‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन स्वीकृति दर ६%बाट बढाउन अनलाइन भुक्तानी मिलाउँदैछौँ’


प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

नेपालको अध्यागमन विभागले ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) प्रणाली लागू गरेको एक वर्ष पूरा भएको छ। विभागले विश्वको जुनसुकै ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसाका लागि आवेदन दिन सक्ने गरी यो प्रणाली कार्यान्वयनमा ल्याएको थियो। नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लामो लाइन बस्नुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको थियो। यो प्रणाली लागू भएको एक वर्ष पूरा हुँदा यसको प्रभावकारिताबारे अध्यागमन विभागको सूचना प्रविधि शाखाका निर्देशक अनुप न्यौपानेसँग खसोखासले गरेको कुराकानीको सम्पादित अंश:

अध्यागमन विभागले ईटीए प्रणाली लागू गरेको एक वर्ष बितिसकेको छ। यो अवधिमा ईटीएमार्फत कति आवेदन आए? कति स्वीकृत भए, बताइदिनुस् न?

यो प्रणाली मुख्य रूपमा दूतावास र विदेशस्थित नेपाली नियोगहरूले प्रयोग गर्छन्। हाम्रो विभागमा पनि ईटीएमार्फत आवेदनहरू प्राप्त भइरहेका छन्। हालसम्म विभागमा २९,७९६ वटा आवेदन परेका छन्, जसमध्ये १,८६५ वटा (झण्डै ६%) आवेदन स्वीकृत भएका छन्। दूतावास र नियोगहरूबाट अहिले भिसा जारी हुँदैन। त्यहाँबाट यात्रुहरूले ईटीए लिएरै आउँछन्। ईटीए लागू भएयता दूतावास र नियोगहरूबाट १२,०६९ वटा आवेदन स्वीकृत भएको देखिन्छ।

आवेदनको तुलनामा स्वीकृतिमा किन कमी आयो?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामीलाई इन्टरनेशनल कार्ड पेमेन्टको सुविधा उपलब्ध नभएको अवस्थामा विदेशबाट विभागमा आवेदन दिनेहरूलाई समस्या भएको छ। यो नै प्रमुख समस्या हो। “१,८६५ आवेदन कसरी स्वीकृत भए त?” भन्ने प्रश्न पनि उठ्न सक्छ। ट्राभल एजेन्सीहरूको सहयोगमा उनीहरूसँग सहकार्य गरी राजस्वबापतको शुल्क तिरिएको अवस्थामा ती आवेदन स्वीकृत भएका हुन्।

बढीभन्दा बढी पर्यटक भित्र्याउने र उनीहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले ईटीए लागू गरिएको थियो। यो प्रणाली सोचेजस्तो प्रभावकारी किन हुन सकेन?

व्यवस्थापनको दृष्टिकोणले हेर्दा यो प्रणाली प्रभावकारी देखिएको छ। ईटीए लागू गर्नुअघि हामीले ब्ल्यांक भिसा स्टिकरको लगत राखेर हरेक नियोगमा पठाउनुपर्ने अवस्था थियो। अहिले त्यस्तो ब्ल्यांक भिसा स्टिकर पठाउनु पर्दैन। यात्रुहरू ईटीए लिएरै आउँछन्। यद्यपि, यदि हामीले इन्टरनेशनल कार्ड पेमेन्टको सुविधा पनि प्रदान गर्न सकेको भए यो अझ प्रभावकारी हुन्थ्यो।

नेपाल आउन चाहने पर्यटकलाई दूतावास धाउनु नपर्ने र विमानस्थलमा लाइन बस्नु नपर्ने गरी ईटीए लागू गरिएको थियो। यो प्रणाली प्रयोग गर्ने पर्यटकको प्रतिक्रिया कस्तो छ? कुन देशका नागरिकले यो प्रणाली बढी प्रयोग गरेका छन्?

हामीले पर्यटकको प्रत्यक्ष प्रतिक्रिया त संकलन गरेका छैनौँ। तर, नेपाल आउन चाहने पर्यटकलाई दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन बस्नुपर्ने बाध्यता हटेको छ। यदि हामीले इन्टरनेशनल कार्ड पेमेन्टको सुविधा पनि उपलब्ध गराउन सक्यौँ भने विदेशी पर्यटकलाई झन् सहज हुन्छ। हाम्रो रेकर्डअनुसार ईटीएको सबैभन्दा बढी प्रयोग थाइल्यान्डमा भएको देखिन्छ।

विभागले अनलाइनमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न कस्तो पहल गरेको छ?

राजस्व भुक्तानीको विषय मुख्य रूपमा महालेखा नियन्त्रक कार्यालयबाट निर्देशित हुन्छ। हामीले सम्बन्धित निकायलाई अनुरोध गरेका छौँ। उहाँहरूले यसको आवश्यकताअनुसार काम गरिरहनुभएको छ। हामी समय-समयमा प्रगतिको अपडेट लिइरहेका छौँ। प्राविधिक पक्ष भएकाले यसमा केही समय लाग्ने देखिन्छ।

यो प्रणालीले नेपालको पर्यटन क्षेत्रलाई माथि उकास्न कस्तो भूमिका खेलेको छ? साथै, ईटीए प्रणालीलाई थप परिष्कृत गर्न दीर्घकालीन रणनीति के छ?

ईटीए प्रणालीले आफ्नो अनुकूलतामा बसेर आवेदन दिन सकिने सुविधा प्रदान गरेको छ। यदि यसमा पेमेन्टको व्यवस्था पनि जोड्न सकियो भने नेपाल भ्रमण गर्न चाहने विदेशी नागरिकले दूतावास वा नियोग धाउनु नपर्ने भएकाले “नेपाल घुमौँ न” भन्ने अवस्था सहजै सिर्जना हुन्छ। यसले पर्यटकलाई सहजता प्रदान गर्नुका साथै नेपालमा सहजै आउन सक्ने वातावरण बन्छ, जसले पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सक्छ भन्ने हामीलाई लाग्छ। हामी तत्कालै अनलाइन राजस्व भुक्तानीको व्यवस्था मिलाउँदै छौँ। यो व्यवस्था भएपछि ईटीएमार्फत नेपाल यात्रा गर्न अझ सहज हुनेछ।

फोटो: दीपेन्द्र ढुंगाना

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com