अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्ताव मेक्सिकोद्वारा अस्वीकार
प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार
अमेरिकी सेना मेक्सिको पठाउने प्रस्तावलाई मेक्सिकोले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूपदार्थ तस्करी विरुद्ध लड्ने सहयोगको नाममा अमेरिकी सेना मेक्सिको पठाउने प्रस्ताव गरेका थिए ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले पूर्वी मेक्सिकोमा आफ्ना समर्थकहरूसँगको कार्यक्रममा यो घटनाको खुलासा गरेकी हुन । उनको टिप्पणी वाल स्ट्रीट जनरलमा प्रकाशित एउटा लेखपछि आएको हो ।
गत महिनाको एउटा तनावपूर्ण फोन कुराकानीको विवरण जनरलमा दिइएको छ । सो कुराकानीमा ट्रम्पले शेइनबाउमलाई मेक्सिकोमा अमेरिकी सेनाको भूमिकालाई बढाउन दबाब दिएका थिए ।
लागूपदार्थ तस्करी विरुद्ध अमेरिकी सेना मेक्सिको सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको उनको भनाईछ । राष्ट्रपति शेइनबाउमले सार्वभौमसत्ता बिक्रीको वस्तु होइन भन्दै सार्वभौमसत्तालाई रक्षा गरिने बताइन ।
ह्वाइट हाउसले शेइनबाउमको टिप्पणीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। हालैका महिनाहरूमा ट्रम्पको आदेशअनुसार अमेरिकी सैन्य उपस्थिति मेक्सिकोको दक्षिणी सीमामा उल्लेखनीय रूपमा बढाइएको छ ।
अमेरिकी उत्तरी कमाण्डले सीमामा थप सैनिक र उपकरण तैनाथ गरेको, फेन्टानिल तस्करी निगरानीका लागि मानवयुक्त गस्ती उडानहरू बढाइएको, र विशेष सेनालाई मेक्सिकन सेनासँग मिलेर कार्टेलहरूविरुद्ध अभियान चलाउने अनुमति विस्तार गर्न खोजिएको बताएको छ ।
ट्रम्पले फेब्रुअरी १९ मा थुप्रै ड्रग कार्टेल र तस्कर समूहहरूलाई विदेशी आतंकवादी संगठन घोषित गरेका थिए । ती समूहहरूको गतिविधिमा कडाइ गर्न अमेरिकाले कानुनी तथा सुरक्षात्मक स्रोतहरू बढाएको छ ।
तर, मेक्सिकोका राष्ट्रपति शेइनबाउमको कठोर प्रतिक्रियाले अमेरिकी सेनाको एकपक्षीय हस्तक्षेपप्रति उनी सहमत छैनन् भन्ने स्पष्ट गरेको छ ।
यसले आप्रवासन र व्यापारबारे केही महिनाको सहकार्यपछि अब ट्रम्प र शेइनबाउमबीच टकरावको सम्भावना बढाएको छ ।






