क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र पेश


प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडाका गभर्नर जनरल तथा कमाण्डर इन चीफ मेरी जे मे साइमन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओटावामा मंगलबार आयोजित समारोहमा पौड्यालले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेश गरेपछि राजदूत पौड्याललाई क्यानडाका गभर्नर जनरलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा राजदूत पौड्यालले क्यानडाका गभर्नर जनरललाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट गभर्नर जनरलको व्यक्तिगत सुस्वास्थ्यका साथै को क्यानडाका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना सन्देश सुनाउनुभएको थियो ।

राजदूत पौड्यालले गभर्नर जनरललाई नेपाल र क्यानडाबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको अवस्थाबारे अवगत गराउनुका साथै लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासका प्रयासलाई तीव्रता दिन नेपाल सरकारका प्रमुख प्राथमिकताहरूबारे बताउनुभएको थियो । उहाँले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र अतिकम विकसित मुलुक एलडीसीबाट नेपालको सहज र दिगो स्तरोन्नतिका लागि भइरहेको प्रयासबारे लाई पनि प्रकाश पार्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले बाङ्ग्लादेश र लाओससँगै नेपाललाई एलडीसीबाट स्तरोन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो। त्योसँगै नेपालले अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा उक्लनका लागि पाँच वर्षको सङ्क्रमणकालीन समय पाएको थियो । त्यस्तो समय सन् २०२६ मा सकिँदैछ। सङ्क्रमणकालमा संयुक्त राष्ट्रसङ्घले नेपालका विभिन्न सूचकाङ्कहरू अनुगमन गरिरहनेछ।

राजदूत पौड्यालले क्यानडा सरकारको निरन्तर सहयोगको प्रशंसा गर्दै द्विपक्षीय व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरण प्रवर्द्धन, लाभदायक आर्थिक साझेदारी जनताबीचको सम्बन्ध सुदृढ गर्न र आपसी सम्बन्धलाई अगाडि बढाउन क्यानडा सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्यानडाका लागि नेपाली राजदूतको रूपमा मान्यता पाएकोमा राजदूत पौड्याललाई बधाई दिँदै गभर्नर जनरलले नेपालको नेतृत्वलाई शुभकामना दिनुभयो। उहाँले द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन क्यानडा सरकारको पूर्ण सहयोग रहने आश्वासन दिँदै राजदूतको सफल कार्यकालको कामना गर्नुभयो ।

सो अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीहरु लगायत ग्लोबल अफेयर्स क्यानडाका प्रतिनिधिहरु र गभर्नर जनरलको कार्यालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । समारोहमा राजदूत पौड्यालको साथमा उहाँका धर्मपत्नी, परिवारका सदस्यहरू र ओटावास्थित नेपाली राजदूतावासका अधिकारीहरू पनि सहभागी रहेको दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com