कमलरी दिदीबहिनीलाई झुण्डाएर र जलाएर मार्नेमाथि पनि कारवाही हुनुपर्छ : उर्मिला चौधरी


प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार

नेपाली अभियन्ता उर्मिला चौधरीलाई अमेरिकाको विदेश मन्त्रालयमा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिंकनले ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्डबाट सम्मानित गरे । ६ बर्षको उमेरमा दासतामा बेचिएकी पूर्व बालश्रमिक चौधरीलाई १७ वर्षको उमेरमा उद्धार गरिएको थियो । उनी नेपालमा सिमान्तकृत जाति र जातीय समुदायहरूको लागि एक शक्तिशाली आवाजको रूपमा उदाएकी छिन्। थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान दिएकी उनले पूर्व बन्धुवा मजदुरहरूको सशक्तिकरणको लागि समर्पित मुक्त कमलरीहरुको साझा संगठन मुक्त कमलरी विकास मञ्च सह स्थापना गरेकी छन् । त्यही संस्थामार्फत् उनी कमलरी अभियन्ताको रुपमा काम गर्छिन् । हाल उनले कानूनको अध्ययन गरिरहेकी छिन्, जसले नेपालमा अन्याय र प्रणालीगत जातिवादविरुद्धको उनको लडाइँलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। विसं २०५७ साउन २ गते सरकारले मुक्त कमैया घोषणा गरेका थियो । त्यही घोषणाले थारुहरुमा कमलरीहरु पनि मुक्त हुनुपर्छ भन्ने अभियान चलाए । आन्दोलन गर्न थाले । विसं २०६३ सालमा उर्मिला पनि मुक्त भइन् । त्यसपछि उनले पढ्ने र कमलरी प्रथा विरुद्ध आवाज उठाउने निर्णय गरिन् । उनले दुवै अभियानलाई सँगसँगै लगिन् । अन्ततः सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयबाट सम्मानित उर्मिला चौधरीसँग खसोखासका लागि लोक तिवारीले अमेरिकी विदेश मन्त्रालयभित्रै लिएको अन्तरवार्ता ।

यो अभियान कसरी सुरु गर्नुभयो?

जसको सवाल त्यसको नेतृत्व भन्ने छ अहिले । म आफु स्वयं ६ वर्षको उमेरदेखि कमलरी बसें । जुन उमेर स्कुल जाने, कापी किताब समात्ने उमेर थियो । कापी किताब समाउने उमेरमा जुठो भाडा समाएर मैले मेरो वालापन गुजारें । त्यो वालापान गुजार्दै गर्दा मेरो हरेक कुरा खोसियो । मेरो भाषा, शिक्षा समयमा लिन पाइन । त्यसले गर्दा केहीचाहीँ हुनुपर्छ है, छोरी मान्छे जुठो भाडा बोक्ने मात्र होइन्, उनीहरु किताब–कलम पनि बोक्न सक्छन् र यसको लागि केही आवाज उठाउनुपर्छ भनेर म आफु कमलरी बस्दाको पीडा र थारु समुदायको यो कमलरी प्रथाविरुद्धको अभियानमा संग्लन भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यति सानो उमेरमा कलमरीहुँदै त्यसविरुद्धको अभियन्ताका रुपमा अमेरिका विदेश मन्त्रालयबाट यति ठूलो अवार्ड पाउँदा कस्तो अनुभव भयो ?

यो मैले नसोचेको कुरा हो । एउटा जुठो झाँडा माझ्ने मान्छे आज विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रले तिमीले गरेको ठिक छ है, तिमीले अझैँ गर्नुपर्छ भनेर जुन यो जिम्मेवारी बहन गराउनुभएको छ । यसले मलाई अझै शक्ति दिएको छ । म मात्रै होइन्, म जस्तै १३ हजार जना मुक्त कमलरीहरु छौं, यो सबैको प्रतिनिधित्व हो । यो उहाँहरुले प्राप्त गरेको अवार्ड हो । यो नेपाल सरकारले प्राप्त गरेको पुरस्कार हो । मैले रत्तिभर पनि कल्पना गरेकी थिइन् कि यो ठाउँले मलाई यसरी सम्झिन्छ । अथवा, मेरो कामको मूल्यांकन हुन्छ । मेरो लडाइँको मूल्यांकन हुन्छ । एउटा जुठो झाँडामा जेलिएकी चेली संयुक्त राज्य अमेरिकामा आएर यो सम्मान थाप्नु भनेको मेरो लागि सपनाको संसारभन्दा बाहिर थियो ।

अन्तरवार्ताका क्रममा आँशु थाम्न सकिनन् उर्मिलाले ।

यो संघर्ष सुरु गरेर यहाँसम्म आइपुग्दा कस्ता किसिमका चुनौतीको भोग्नुभयो ? ती चुनौतीको कसरी सामना गर्नुभयो ?

चुनौती त कति आए कति । एक त म थारु समुदायको परें । त्यसमाथि पनि छोरी मान्छे परें । यो संघर्ष सुरु गर्दा लडाइँ कस्तो थियो भने पढेलेखेको शिक्षित मान्छेहरु, जुन उपल्लो तहमा हुनुहुन्छ, यो उहाँहरुसँगको लडाई थियो । यो कलमरी प्रथा धेरै जेलिएको थियो, यो विरुद्ध लड्न त्यति सजिलो थिएन । किनभने, हामी लडाइँ सुरु गर्दै गर्दा हामीले खान, लाउन दिइराखेका छौं भन्ने एकथरी कुरा आएको थियो । कमलरी प्रथा अन्त्य गर्नुपर्छ भन्दा कतिठाउँमा कुट्ने, पिट्ने जस्ता धम्कीहरु पनि आयो । म स्कुल जाँदा मुद्धा हाल्ने यहीँ हो भनेर झोला एकातिर र मान्छेलाई नालीतिर फालिदिएको पनि अवस्था थियो । त्यति मात्रै होइन्, कमलरी बस्दैँ गर्दा धेरै चेलीहरु कोही झुण्डाएर मारिनुभएको छ, कोही जलाएर मारिनुभएको छ, कोही कुमारी आमा बन्नुभएको छ । त्यस्तो विरुद्ध लड्दाखेरी, चुनौती त एकदमै हुन्छ । त्यो पछि सम्म पनि होला । चुनौतीका साथसाथै नेपाल सरकारले कमलरी मुक्त देश घोषणा गर्नुभयो । त्यो एकदमै सराहनीय छ । यद्यपी, चुनौतीहरु एकदमै धेरै थियो ।

तपाइँको आन्दोलन प्रश्चात अहिले मुक्त कमलरीहरुको अहिलेको अवस्था के छ ?

अहिलेको अवस्थामा मुक्तिपछि धेरै जसो बहिनीहरु कोही व्यवसायमा हुनुहुन्छ । कोही पढेर ठूलो पदमै हुनुहुन्छ । यसले के देखाउँछ भने कमलरीहरुले पनि अवसर पाए गर्न सक्छन् भन्ने उदाहरण छ । संविधानमा पनि धेरै राम्रा कुराहरु समेटिएका छन् । तर, त्यो अक्षरमै सिमित छ । कमलरी बस्दा कोही जलाएर मारिएका छन्, कोही झुण्डाइएर मारिएका छन्, कोही कुमारी आमा बनेका छन् । तर, ती जलाएर मार्नेहरुलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । कुमारी आमा बनेको बहिनीलाई न्याय छैन । झुण्डाएर मारिएकी बहिनीलाई न्याय छैन । जसले गर्दा हामी जस्तो पिछडिएको वर्गले न्याय पाउन सकिरहेका छैनौं । २०७० सालमा सिंहदरबार घेराऊ गर्दा राज्यबाट दमन भोग्यौं । प्रहरीबाट कुटियौं । त्यति बेला भएको १० बुदेँ सम्झौता, सम्झौतामा मात्रै सीमित बनेको छ । केही कुराहरु एकदमै राम्रो भएको छ । अहिले म संयुक्त राज्य अमेरिकामा छु । सरकारले २०७० सालमा कमलरी मुक्त देश घोषणा गर्यो । मानवअधिकारकर्मीहरुले राम्रो साथ दिनुभयो । त्यसले गर्दा अहिले म यहाँ छु । तर, यो प्रथालाई पूर्ण रुपमा मुक्त गर्नुभन्दा जीवितै राखेको अवस्था छ ।

अहिले पनि यो प्रथा कायमै छ ?

अहिले पनि विद्यमान नै छ । अस्ति भर्खरै समाचारमा आयो, प्रदेश सांसदले आफ्नो घरमा बालिका राख्नुभएको छ । भनेपछि त्यस्तो व्यक्तिहरुलाई अहिलेसम्म राजनीतिले किन संरक्षण गरिरहेको छ ?यो गैरकानुनी कामलाई पनि राजनीतिले संरक्षण गरेको देखिन्छ । यो एकदमै लज्जास्पद छ । यो अन्याय हो ।

यो प्रथालाई लिएर विश्व समुदायबाट कसरी हेरेको पाउनुभएको छ ?

यो कमलरी प्रथा नेपालको थारु समुदायमा जोडिएको छ । विश्व समुदायलाई हेर्ने हो भने दास प्रथा छ । विश्वमा हेर्ने हो भने वर्ण छुट्टै छ । तर, नेपालमा त सबै उस्तै हो नि । उस्तै हुँदा खेरी म चाहीँ किन अन्यायमा परें ? यिनीहरु दास बन्न कै लागि जन्मिएका हुन् भन्ने स्थिति छ । यो न्यायसंगत होइन् । विश्वको कुरा गर्ने हो भने म एउटा देश वा एउटा समूदायमा सीमित बन्न चाहन्न । दास प्रथाको विरुद्धमा विश्वमै सकेसम्म आवाज उठाउने प्रयास गर्छु ।

यो अभियानमा कस्तो किसिमको सहयोगको अपेक्षा गर्नुहुन्छ ?

मैले जुन लडिरहेको मुद्धा छ, जसको म आवाज उठाइरहेकी छु । यो नेपाल र विशेष गरीः थारु समुदायको सीमित हो । यो मेरो कुनै व्यक्ति वा जातीसँगको लडाइँ होइन् । यो एकदम नितान्त दास प्रथा विरुद्धको लडाइँ हो । अब प्रणालीमा जानुपर्छ । नेपाल सरकारले पनि जरैदेखि निर्मुल पार्नुपर्छ । जुन हाम्रो १३ हजार जोडिएको मुक्त कमलरी विकास मञ्च छ, यसले मूर्त रुप लिदैँछ । हामी सल्लाह सुझावको अपेक्षा गर्दछौं । प्रथाको विरुद्धमा आवाज उठाएर सहयोग गरिदिनुहुन अपिल गर्दछु ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com