गल्तीले देश निकाला गरिएका गार्सिया जेलमा सुरक्षित रहेको अमेरिकी अधिकारीद्वारा अदालतलाई जानकारी


प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार

अमेरिकाबाट गल्तीले देश निकाला गरिएका व्यक्ति सुरक्षित रहेको अधिकारीहरुले बताएका छन । उनीहरुले ति व्यक्ति एल साल्भाडोरको जेलमा सुरक्षित रहेको बताएका हुन ।

मेरील्याण्ड राज्यबाट गल्तीले निर्वासित गरिएका किलमार अब्रेगो गार्सिया एल साल्भाडोरको जेलमा सुरक्षित रहेको अमेरिकी अधिकारीले न्यायाधीशलाई जानकारी दिएका छन् ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई उनको रिहाइ र अमेरिका फर्काउने प्रक्रिया अघि बढाउन आदेश दिएपछि अमेरिकी अधिकारीहरुले यो जानकारी बाहिर ल्याएका हुन ।

अब्रेगो गार्सिया अहिले एल साल्भाडोरको आतंकवादी थुनावट केन्द्रमा राखिएका अमेरिकी विदेश मन्त्रालयका अधिकारी माइकल कोजाकले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलसँग व्हाइट हाउसमा भेटवार्ता गर्न लागेका छन्।

गत महिना ट्रम्प प्रशासनले २३८ भेनेजुएली र २३ एल साल्भाडोरेली आप्रवासीहरूलाई एल साल्भाडोरको चर्चित जेलमा पठाएको थियो । गार्सियालाई पनि त्यही समूहमा पठाइएको थियो ।

अमेरिकाले गार्सियालाई प्रशासनिक त्रुटिका कारण निर्वासित गरिएको बताएको छ । यद्यपि सरकारले उनलाई कुख्यात एमएस १३ गिरोहको सदस्य भएको दाबी गरेको छ । उनका वकिलले यो आरोपलाई अस्वीकार गरेका छन् ।

सन् २०१९ मा आप्रवासन न्यायाधीशले गार्सियालाई देश निकाला नगर्न कानुनी संरक्षण प्रदान गरेका थिए ।

तर ट्रम्प प्रशासनले उनलाई पुनः अमेरिका फर्काउने आदेशको विरोध गर्दै मेरील्याण्ड जिल्ला न्यायाधीश पाउला जिनिसले आफ्नो अधिकार नाघेको आरोप लगाएको थियो ।

तर यस साता अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिमा फैसला सुनाउँदै न्यायाधीश जिनिसको आदेशलाई समर्थन गरेको थियो ।

शुक्रबार न्यायाधीश जिनिसले ट्रम्प प्रशासनलाई गार्सियालाई फर्काउन के के कदम चालिएको छ भन्ने विवरण दैनिक रूपमा पेश गर्न निर्देशन दिएकी छन ।

२९ वर्षीय गार्सिया एल साल्भाडोरबाट किशोर अवस्थामा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए ।

सन् २०१९ मा मेरील्याण्डमा अन्य तीन व्यक्तिसँग पक्राउ परेपछि आप्रवासन अधिकारीले उनलाई हिरासतमा लिएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com