जयनगर-बर्दिवास रेलमार्ग:फागुनभित्र आधा काम
प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार
भारतले जयनगरदेखि नेपालको बर्दिवाससम्म रेल पुर्याउने परियोजनामा काम गर्दै गर्दा रेलका इञ्जिन र डिब्बा खरिदबारे नेपालले चाँडै टुंगो लगाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।
त्यसबाहेक आधुनिक खाले रेल गुडाउनका लागि आवश्यक जनशक्ति पनि तयार पार्नुपर्ने रेल्वे विभागका पूर्व महानिर्देशकहरुले बताएका छन्।
विभागका एकजना अधिकारीका अनुसार त्यति गर्नसके मात्र फागुनसम्म जयनगरदेखि धनुषाको कुर्थासम्म बनिसक्ने लिकमा चैत-बैशाखदेखि रेल गुडाउन सकिन्छ।
जयनगरदेखि नेपालको बर्दिवाससम्म रेल गुडाउन आवश्यक लिक लगायतका पूर्वाधार आफ्नै लगानीमा निर्माण गरिदिने सहमति बमोजिम भारतले अहिले सो परियोजनामा काम गरिरहेको छ।
अधिग्रहण
लिकको कुल लम्बाइ करिब ७० किलोमिटर हुनेछ।
नेपालको रेल्वे विभागका अधिकारीहरुका अनुसार भारतीय पक्षले त्यसमध्ये ३५ किलोमिटर अर्थात् धनुषाको कुर्थासम्मको लिकको निर्माण आउने फागुन महिनासम्ममा सम्पन्न गरिसक्नेछ।
रेल्वे विभागका वरिष्ठ सिभिल इञ्जिनियर एवं सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले भने, “भारतले सन् २०१८ को मार्च-एप्रिलसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। उनीहरुले तयार गरेर दिने बित्तिकै हामीले रेल चलाउन सक्छौँ।”
तस्वीर कपीराइटDORWतर उक्त लिकमा गुडाउन आवश्यक इञ्जिन र डिब्बाहरु नेपालसँग छैनन्।
रेल्वे विभागका अनुसार नेपालतर्फ बनाइने बाँकी लिकका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया पनि अघि बढाइसकिएको छ।
अधिग्रहण गरिने जग्गाको मुआब्जा वितरण गरिएपछि लिक निर्माणका लागि भारतीय पक्षलाई हस्तान्तरण गरिने उपाध्यायले बताए।
जनशक्ति
रेलमार्गबाट भारतका विभिन्न शहरमा नेपालको पहुँच सहज बनाउने ठानिएको उक्त परियोजना निर्माण हुँदै गर्दा नेपालले रेल गुडाउनका निम्ति चाहिने इञ्जिन र डिब्बाबारे अब निर्क्यौल गर्नुपर्ने रेल्वे विभागका पूर्व महानिर्देशक अनन्त आचार्यको सुझाव छ।
उनले भने, “इञ्जिन, डब्बा किन्ने कुराको टुंगो लगाएर अगाडि बढ्नुपर्छ किनभने त्यसमा समय लाग्छ। एक वर्षअघि आउँछ जस्तो मलाई लाग्दैन।”
रेल्वे विभागका अर्का पूर्व महानिर्देशक जुगेश्वर कापडीका अनुसार त्यससँगै नेपालले अब गुडाइने ‘ब्रोडगेज’ रेलका चालक र मर्मत सम्भार गर्नेसहितका जनशक्ति तयार पार्नुपर्ने हुन्छ।
तस्वीर कपीराइटDORWनेपालसँग कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल गुडाएको मात्रै अनुभव छ।
विकाससँगै विश्वभर रेलमार्गले व्यापकता पाइरहेका बेला नेपालले पनि त्यसका लागि आफूलाई सक्षम बनाउँदै लैजान अपरिहार्य भएको विज्ञहरु बताउँछन्।
तर चरम राजनीतिका कारण जनकपुर रेलको जस्तो हविगत हुन नदिनेतर्फ सचेत रहन पनि उत्तिकै आवश्यक रहेको उनीहरुको सुझाव छ।






