तीन सातामा ७ चलचित्र प्रदर्शनमा आउने,एकसाथ प्रदर्शन हुँदा घाटा कस्लाई ?


प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार

चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार भएको सो चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा हुनुहुन्छ । प्रेम र समर्पणमा आधारित उक्त चलचित्रलाई प्रदर्शन गर्ने समय वितरकसँगको छलफलपश्चात् तय गरिएको निर्देशक भण्डारीले बताउनुभयो । “अहिले समय पाउनै मुस्किल छ”, उहाँले भन्नुभयो ।

यसैगरी चैत २४ गते चलचित्र ‘बहाव’ र ‘प्रसाद २’ प्रदर्शन हुँदैछन् । फोटो पत्रकार श्रीधर पौडेलको निर्माण तथा प्रमोद कँडेलको निर्देशन रहेको ‘बहाव’ मा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गर्नुभएको छ । जिज्ञासा, विचार अनि यथार्थको कथालाई प्रमुख विषय बनाइएको चलचित्र ‘बहाव’ कलात्मक रहेको निर्देशक कँडेलले जानकारी दिनुभयो । “चलचित्र पूर्णरूपमा व्यावसायिक भए पनि यसको प्रस्तुतीकरण भने कलात्मक छ”, उहाँले भन्नुभयो ।

सोही समयमा प्रदर्शन हुने चलचित्र ‘प्रसाद २’लाई सुभाष थापाले निर्माण गर्नुभएको हो । उहाँले चलचित्रको काम सकिएकाले चैतको अन्तिम साता प्रदर्शन तय गरिएको जानकारी दिनुभयो । “वैशाख १ गते प्रदर्शन गर्ने घोषणा गरेका थियौँ । यद्दपि उक्त समयमा धेरै चलचित्र भएपछि एकहप्ता अगाडि नै प्रदर्शन गर्दैछौँ”, निर्माता थापाले भन्नुभयो, “प्रसादको दोस्रो शृङ्खला भए पनि कथावस्तु फरक छ । गाउँको परिवेशमा पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तुमा आधारित छ ।”

सुशील पौडेलको लेखन रहेको चलचित्र ‘प्रसाद २’लाई सुदर्शन थापाले निर्देशन गर्नुभएको हो । यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल, विशाल पहाडीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगामी वैशाख १ गते व्यापार राम्रो हुने आशाले चार चलचित्र प्रदर्शन हुँदैछन् । ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन गर्ने घोषणा गरेर निर्माण पक्षले प्रचारप्रसार गरिरहेका छन् । ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारीलगायतले अभिनय गर्नुभएको छ ।

“प्रेमकथा कै निरन्तरता पाउनु हनेछ । दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो । सोही समयमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र ‘बिहे पास’ र ‘जारी’ एकसाथ प्रदर्शन हुँदैछन् ।

लिम्बू समुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको सो चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गर्नुभएको छ ।

सोही समयमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’ मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गर्नुभएको छ । प्रवेश पौडेलको निर्देशक रहेको उक्त चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु समावेश गरिएको छ ।

यस्तै, वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गर्नुभएको हो । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले यसमा अभिनय गर्नुभएको छ । नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताउनुभयो ।

“एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ । बिदालाई लक्षित गर्दै दुई चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ”, उहाँले भन्नुभयो, “यसबारे सम्बन्धित संस्थाले सोच्नै पर्छ । यही क्रम रहने हो भने आगामी दिन झनै मुस्किल हुनेछन् ।” यस अगाडि नयाँ वर्षमा दुई वा तीनसम्म चलचित्र प्रदर्शन भइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com