‘अमेरिकी भन्सार शुल्कले नेपाललाई ठुलो असर पर्दैन, यो अवसर पनि हो’


प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार विश्वव्यापी रूपमा हालसम्मकै सबैभन्दा ठुलो भन्सार शुल्क लगाएका छन् । उनले सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत भन्सार शुल्क लगाउँदा दर्जनौँ अन्य देशहरूमाथि भने दोहोरो अङ्कको भन्सार शुल्क घोषणा गरे । ट्रम्पले नेपाललाई पनि १० प्रतिशत भन्सार शुल्क लगाएका छन् । अमेरिका नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार देश हो । ट्रम्पले लगाएको भन्सार शुल्कले नेपाललाई पर्ने असर, प्रभाव, चुनौती र अवसर लगायतका विषयमा अर्थविद् डा. चन्द्रमणी अधिकारीसँग खसोखासले गरेको कुराकानी :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै विश्वव्यापी ट्यारिफ लगाउँदै नेपाललाई पनि १० प्रतिशत ट्यारिफ लगाएका छन् । यो कस्तो प्रकारको ट्यारिफ हो ? यसले  विशेष गरी अमेरिकामा निर्यात हुने प्रमुख वस्तुहरूको सन्दर्भमा नेपालको निर्यात बजारलाई कस्तो प्रभाव पार्छ ?
भर्खरै अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वव्यापी आयातमा ट्यारिफ (शुल्क) बढाएका छन्। नेपालमा पनि दस प्रतिशत (१०%) ट्यारिफ लगाइएको छ । यो ट्यारिफ विशेष गरी आयात शुल्क हो जसले विभिन्न देशबाट अमेरिका भित्रिने सामानको मूल्य बढाउँछ । यसको उद्देश्य अमेरिकी व्यापार घाटा कम गर्नु हो । नेपालको अमेरिकासँग ठुलो निर्यात छैन, केवल केही प्रमुख वस्तुको निर्यात हुन्छ । त्यसैले यो ट्यारिफले विशाल प्रभाव पार्छ भन्ने होइन । तर केही प्रत्यक्ष प्रभाव पर्छ, जस्तै निर्यात लागत बढ्नु । अप्रत्यक्ष प्रभाव पनि देखिन्छ । उदाहरणका लागि, ट्रम्पले विश्वका पन्ध्र देशसँग “डटी फिफ्टिन“ भनेर उच्च दरमा कर बढाएका छन्, जसमा चीन र भारत पनि परेका छन् । यसले विश्व अर्थतन्त्रमा असर गर्छ । अमेरिका विश्व अर्थतन्त्रको केन्द्रबिन्दु भएकाले वैदेशिक लगानी, सहयोग र पर्यटनमा प्रभाव पर्न सक्छ ।

नेपालबाट अमेरिकामा कुन–कुन वस्तु र सेवा निर्यात हुन्छन् ? यो ट्यारिफले अमेरिकी बजारमा नेपाली वस्तुको मागमा कस्तो प्रभाव पार्छ ?
पहिले नेपालबाट गार्मेन्ट (लत्ताकपडा) अमेरिका जान्थ्यो । तर, अहिले मुख्य रूपमा हस्तकलाका सामानहरू निर्यात हुन्छन्। यी विशेष गरेर साना स्केलका उत्पादनहरू हुन् जुन अमेरिकी बजारमा लोकप्रिय छन्।  यो ट्यारिफले अमेरिकी बजारमा ठुलो प्रभाव पार्दैन । हाम्रो निर्यातको स्केल सानो छ र केवल १० प्रतिशत ट्यारिफ बढाइएको छ । अन्य देशको तुलनामा यो कम हो । त्यसैले केही प्रभाव पर्ला, तर त्यति ठुलो असरचाहिँ पर्दैन ।

ट्रम्पको नयाँ नीतिले नेपाली व्यवसायीहरूलाई कस्तो प्रतिस्पर्धात्मक चुनौती थप्छ ?
स्वाभाविक रूपमा विश्वमा सबैलाई प्रतिस्पर्धात्मक दबाब छ । कर बढ्दा लागत बढ्छ, मूल्य बढ्छ र बिक्री कम हुन्छ । यसको समाधान भनेको लागत घटाउनु हो । त्यसका लागि प्रविधिको प्रयोग, ठुलो परिमाणमा उत्पादन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्छ । यस्तो गर्न सकियो भने करको असर कम गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसले नेपाललाई कस्ता अवसरहरू प्रदान गर्न सक्छ ?
यो ट्यारिफले अवसर पनि ल्याउन सक्छ । अरू देशलाई उच्च दरमा कर लगाइएको छ, तर नेपाललाई कम । यदि हामीले यहाँबाट वस्तु र सेवा पठाउन सक्यौँ भने फाइदा लिन सक्छौँ। तर यसका लागि रणनीतिक योजना र कार्यक्रम चाहिन्छ । यदि हामीले यो अवसर उपयोग गर्यौ भने निर्यात बजारमा लाभ लिन सकिन्छ ।

अर्थविद् डा. चन्द्रमणी अधिकारी

अमेरिकी बजारमा ट्यारिफका कारण प्रभाव परेपछि नेपालले आफ्ना उत्पादनहरूका लागि वैकल्पिक बजार खोज्न सक्छ ?
हाम्रो निर्यातको लगभग ६७/६८ प्रतिशत भारतसँग हुन्छ । त्यसैले वैकल्पिक बजार खोज्नु आवश्यक छ । युरोपियन युनियन र अरब देशहरूमा कर कम छ। यो ट्यारिफपछि यस्ता बजारहरू स्वाभाविक विकल्प हुन सक्छन् र खोज्नुपर्छ ।

विशेष गरी निर्यातमुखी उद्योगहरूमा रोजगारीमा कस्तो प्रभाव पर्न सक्छ ? नेपालका साना तथा मझौला उद्यमीहरू र तिनमा आश्रित श्रमिकहरूलाई कस्तो असर गर्छ ?
हाम्रो निर्यातको हिस्सा कम छ र प्रतिस्पर्धात्मक उद्योगहरू पनि सीमित छन् । व्यापारको ८०/८१ प्रतिशत भारत र चीनसँग हुन्छ । त्यसैले रोजगारीमा ठुलो प्रभाव पर्दैन । तर, साना प्रभावहरू भने देखिन सक्छन् ।

नेपालले अमेरिका–चीन लगायतका बीचको व्यापार युद्धबाट के–कस्ता अवसरहरू उपयोग गर्न सक्छ ? यदि नेपालले यो अवसरको लाभ उठाउन सकेन भने के खतराहरू देख्न सकिन्छ ?
उदाहरणका लागि, पाम आयलको निर्यात भारतमा बढ्यो किनभने केही देशले भारतमा बिक्री गरेनन्। हामीले मलेसिया, इन्डोनेसिया आदि ठाउँबाट ल्याएर प्याकेजिङ गरी बिक्री गर्‍यौ। यस्तै अवसरहरू यो ट्यारिफले पनि ल्याउन सक्छ । तर मूल्य अभिवृद्धिमा ठुलो लाभ लिन सकिएको छैन । यदि हामीले अवसर उपयोग गर्न सकेनौँ भने अर्थतन्त्रको अवस्था यस्तै रहन्छ । प्रतिस्पर्धी क्षमता र विकल्प नखोजे निकासी घट्छ र हिस्सा अझ कम हुन्छ ।

यो ट्यारिफ नीतिले नेपाल र अमेरिकाबीचको दीर्घकालीन व्यापार सम्बन्धमा कस्तो प्रभाव पार्न सक्छ ? नेपाल सरकारले यो ट्यारिफबाट हुने आर्थिक नोक्सानीलाई कसरी न्यूनीकरण गर्न सक्छ ?
१० प्रतिशत ट्यारिफले दीर्घकालीन व्यापारमा ठुलो असर पार्दैन । प्रविधि, श्रमको क्षमता र गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरेर यो प्रभाव कम गर्न सकिन्छ । हामीले प्रतिस्पर्धी र उत्पादन क्षमता बढाउनुपर्छ । विश्व बजारको मागअनुसार उत्पादन गर्नुपर्छ । स्थानीय सीप र कच्चा पदार्थको उच्च प्रयोग गरी ब्रान्ड बेच्नुपर्छ । सगरमाथाको पानी, जडीबुटी वा पोखराको नामले बेच्दा मानिसहरू बढी मूल्य तिर्न तयार हुन्छन् ।

नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन तत्काल र दीर्घकालीन रूपमा कस्ता कदमहरू चाल्नुपर्छ ? साथै, निजी क्षेत्र, उद्योगी व्यवसायीहरू र सरकारले मिलेर कुन क्षेत्रहरूमा प्राथमिकता दिनुपर्ने देखिन्छ ? यहाँको सुझाव के छ ?

विज्ञ, उद्योगी र सरकारले खनिज र कृषि क्षेत्रमा सहकार्य गर्नुपर्छ । खास गरी, कृषिमा प्रविधि, यन्त्र र दक्ष जनशक्ति प्रयोग गर्नुपर्छ । किसानको उत्पादन बिक्री हुने सुनिश्चितता र जोखिम कम गर्नुपर्छ ।

तस्बिर : दीपेन्द्र ढुंगाना

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com