बेलायतमा आतंकवादी हमलाको योजना बनाएको आशंकामा ५ जना पक्राउ
प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार
बेलायतका विशेष स्थानमा आक्रमणको योजना बनाएको आरोपमा पाँच जना पक्राउ परेका छन । ति व्यक्तिहरुलाई आतंकवादी आक्रमणको शंकामा बेलायतमा पक्राउ गरिएको हो ।
बेलायतको मेट्रोपोलिटन प्रहरीले विशेष स्थानलाई लक्षित गरी गरिएको आक्रमणको योजनासम्बन्धी अनुसन्धानको क्रममा पाँच जनालाई आतंकवादी भएको शंकामा पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा चार जना ईरानी नागरिक छन् । ति मध्ये दुई जना २९ वर्षका, एक जना ४० वर्षका र एक जना ४६ वर्षका छन् ।
उनीहरूलाई शनिबार बेलायती क्षेत्रका विभिन्न स्थानहरूबाट पूर्व नियोजित आतंकविरोधी अभियान अन्तर्गत पक्राउ गरिएको हो ।
पक्राउ परेका मध्ये पाँचौँ व्यक्तिको नागरिकता र उमेर अझै पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले लक्षित गरिएको भवनलाई जानकारी दिइसकिएको बताएको छ ।
पक्राउ परेका व्यक्तिहरूमध्ये २९ वर्षीयलाई स्विन्डन क्षेत्रमा, अर्को २९ वर्षीयलाई स्टकपोर्ट क्षेत्रमा, ४६ वर्षीयलाई पश्चिम लन्डनमा र ४० वर्षीयलाई रोचडेल क्षेत्रबाट पक्राउ गरिएको हो।
उनीहरूलाई आतंकवाद ऐन अन्तर्गत पक्राउ गरिएको बताएको छ । पाँचौँ व्यक्तिलाई म्यान्चेस्टर क्षेत्रमा प्रहरी तथा आपराधिक प्रमाण ऐन अन्तर्गत पक्राउ गरिएको हो।
सबै पाँच जनालाई आतंकवादी कार्यको तयारी गरेको आशङ्कामा गिरफ्तार गरिएको हो । हाल उनीहरू प्रहरी हिरासतमा रहेका छन्।
अनुसन्धानको क्रममा ग्रेटर म्यान्चेस्टर, लन्डन र स्विन्डनका केही ठेगानाहरूमा तलासी गरिरहेको मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।
मेटको आतंकवाद विरोधी कमाण्डले अनुसन्धानको नेतृत्व गरिरहेको छ । जसलाई ग्रेटर म्यान्चेस्टर प्रहरी, विल्टशायर प्रहरी र देशभरिका आतंकवादविरोधी अधिकारीहरूले सहयोग गरिरहेका छन्।
अनुसन्धान प्रारम्भिक चरणमा रहेको र विभिन्न सम्भावित कारणहरूबारे अनुसन्धान गरिरहेको मेटको आतंकवादविरोधी कमाण्डका प्रमुख कमाण्डर डोमिनिक मर्फीले बताएका छन ।






