमला: अमेरिकालाई हस्तक्षेपका लागि जेलेन्स्कीकोआह्वान
प्रकाशित मिति : जेष्ठ ११, २०८२ आईतबार
रुसले युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको छ। यस आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ, जसमा तीन बालबालिकासमेत छन्। दर्जनौँ व्यक्ति घाइते भएका छन्।
यो हमला युक्रेनको राजधानी किभमा भएको भीषण आक्रमणको भोलिपल्ट भएको हो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग हस्तक्षेपको आह्वान गर्दै “रूसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोकिने छैन” भन्नुभएको छ। उहाँले थप्नुभयो, “अमेरिकाको मौनताले पुटिनलाई झन् हौसला दिन्छ।”
राष्ट्रपति जेलेन्स्कीका अनुसार देशभरिका ३० भन्दा बढी सहर र गाउँहरूमा उद्धार कार्य भइरहेको छ। युक्रेनका आन्तरिक मामिलामन्त्री इहोर क्लिमेन्कोले १३ क्षेत्रहरूमा आक्रमण भएको जानकारी दिनुभएको छ। आक्रमणमा ७० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने ८० वटा आवासीय भवनहरू क्षतिग्रस्त भएका छन्। यसैगरी, २७ वटा ठाउँमा आगलागी भएको छ।
बालबालिका, वृद्ध महिला मारिए
झिटोमिर क्षेत्रमा आठ, १२ र १७ वर्षका तीन बालबालिकाको ज्यान गएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ। उनीहरू एउटै परिवारका थिए भने उनीहरूका आमाबुबा अस्पतालमा उपचाररत छन्।
खार्किभ क्षेत्रको कुपियान्स्कमा ८५ र ५६ वर्षका दुई महिलाको ज्यान गएको छ। किभ क्षेत्रमा चार जना मारिएका छन्। किभ सहरमै ११ जना घाइते भएका छन्। भवनहरूमा आगलागी भएको छ र केही छात्रावाससमेत क्षतिग्रस्त भएका छन्। सयौँ नागरिकहरू मेट्रो स्टेसनहरूमा शरण लिन पुगेका थिए।
रुसी रक्षा मन्त्रालयले उनीहरूले युक्रेनी सैन्य एयरफिल्ड, गोला बारुद डिपो र इलेक्ट्रोनिक युद्ध केन्द्रहरूमा हमला गरेर १४२ ठाउँमा क्षति पुर्याएको बताएका छन्। युक्रेनी हवाई सेनाले ४५ वटा क्रुज मिसाइल र २६६ वटा यूएभी (ड्रोन) खसालेको दाबी गरेको छ।
यसैबीच, रुसको रक्षा मन्त्रालयले रुस र क्राइमियामा मध्यरातदेखि बिहान ७ बजेसम्म ११० युक्रेनी ड्रोनहरू खसालिएको बताएको छ। मस्कोका मेयर सेर्गेइ सोब्यानिनका अनुसार राजधानीतर्फ आइरहेका १२ ड्रोनहरू नष्ट गरिएको थियो। टुला क्षेत्रमा ड्रोनको भग्नावशेष एक आवासीय भवनको आँगनमा खसेको थियो, तर कुनै मानवीय क्षति भने भएन।
कैदी विनिमय र शान्ति वार्ताको अनिश्चितता
आइतबार तीन दिने कैदी विनिमयको अन्तिम दिन थियो। पछिल्ला तीन दिनमा युक्रेन र रुसले आ-आफ्ना एक हजार जना कैदीहरू साटासाट गरेका छन्।
शुक्रबार ३९०, शनिबार ३०७ र आइतबार ३०३ जना सैनिक तथा सर्वसाधारणहरू फर्काइएका थिए। यो साटासाट सन् २०२२ मा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हो।
यो विनिमय टर्कीमा भएको तीन वर्षपछि पहिलोपटक प्रत्यक्ष वार्ताको परिणाम थियो। तर, शान्ति वार्ता अझै अनिश्चित देखिन्छ।






