जर्मन चान्सलर मर्जले भने – युक्रेनमा शान्तिको लागि अमेरिकाको सक्रिय सहभागिता आवश्यक
प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार
Germany New Government
जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनमा जारी युद्धको दीर्घकालीन समाधानका लागि संयुक्त राज्य अमेरिकाको निरन्तर सहभागिता अत्यावश्यक हुने बताएका छन् ।
बुधबार पेरिसमा आयोजित एक पत्रकार सम्मेलनमा उनले अमेरिकाको सक्रिय सहभागिता विना युक्रेन युद्ध अन्त्य हुन नसक्ने बतााएका हुन् ।
मर्जले युक्रेन युद्ध अन्त्यको जिम्मेवारी केवल युरोपेली राष्ट्रहरूले एक्लै बहन गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।
“अमेरिकाको सक्रिय सहभागिता विना युक्रेन युद्ध अन्त्य हुन सक्दैन । यो जिम्मेवारी केवल युरोपेली राष्ट्रहरूले एक्लै बहन गर्न सक्ने अवस्था छैन,” मर्जले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको भेटपछि भने ।
उनले युक्रेनमा स्थायी युद्धविराम र सुरक्षा प्रत्याभूति सुनिश्चित गर्न अमेरिकाको भूमिका अत्यन्त महत्वपूर्ण रहने धारणा राखे ।
“जर्मनी, फ्रान्स तथा अन्य युरोपेली देशहरू सहयोगका लागि तयार छन्,” मर्जले भने, “तर हामी यस सन्दर्भमा अमेरिकी साथ र नेतृत्व अझै आवश्यक हुने कुरामा पूर्ण रूपले सजग छौं ।”
उनले अमेरिकाले नाटोभित्रको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै युक्रेनप्रति निरन्तर समर्थन आवश्यक रहेको उल्लेख समेत गरे ।








