छैठौँ पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा


प्रकाशित मिति : पुस ६, २०७९ बुधबार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो ।

मतदानमा कुल ८९ मत खसेको थियो । त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गर्नुभएको कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको थियो । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल रहनुभएको थियो ।

सभापति देउवा यो सँगै छैठौँ पटक पार्टीको संसदीय दलको नेता बन्नुभएको छ । यस अघि उहाँ विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित हुनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कांग्रेस सभापति देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । उहाँ पार्टीको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित हुनुभएको थियो ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।

विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएको हो । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुनुहुन्छ । विसं २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।

विसं २०४८ मा गृहमन्त्री बन्नुभएका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएको छ । पहिलोपटक विसं २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएका देउवा विसं २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभएको थियो ।

सोही वर्ष असोज १८ गते उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभएपछि राजा ज्ञानेन्द्रले उहाँलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।

प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) लगायतको अवधारणा ल्याएर जनताको विश्वास जित्नुभएको थियो । उहाँकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस ९प्रजातान्त्रिक० को उहाँ सभापति बन्नुभएको थियो । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस ९प्रजातान्त्रिक० को एकतापछि उहाँ पार्टीको वरिष्ठ नेता हुनुभएको थियो । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उहाँ सभापतिमा निर्वाचित हुनुभएको थियो ।

सभापति एवं पार्टी संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार पहिलो पटक सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराउन सफल हुनुभएको थियो ।

सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । त्यसयता उहाँ नेतृत्वकै सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय तहको र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेशनलका उपाध्यक्ष उहाँ सन् २०१३ देखि पछिल्लो कार्यकालसम्म उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष रहनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com