भ्वाइस अफ अमेरिकाका कर्मचारीहरुलाई पुनः काममा फर्काउन अपील अदालतको रोक
प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार
अमेरिकाको संघीय अपील अदालतले भ्वाइस अफ अमेरिकाका कर्मचारीहरुलाई पुन काममा फर्काउन रोक लगाएको छ । ट्रम्प प्रशासनलाई भ्वाइस अफ अमेरिकाका कर्मचारीहरू पुनः काममा फर्काउन आदेश दिने निर्णयलाई रोक लगाएको हो ।
संघीय अपील अदालतले शनिबार जिल्ला अदालतको पूर्वको आदेशलाई रोक लगाएको छ । जिल्ला अदालतले ट्रम्प प्रशासनलाई भ्वाइस अफ अमेरिकाका १ हजार भन्दा बढी कर्मचारीहरूलाई पुनः काममा फर्काउन आदेश दिएको थियो।
अमेरिकी जिल्ला न्यायाधीश रॉइस ल्याम्बर्थले अप्रिल २२ मा ट्रम्प प्रशासनलाई कर्मचारी र ठेकेदारहरूलाई पुनः नियुक्त गर्न र रेडियो, टेलिभिजन तथा अनलाइन समाचार प्रशारण पुनः सुरु गर्न आदेश दिएका थिए ।
साथै, रोकिएको १५ मिलियन डलरको अनुदान पनि फिर्ता गर्न भनिएको थियो। तर, दुई विरुद्ध एक को मतमा अपील अदालतले न्यायाधीश ल्याम्बर्थसँग यस्तो आदेश दिन अधिकार नभएको बताएको छ ।
अमेरिकी ग्लोबल मिडिया एजेन्सी ले मार्चमा ट्रम्पको निर्देशनअनुसार भ्वाइस अफ अमेरिकाका १००० भन्दा बढी कर्मचारीहरूलाई बिदामा पठाएको थियो । ६०० ठेकेदारलाई हटाउने निर्णय गरेको थियो । यसपछि प्रशारणहरू अचानक बन्द गरिएका थिए ।
अदालतले सरकारले ल्याम्बर्थको भ्वाइस अफ अमेरिकाका लागि कानूनी रूपमा आवश्यक प्रशारण स्तर पुनः कायम गर्ने आदेशमा आपत्ति भने जनाएको छैन ।
भ्वाइस अफ अमेरिकाले अर्को साता प्रशारण पुनः सुरु गर्ने तयारी गरिरहेको छ । ८० वर्षको इतिहासमा पहिलोपटक भ्वाइस अफ अमेरिका ले समाचार प्रसारण बन्द गरेको छ ।
यसको वेबसाइट मार्च १५ यता अपडेट भएको छैन । विदेशमा यसको रेडियो स्टेशनहरूले संगीत मात्र बजाइरहेका छन् । न्यायाधीश ल्याम्बर्थले कांग्रेसले भ्वाइस अफ अमेरिकाका प्रसारणलाई आवश्यक मानेको छ ।
ट्रम्पकी सल्लाहकार कारी लेकले मार्च १५ मा यस बन्दको घोषणा गरेकी थिइन् । उनले भ्वाइस अफ अमेरिकालाई “पूर्णरूपमा बिग्रिएको र ट्रम्पविरुद्ध पक्षपाती संस्था” भन्दै लगभग सबै कर्मचारीहरूलाई बिदामा पठाउने निर्णय लिएकी थिइन्।






