एसाइलम गर्नेलाई फास्ट ट्रयाकमा वर्क परमिटको माग, नयाँ आउने नेपाली लगायतलाई टीपीएस दिन आग्रह
प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार
President Joe Biden talks on the phone with Canadian Prime Minister Justin Trudeau in the Oval Office of the White House, Wednesday, June 7, 2023, to talk about the Canadian wild fires and the smoke blanketing parts of the U.S. (Official White House Photo by Adam Schultz)
न्यूयोर्कमा श्रम र अध्यागमन अधिकार संगठनहरूको एक शक्तिशाली समूहले बाइडेन प्रशासनलाई एसाइलम खोज्ने आप्रवासीहरूको लागि अधिकार विस्तार गर्न आह्वान गरिरहेको छ । उनीहरुलाई फास्ट ट्रयाकमा वर्क परमिटको व्यवस्था गर्न आव्हान गरेको हो । जसले आश्रय प्रणाली ओभरफ्लो भइरहेको सन्दर्भमा सामाजिक सेवाहरूमा तनाव कम गर्न मद्दत गर्नसक्ने अपेक्षा गरिएको छ ।
युनियन र मानव अधिकारकर्मीहरूको गठबन्धनले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासलाई थप मानिसहरूलाई टीपीएस दिन आग्रह गरेको छ, जसले आप्रवासीहरूलाई अमेरिकामा कानुनी रूपमा लामो समयसम्म बस्न र काम गर्ने अनुमति दिने प्रावधान रहेको छ ।
अमेरिकामा एसाइलम आवेदन दिएकाहरुले वर्क परमिट प्राप्त गर्नका लागि कम्तिमा १८० दिन कुनुपर्छ । वर्क परमिट प्राप्त गर्नु अगाडि उनीहरूलाई सार्वजनिक सेवाहरूमा सीमित पहुँच हुनुका साथै उनीहरु र उनीहरुको परिवारलाई पाल्नका लागि काम गरेर कमाउनमा समस्या हुने गरेको छ । जसका कारण न्युयोर्कमा एसाइलम खोज्ने कैयन आप्रवासीहरू मिडटाउन म्यानहट्टनको सडकमा सुत्न बाध्य भएका छन् ।

गठबन्धनमा अफ्रिकन कम्युनिटी टुगेदर, मेक द रोड न्यूयोर्क र प्रोजेक्ट लाइटहाउस जस्ता संस्थाहरू सामेल छन्। समूहले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लींकेनलाई बोधार्थसहित होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासलाई एक पत्र पठाउदै खतराबाट भागेका आप्रवासीहरू थप मद्दत र अधिकारको हकदार भएको उल्लेख गरेको छ । उनीहरुबाट अमेरिकी श्रम बजारले पनि उल्लेखनीय लाभ उठाउन सक्ने पत्रमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत सरकारी नेताहरूसँग विकल्पहरू रहेको पत्रमा उल्लेख छ । भाग्यवश राष्ट्रपतिसँग टीपीएसको उपकरण रहेको र त्यसले नयाँ एसाइलम आवेदकलाई वर्क परमिटमा तुरुन्त पहुँच दिने पत्रमा उल्लेख छ । पत्रमा नेपाल एल साल्भाडोर, होन्डुरस र भेनेजुएला लगायतका १६ देशहरूका आप्रवासीहरूका लागि टीपीएस विस्तार गर्न अनुरोध गरिएको छ । पत्रमा बाइडेन प्रशासनलाई ग्वाटेमाला र कङ्गोलगायत धेरै देशहरूका नागरिकलाई टीपीएस प्रदान गर्न समेत आग्रह गरिएको छ ।

गत वर्षदेखि लगभग १ लाख शरण खोज्नेहरु न्युयोर्क सिटीमा मात्र आइपुगेका छन् । त्यसमध्ये ५७ हजार २ सय भन्दा बढी सिटीको हेरचाहमा छन्। मेयर एरिक एडम्स लगायतले हरेक दिन ५ सय भन्दा बढी एसाइलम खोज्ने आप्रवासीहरु आउँदा आश्रय प्रणाली भरिएको घोषणा गरेका छन् ।






