ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउनुपर्ने माग गरेपछि युरोपेली संघको चासो
प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार
Belgium Europe Summit
युरोपेली संघ (ईयू) की विदेश नीति प्रमुख काजा कालासले ग्रीनल्यान्डका जनताले कुनै पनि बाहिरी दबाब वा हस्तक्षेपबिना आफ्नो भविष्यको निर्णय गर्न पाउनुपर्ने बताएकी छन्।
मंगलबार युरोपेली संसदमा ग्रीनल्यान्डको विषयमा भएको बहसमा बोल्दै कालासले यो अडान राखेकी हुन्। यो बहस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बारम्बार ग्रीनल्यान्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउनुपर्ने माग गरेपछि चर्किएको हो।
कालासले कुनै देश वा नेताको नाम नलिई ‘सीमाहरू अखण्ड छन् र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्छ’ भन्दै अन्तर्राष्ट्रिय सिद्धान्तको रक्षा गर्नुपर्नेमा जोड दिइन्।
उनले थपिन्, ‘ग्रीनल्यान्डको भविष्य र नियति यहाँका जनताले मात्र निर्धारण गर्न सक्छन्। उनीहरूले स्वतन्त्र रूपमा आफ्नो छनोट गर्न पाउनुपर्छ।’
ग्रीनल्यान्ड युरोपेली संघको सदस्य राष्ट्र डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र हो। बहसमा सहभागी धेरै सांसदहरूले ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउन चाहेको बारम्बारको अभिव्यक्तिको खुलेर निन्दा गरेका छन् ।
यो विवादले ग्रीनल्यान्डको भूराजनीतिक महत्त्व र स्वायत्तताको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः चर्चामा ल्याएको छ।






