सुस्त श्रवण भएका व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या


प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार

कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम दमौलीबाट दुई किलोमिटर दूरीमा रहेको उक्त विद्यालयमा सुस्त श्रवण भएको व्यक्ति अध्ययन गर्छन् ।

तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती विद्यार्थी उक्त विद्यालयमा आवासीयरूपमा बसेर अध्ययन गर्दै आएका छन् । ती विद्यार्थीलाई बस्ने, खाने व्यवस्था सरकारले गर्दै आएको छ । तर पनि विद्यालयलाई आर्थिक समस्या पर्दै आएको छ ।

विसं २०६५ मा प्रतिविद्यार्थी रु चार हजार दिने गरिएकामा हालसम्म पनि रकम वृद्धि नहुँदा समस्या हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेत बताउनुहुन्छ । “१४ वर्ष पहिला जति रकम विद्यार्थीका लागि दिइन्थ्यो, अहिलेसम्म पनि सोही रकम हुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ”, बस्नेतले भन्नुभयो, “तर जसोतसो व्यवस्थापन गर्नुको विकल्प पनि छैन ।”

सरकारले सुस्त श्रवण भएको व्यक्तिका लागि मासिक प्रतिविद्यार्थी रु चार हजारका दरले रकम उपलब्ध गराउने गरेको छ । उक्त रकमबाट विद्यार्थीका लागि खाना, पोशाक, सरसफाइ, टेलिभिजन, इन्टरनेट, बिजुली, पानीको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“चौध वर्षसम्म एउटै रकम हुँदा अप्ठ्यारो छ, सरसामानको मूल्यवृद्धि छ”, बस्नेत भन्नुहुन्छ, “हाल विद्यालयको मुख्य समस्या नै यहीँ हो । त्यति न्यून रकममा विद्यार्थी व्यवस्थापन गर्नुपरेको छ ।”

यस विषयमा सरोकारवाला निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बस्नेतको गुनासो छ । “राज्यले यो समस्या समाधानमा ध्यानै दिएन, धेरैपटक सरोकारवाला निकाय गुहारिसक्यौँ, कतैबाट सम्बोधन हुँदैन”, बस्नेतले भन्नुभयो ।

कक्षा १ देखि ५ सम्म सञ्चालित उक्त विद्यालयमा २८ विद्यार्थी छन् । त्यसमध्ये नौ छात्रा र १९ छात्र छन् । कक्षा १ मा पाँच छात्रा र सात छात्र, कक्षा २ मा एक छात्रा र चार छात्र, कक्षा ३ मा चार छात्र, कक्षा ४ मा दुई छात्रा र एक छात्र र कक्षा ५ मा एक छात्रा र तीन छात्र अध्ययनरत छन् । ती विद्यार्थी बस्नका लागि विद्यालय आडैमा आवासगृह भवन निर्माण गरिएको छ ।

छ वर्ष अगाडि पाहार ट्रष्ट नेपाल नामक संस्थाले आवासगृह भवन निर्माण गरिदिएको थियो । उक्त भवनमा ४० जनासम्म विद्यार्थी राख्न सकिने विद्यालयका प्रधानाध्यापक भैरव पन्थ बताउनुहुन्छ ।

अठ्ठाइस जना विद्यार्थीका लागि १० महिनावापतको रकम विद्यालयमा आउँछ । सोही रकमबाट विद्यार्थीको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । महिनामा दुईपटक मासु र हप्तामा एकपटक अण्डाको व्यवस्था गरिएको छ । विद्यालयमा भौतिक सुविधा राम्रो रहे पनि विद्यार्थीको आर्थिक पाटोका कारण समस्या हुने गरेको प्रधानाध्यापक पन्थले बताउनुभयो ।

व्यास नगरपालिका–१ का वडा सदस्यसमेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले यस विषयमा स्थानीय सरकार व्यास नगरपालिकामा कुरा उठाउने गरे पनि सम्बोधन नभएको गुनासो गर्नुहुन्छ । “म आफैँ स्थानीय सरकारको प्रतिनिधित्व हुँ, नगरप्रमुखसँग यस विषयमा धेरैपटक कुरा गरिसकेँ, सुनुवाइ हुँदैन”, बस्नेतले भन्नुभयो, “भवन निर्माण, भान्साकोठा व्यवस्थापनका लागि पनि नगरपालिकाको तर्फबाट बजेट आउँछ ।” यही वर्ष व्यास नगरपालिकाको रु तीन लाख सहयोगमा भान्साकोठा निर्माण गरिएको छ ।

कक्षा ५ उत्तीर्ण भएपछि यहाँका विद्यार्थी पोखरा, गोरखा, बागलुङ जाने गरेका छन् । गत शैक्षिकसत्रमा यहाँबाट तीन विद्यार्थी अन्यत्र गएका छन् । विद्यालयमा प्रधानाध्यापकसहित पाँच शिक्षक छन् । त्यसमध्ये दुई पूण तथा एक आंशिक सुस्त श्रवण भएको व्यक्ति र एक जना दोभाषे शिक्षक कार्यरत छन् । शिक्षकमध्ये एक स्थायी रहेको र बाँकी चार जना करारमा रहेको विद्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयमा चार सहयोगी कर्मचारी छन् । ती कर्मचारीको मासिक तलब पनि न्यून छ । मासिक रु १३ हजार चार सय ५० तलबमा उनीहरूले काम गर्दै आएका छन् । विसंं २०५२ मा खरीस्वाँरा प्राथमिक विद्यालयका रूपमा सञ्चालित विद्यालयलाई विसं २०५२ मा स्थानीय मिश्र परिवारले एक रोपनी जग्गा दिएपछि उक्त विद्यालय गङ्गादत्त प्राविमा रुपान्तरण भएको थियो ।

सोही ठाउँका खड्गबहादुर दाहाल र सीता दाहालले माइला छोरा स्व बुद्धसागर दाहालको स्मृतिमा विद्यालय भवन निर्माणका लागि विसं २०५६ मा जग्गा दान दिनुभएको थियो । स्व दाहाल भारतीय सेनामा रहँदा विसं २०५५ फागुन ११ गते जागिरकै सिलसिलामा मृत्यु भएको थियो । दाहाल परिवारले छोराको स्मृतिमा एक रोपनी आठ आना जग्गा र रु १० लाख सहयोग गरेका थियो ।

त्यतिबेला बुद्ध दाहाल प्राथमिक विद्यालयको रूपमा सञ्चालित यस विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि विसं २०७१ मा जलदेवी माध्यमिक विद्यालयमा गाभिएको थियो । जलदेवी माध्यमिक विद्यालयमा चारवटा स्रोत केन्द्रमार्फत सुस्त श्रवण भएको व्यक्ति अध्ययन गर्दै आएका थिए । विसं २०७४ असारबाट भने बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयको रूपमा हालसम्म सञ्चालित छ । त्यतिबेला विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com