ट्रम्प प्रशासनद्वारा दुई आप्रवासीलाई देश निकाला, दक्षिणी सुडान पठाइयो
प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार
संघीय आदेशको उल्लंघन गर्दै ट्रम्प प्रशासनले दुई आप्रवासीलाई दक्षिण सुडानमा निष्कासन गरेको छ । ट्रम्प प्रशासनले संघीय अदालतको प्रत्यक्ष आदेशको अवज्ञा गर्दै दुई आप्रवासीहरूलाई द्वन्द्वग्रस्त देश दक्षिण सुडानमा निष्कासन गरेको वकिलहरूले बताएका छन्।
यी दुई व्यक्ति म्यानमार र भियतनामका मूल निवासी हुन् । उनीहरु अमेरिकाको आप्रवासन हिरासतमा थिए। उनीहरूका कानूनी प्रतिनिधिहरूका अनुसार सोमबार बेलुकी मात्र उनीहरूले निष्कासनको सूचना पाएका थिए।
त्यसको भोलिपल्ट, मंगलबार बिहान ती व्यक्तिहरू अरू करिब १० जना निष्कासितसँगै विमानमा चढाएर पठाइएको वकिलहरूले जानकारी दिएका छन्।
बोस्टनस्थित संघीय न्यायाधीश ब्रायन मर्फी समक्ष वकिलहरूले आपतकालीन मुद्दा दायर गर्दै यो तथ्य बाहिर ल्याएका हुन्। मर्फीले यसअघि ट्रम्प प्रशासनलाई तेस्रो देशमा विदेशी नागरिकलाई निष्कासन गर्न रोक लगाउँदै आदेश जारी गरेका थिए।
उक्त आदेशले व्यक्तिलाई पूर्व सूचना दिने र यातनाको सम्भावनाबारे आपत्ति जनाउने पर्याप्त अवसर उपलब्ध गराउनुपर्ने स्पष्ट उल्लेख गरेको थियो।
न्यायाधीश मर्फीले यसअघि लिबियातर्फ गरिन लागेको निष्कासनमा हस्तक्षेप गरेका थिए । उनले लिबियामा निष्कासन गर्नु “स्पष्ट रूपमा” अदालतको आदेशको उल्लंघन हो भनेका थिए । किनभने लिबिया समेत मानवीय संकटग्रस्त राष्ट्र हो।
वकिलहरूका अनुसार निष्कासन गरिएका म्यानमारका नागरिकलाई अदालत कागजातमा एनएम भनेर चिनाइएको छ । उनीहरुलाई पहिले लिबियातर्फ पठाउने योजना बनाइएको थियो।
तर त्यसबेला राष्ट्रिय सञ्चार माध्यम र कानूनी हस्तक्षेपपछि योजना रद्द गरिएको थियो। तर अहिले उनलाई दक्षिण सुडान पठाउने सूचना दिइएको थियो । अमेरिकी गृह सुरक्षा विभागले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
दक्षिण सुडान पूर्वी अफ्रिकामा अवस्थित देश हो । जसले २०११ मा सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो। यो विश्वको सबैभन्दा नयाँ सार्वभौम राष्ट्र पनि हो।
तर स्वतन्त्रताको दुई वर्षपछि नै, २०१३ मा देशमा गृहयुद्ध सुरु भयो । जसले हजारौंको ज्यान समेत लिएको छ र त्यहाँबाट लाखौं मानिस विस्थापित भएका छन्।
अमेरिकी गुप्तचर संस्था सिआईएका अनुसार दक्षिण सुडान अझै जातीय हिंसा र खाद्य संकटको चपेटामा छ। त्यहाँका १ करोड १० लाख जनसंख्यामध्ये दुई तिहाइलाई मानवीय सहयोगको आवश्यकता रहेको उल्लेख गरिएको छ।
मार्च २०२५ मा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सल्लाहमा अमेरिकनहरूलाई दक्षिण सुडान नजान चेतावनी दिइएको थियो ।






