ट्रम्प प्रशासनको करको असर : एप्पलको लागतमा करिब एक बिलियन डलरको वृद्धि हुने
प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार
अमेरिकामा आयात हुने सामानमाथि लगाइएका नयाँ ट्यारिफ (शुल्क) को प्रभावस्वरूप एप्पलको लागतमा करिब एक बिलियन डलरको वृद्धि हुने कम्पनीले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले केही प्रमुख इलेक्ट्रोनिक उपकरणहरूलाई नयाँ करबाट जोगाए तापनि, विश्वव्यापी आपूर्ति शृंङखलामा आएको अस्थिरता र उपभोक्ता मागको अनिश्चितताले कम्पनीहरू प्रभावित बनिरहेका छन्।
एप्पलले अमेरिकाका लागि चीनमा बन्ने आइफोनहरूको उत्पादन क्रमशः घटाउँदै भारततर्फ सर्दै गएको जनाएको छ । कम्पनीका अनुसार अब आउने महिनाहरूमा अमेरिकामा बिक्री हुने अधिकांश आइफोन भारतमा निर्मित हुनेछन्।
यद्यपि, हालको अवस्थाले एप्पलको आम्दानीमा भने असर पार्न सकेको छैन । कम्पनीले यो वर्षको पहिलो तीन महिनामा ९५.४ बिलियन डलर नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत बढी हो ।
अर्को प्रविधि क्षेत्रको ठूलो कम्पनी अमेजनले पनि ट्यारिफको प्रभावलाई सामना गरिरहेको छ । उत्तर अमेरिकामा यसको इ–कमर्श व्यापार ८ प्रतिशतले बढेको जनाएको छ ।
कम्पनीले आगामी महिनाहरूमा पनि यस्तै वृद्धि हुने अनुमान गरेको छ।” ट्यारिफ कहाँ पुग्छ र कहिले स्थिर हुन्छ भन्ने कसैलाई थाहा छैन, अमेजनका प्रमुख कार्यकारी एन्डी जासीले भने, “तर महामारीजस्ता अवरोधहरू पार गरिसकेको अमेजन पुनः मजबुत रूपमा अगाडि बढ्न सक्छ भन्नेमा म आशावादी छु।”
राष्ट्रपति ट्रम्पले अमेरिका भित्रिने सामानमा पारस्परिक ट्यारिफ घोषणा गरेपछि एप्पलको सेयर मूल्यमा गिरावट आएको थियो । उनले एप्पलका उत्पादनहरू अमेरिकामै बनाउनुपर्ने बताएपछि यो गिरावट आएको हो ।
तर व्यापक आलोचनापछि, प्रशासनले फोन र कम्प्युटरजस्ता केही इलेक्ट्रोनिक सामानहरूलाई ट्यारिफबाट छुट दिएको छ ।
आर्थिक प्रतिवेदन सार्वजनिक गर्न आयोजित लगानीकर्ता सम्मेलनमा एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको अमेरिकी लगानी चार वर्षमा ५०० बिलियन डलर पुगेको स्मरण गराउँदै भारत र भियतनामतर्फ उत्पादन सर्ने योजनाबारे प्रस्ट पारेका थिए ।
आगामी तीन महिनामा अमेरिकामा बिक्री हुने अधिकांश आइफोन भारतमा बनेका हुनेछन् । साथै, आईप्याड, म्याक, एप्पल वाच र एयरपड्सको प्रायः सबै उत्पादन भियतनामबाट हुने अपेक्षा गरिएको छ, उनले भनेका छन ।
अमेरिकाबाहिरका बजारका लागि भने चीन प्रमुख उत्पादन स्रोत रहनेछ । प्रविधि विश्लेषक प्याट्रिक मुरहेडका अनुसार, “आइफोन उत्पादन भारततर्फ सर्नु एक उल्लेखनीय उपलब्धि हो । केही वर्ष अघि टिम कुकले आइफोन उत्पादन चीनमै सम्भव भएको बताएका थिए । अहिलेको प्रगति राम्रो सुरुवात हो।”
अमेजनले पनि आपूर्ति शृंखला विविधीकरण गर्दै ट्यारिफको असर कम गर्ने उपायहरू अवलम्बन गरिरहेको जनाएको छ।
२०२५ को पहिलो त्रैमासिकमा अमेजनको कुल बिक्री ९ प्रतिशत ले बढेर १५५.७ बिलियन डलर पुगेको छ । यसको मुनाफा ६० प्रतिशत भन्दा बढी अर्थात १७ बिलियन डलर पुगेको छ।






