मुस्ताङका किसान भन्छन्,‛हावा चल्छ हिउँ पर्दैन, खेती कसरी हुन्छ ?’


प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार

“हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन ।

गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ । हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताउनुभयो । हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उहाँको भनाइ छ ।

घरपझोङ–२ मार्फाका दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गर्नुभयो । “चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ”, उहाँले भन्नुभयो, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिनुपर्ने अवस्था छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उहाँको भनाइ छ ।

थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षा नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन प्रभावित भएको छ । लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताउनुभयो । “यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन”, उहाँले सुनाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताउनुभयो । “स्याउको फूल फुल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ”, उहाँले भन्नुभयो ।

जौँ,, गहुँ, उवा छरिसकेका र आलु लगाउने तयारीमा रहेका किसानले हिमपात पर्खिरहेको बस्ताकोटीले बताउनुभयो । “माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ”, उहाँले भन्नुभयो, “यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ ।”

पछिल्लो समय मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उहाँले सुनाउनुभयो । मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुनसकेको छैन ।

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताउनुभयो । “बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्छ”, उहाँले भन्नुभयो ।

बाह्रैमास नहर र कुलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने प्रमुख रेग्मीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँले उल्लेख गर्नुभयो । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने उहाँको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताउनुभयो । आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उहाँको भनाइ छ ।

“गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था छ”, उहाँले भन्नुभयो, “यो बदली वर्षामा परिणत हुने सम्भावना भने छैन ।” हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ ।

“यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन”, मौसमविद् अधिकारीले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com