टीपीएसमा तगारो : यसकारण नेपालीका आवेदन स्वीकृतिमा ढिलाई


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

 किशोर पन्थी / न्युयोर्क

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) का लागि आवेदन दिने अन्तिम म्याद सन् २०१५ को डिसेम्बर २१ सम्म थियो । अन्तिमपटक आवेदन दिएकाहरुको अवधि पनि आगामी जुलाई २१ म ठ्याक्कै सातमहिना पूरा हुँदैछ । तर त्यो भन्दा अगाडि आवेदन दिनेहरुको पनि टीपीएस स्वीकृतिमा ढिलाई भइरहेको छ भने पछिल्लो चरणमा आवेदन दिएका अधिकांश आवेदकहरु टीपीएसको फैसला कुर्दा कुर्दा हैरान भइसकेका छन् । अझै पनि हजारौं नेपाली आवेकहरु आफ्नो टीपीएस आवेदनको निर्णयको फैसला कुरेर बसिरहेका छन् ।

कतिको आवेदन स्वीकृत ?

नेपाल टीपीएसका लागि कुल १३ हजार ६ सय ७६ जनाले आवेदन दिएका थिए । तर उनीहरुमध्ये अधिकांशका आवेदन पेन्डिङ अवस्थामा रहेका छन् । जनवरीको मध्यसम्म झण्डै ३५ सयका आवेदन स्वीकृत भएकोमा त्यसपछि आवेदन स्वीकृत हुने क्रममा आएको ढिलाईसँगै युएससीआईएसले तथ्यांक प्रदान गर्न समेत अस्वीकार गरेको छ ।

युएससीआईएसका अधिकारीहरुले सर्वसाधारणको जानकारीका लागि टीपीएसका डाटाहरु जोडेर बस्न छाडेका छन् । युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकका अनुशार अन्य काममा व्यस्तताका कारण तथ्यांकमा काम गर्ने कर्मचारीहरुले टीपीएसका डाटाहरु तयार गर्न भ्याएका छैनन् । युएससीआईएसका अधिकारीहरु अन्य काममा व्यस्त भएका कारण नेपालीका टीपीएस आवेदनहरु स्वीकृतिमा ढिलाई भइरहेको छ ।

के मा व्यस्त छन् युएससीआईएसका अधिकारीहरु ?

अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा युएससीआइएसको व्यस्तता पनि बढ्ने गर्छ । अमेरिकी नागरिकताका लागि आवेदन दिएकामध्ये अधिकांशलाई चुनावमा मतदानमा सहभागी हुने अवशर प्रदान गर्नका लागि चुनाव भन्दा अगाडि नै नागरिकता प्रदान गरिसक्ने सरकारी अभियान चल्ने गर्छ । अहिले पनि नागरिकताका लागि आवेदन दिएकाहरुमध्ये अधिकांशलाई नागरिकता प्रदान गरेर चुनावमा मतदान गर्ने अवशर प्रदान गर्नमा युएससीआईएसका अधिकारीहरु व्यस्त रहेका छन् । यतिबेला अधिकांश युएससीआईएसका कर्मचारीहरु नागरिकताका आवेदन हेर्नमा नै व्यस्त रहेका छन् । नोभेम्बरभन्दा अगाडि नै नागरिकताका आवेदनबारे निर्णय गर्नमा उनीहरुको व्यस्तता बढेको न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र क्षेत्रीको अनुभव रहेको छ ।

अहिले युएससीआईएसले अमेरिकाभर धमाधम नागरिकता प्रदान गर्ने सेरोमोनीहरु गरिरहेको छ । अर्थ अमेरिकाको जन्मदिन चार जुलाईको आसपासमा त युएसएससीआईएसले झण्डै सम्पूर्ण रुपमा नै नागरिकता प्रदान गर्ने काममा नै व्यस्त रहेको थियो । जुलाई ४ को अवशरमा अमेरिकाभर ७ हजार नयाँ नागरिकहरुलाई सपथ ग्रहण गराइएको थियो, जसका लागि जुन ३० देखि जुलाई ४ सम्म अमेरिकाभर झण्डै १ सयवटा कार्यक्रमहरु गरिएको थियो ।

विश्वभरका २ सय २३ वटा स्थानमा युएससीआईएसका कार्यालयहरु रहेका छन् । जसमा १९ हजार कर्मचारी र ठेकेदारहरुले काम गर्छन् । १९ हजार कर्मचारीहरुमध्ये आवेदनहरु हेरेर त्यसबारे फैसला गर्ने कर्मचारीको संख्या अझ कम छ । युएससीआईएसका अनुशार हरेक बर्ष झण्डै ६० लाख आवेदनहरु पर्ने गर्छन् । जसमा अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायत विविध प्रकारका आवेदनहरु हुने गर्छन् । अमेरिकी नागरिकताका लागिमात्र बर्षेनी लाखौंले आवेदन दिने गर्छन् । गत जनवरीदेखि मार्चसम्मको अवधि हेर्दामात्र २ लाख ५२ हजार २ सय ५४ जनाले अमेरिकी नागरिकताका लागि आवेदन दिएका थिए । अप्रिलदेखि जुनसम्म आवेदन दिनेहरुको संख्या पनि उत्तिकै रहेको छ । अहिले युएससीआईएसका अधिकारीहरुलाई अक्टोबर अगाडि नै उनीहरुलाई नागरिकताप्रदान गर्नमा भ्याई नभ्याई रहेको छ । त्यो बाहेक अन्य प्रकारका आवेदनको कार्यभार त छँदैछ ।

फैसलामा ढिलाई हुँदा पूर्ण फाइदा लिनबाट वञ्चित
युएससीआईएसले टीपीएसको आवेदन फैसलामा ढिलाई गर्दा नेपाली आवेदकहरु टीपीएसको पूर्ण फाइदा लिनबाट वञ्चित भएका छन् । माभ्नी कार्यक्रममार्फत अमेरिकी सेनामा प्रवेश गर्ने लगायतका विशेष सुविधाहरु प्राप्त गर्नका लागि टीपीएस पूर्णरुपमा स्वीकृत भएको हुनुपर्छ ।

सन् २०१५ को जुन २४ देखि लागु हुने गरी सन् २०१६ को डिसेम्बर २६ सम्मका लागि अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जामा राखेकाले टीपीएसका लागि आवेदन दिएका व्यक्तिले आवेदनबारे फैसला नआएपनि त्यो अवधिसम्मका अमेरिकामा कुनै डिपोर्टेशनको डरबिना मज्जाले काम गर्न पाउँछ । आवेदन पेन्डिङ रहेकै अवस्थामा पनि आवेदकले अमेरिकामा काम गर्नका लागि वर्क परमिट मात्र पाउने होइन, अमेरिकाबाहिर यात्रा गरेर फर्कन पाउनेसम्मको सुविधा पाउनसक्छ ।

यदि कुनै व्यक्तिको टीपीएस स्वीकृत भएको छैन तर उसले अमेरिकाबाहिर यात्रा गर्नका लागि एड्भान्स पेरोल अर्थात यात्रा अनुमतिपत्र पाएको छ भने उसले ढुक्कसँग अमेरिकाबाहिर गएर आउन सक्दैन । यदि ऊ बाहिरै रहेको अवस्थामा टीपीएस अस्वीकृत भएमा त्यस्तो व्यक्ति अमेरिका प्रवेशमा समस्या हुनसक्ने कानुन व्यवसायी खगेन्द्र जीसी बताउनुहुन्छ ।

यदि कुनै व्यक्ति अमेरिकामा गैरकानुनी हिसाबले बसेको छ भने त्यस्ता व्यक्तिले यात्राका लागि अनुमतिपत्रको आवेदन दिनु अगाडि कानुनी सल्लाह दिनका लागि मान्यताप्राप्त व्यक्ति वा संस्थाबाट कानुनी सल्लाह लिनुपर्ने युएससीआईएसले जनाएको छ ।

टीपीएसपछि अमेरिकामा रहेका नेपाली

अमेरिकी सरकारले नेपालीलाई अस्थायी अध्यागमन सुविधा अर्थात् टीपीएसका लागि योग्य ठानेपछि अमेरिकामा वर्क परमिट नभएका जुनसुकै भिसा स्टेटसका रहेका नेपालीहरु पनि वर्क परमिट प्राप्त गरेर कानुनी हिसाबले ढुक्कसँग काम गरिरहेका छन् । टीपीएसप्राप्त गरिसकेपछि कैयन नेपालीहरु एड्भान्स परोल अर्थात् यात्राअनुमतिपत्र प्राप्त गरेर नेपाल पुगेर आफ्ना परिवारलाई भेटेर समेत फर्किसकेका छन् । विद्यार्थी, पर्यटक वा अन्य भिसामा रहेका कैयन नेपालीहरुले पनि टीपीएसमार्फत वर्क परमिट लिएर काम गरिरहेका छन् । टीपीएस स्वीकृत भएको व्यक्तिलाई अमेरिकाबाट डिपोर्ट गर्न वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन स्टेटसका आधारमा थुन्न नपाइने भएकाले इमिग्रेशन मुद्दामा जेल परेकाहरुपनि पनि बाहिर निस्केर काम गरिरहेका छन् ।

यदि कोही व्यक्ति अमेरिकामा गैरकानुनी रुपमा छिरेर बसिरहेको छ भने वा भिसा भन्दा लामो समयसम्म बसिरहेको छ भने उसले टीपीएसमार्फत वर्क परमिटका लागि आवेदन दिन र वर्क परमिट पाउनसक्ने भएकाले त्यस्ता व्यक्तिले पनि टीपीएसबाट फाइदा लिइरहेका छन् । उनीहरुको टीपीएस स्वीकृत भएमा अमेरिकामा उसको गैरकानुनी उपस्थीतिको गणना पनि टीपीएस स्वीकृत भएको बिन्दुमा रोकिन्छ । कुनै पनि व्यक्ति अमेरिकामा ६ महिनाभन्दा लामोसमय भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई तीनवर्षसम्म अमेरिका प्रवेसमा रोक लाग्न सक्छ भने कुनै व्यक्ति अमेरिकामा १ वर्षभन्दा धेरै भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई अमेरिका पुन प्रवेशमा १० वर्षसम्मको बार लाग्नसक्छ । तर टीपीएस स्वीकृत भएको कोही व्यक्ति भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसेको खण्डमा उसको बसाई टीपीएस अवधिभरको बसाईलाई गणना गरिदैन ।

सिधा नागरिकता पाउनसक्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ डिफेन्सको विशेष कार्यक्रमका लागि टीपीएस प्राप्त व्यक्तिलाई समेत योग्य ठहराइएको छ, जुन कार्यक्रममा छानिने टीपीएस प्राप्त व्यक्तिले केही महिनामा नै सिधै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।

मिल्ट्री एक्सेसन्स भाइटल टु नेशनल इन्ट्रेस्ट अर्थात (माभ्नी) कार्यक्रम अन्तरगत अमेरिकामा ग्रिनकार्ड प्राप्त नगरेका तर भिसाको स्टाटस नगुमाएकाहरुलाई उनीहरुको क्षमता मुलुकका हितका लागि महत्वपूर्ण रहने भन्दै रक्षामन्त्रालय अन्तरगतको सैन्य सेवामा प्रवेश दिइन्छ । केही निश्चित भाषा जानेकाहरु वा स्वास्थ्य सेवामा काम गरेकाहरुले यस्तो अवशर प्राप्त गर्न सक्छन् । तोकिएका केही निश्चित भाषाहरुमा नेपाली भाषा पनि एउटा भएकाले नेपाली भाषा जानेको व्यक्ति यो कार्यक्रमबाट लाभान्वित हुन सक्छ । हालका लागि यो कार्यक्रम सन् २०१६ को सेप्टेम्बरसम्मका लागि रहेको छ । तर कैयन नेपालीहरुको टीपीएस स्वीकृतिमा ढिलाई भएका कारण उनीहरुले यो सुविधा उपभोग गर्न पाएका छैनन् ।

यो कार्यक्रम अन्तरगत पूर्णकालिन वा अल्पकालिन रुपमा अमेरिकाको सैन्य सेवामा प्रवेश गर्नेहरुले ग्रिनकार्ड विना नै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा प्रवेश गर्ने व्यक्तिले अमेरिकी सेना र उनीहरुका परिवारलाई स्वास्थ्यसेवा दिनका लागि खटिनुपर्छ । यो कार्यक्रम अन्तरगत अमेरिकाको सैन्य सेवामा प्रवेश गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले भर्ती अधिकृतलाई भेट्नुपर्छ । त्यसपछि भर्ती हुने व्यक्तिसँग अन्तरवार्ता लिनुका साथै उसको योग्यता जाँचिन्छ । स्वास्थ्य परिक्षण र पृष्ठूभूमी जाँच गरिसकेपछि कुनै व्यक्तिलाई भर्ती गर्ने वा नगर्ने निर्णय लिइन्छ । अमेरिकी सेनाका बटालियन सर्जेन्ट मेजर डानियल मर्फी र अमेरिकी सेनाका क्याप्टेन डेभिड भिलारोलका अनुशार सुरुदेखि भर्तीहुँदासम्म झण्डै ६ महिनाको अवधि लाग्छ । त्यसपछि झण्डै १० हप्ताको आधारभूत तालिमपछि सबैलाई अमेरिकी नागरिकता प्रदान गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । अर्थात् भर्ति भइसकेपछिको झण्डै तीनमहिनामा अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । जतिबेलासम्म आधारभूत तालिम समाप्त भइसकेको छ । केही व्यक्तिको हकमा भने यो अवधि थोरै लम्बिनसमेत सक्छ ।

थपिएला टीपीएसको अवधि ?

नेपाललाई टीपीएसका दर्जा प्रदान गराउन गतबर्ष धेरै नेपाली संघसंस्थाहरुले आवाज उठाएका थिए । तर टीपीएसको अवधि सकिन ६ महिनामात्र बाँकी रहँदा टीपीएसको अवधि थपाउनका लागि भने नेपाली संघसंस्थाहरु सकृय भएको देखिन्न । अमेरिकी सरकारले टीपीएसको अवधि स्वत थप्ने सम्भावना उच्च रहेपनि ग्यारेन्टी भने छैन । त्यसैले टीपीएसको अवधि थप गराउनका लागि अमेरिकामा रहेका नेपालीहरुका सामाजिक संघ संस्थाहरुले अहिलेदेखि नै आवाज उठाउन थाल्नुपर्ने भनाई छ कानुन व्यवसायी खगेन्द्र जीसीको ।

टीपीएस प्रदान गरेका अधिकांश देशहरुको हकमा अमेरिकाले टीपीएसको अवधी लम्बाउने गरेको इतिहास छ । नेपालको हकमा पनि यो अवधि लम्बिने आशा गर्न सकिएपनि ढुक्क भएर बस्ने अवस्था नरहेकाले यसबारेमा अमेरिकी राजनीतिज्ञहरुलाई दवाव दिनेदेखि विभिन्न प्रकारका कार्यक्रमहरु गर्न जरुरी रहेको छ । नत्र टीपीएसको अवधि नथपिएमा १३ हजार भन्दा धेरै नेपालीहरुको भविश्य फेरी अन्यौलतिर धकेलिनेछ ।



टीपीएसको अवधि लम्बाउन अभियान थाल्ने बेला भइसक्यो – खगेन्द्र जीसी, कानुन व्यवसायी

 

टीपीएस आवेदनहरु अत्यन्तै ढिलो स्वीकृत भइरहेको अवस्था छ । तपाईको अनुभव कस्तो छ ?

टीपीएस आवेदन स्वीकृतिमा ढिलाई भइरहेको कुरा सत्य हो । धेरै आवेदकहरुका आवेदनहरु अहिले पेन्डिङमा रहेका छन् । टीपीएसको अवधि सकिन अब झण्डै ६ महिनामात्र बाँकी छ । जसले गर्दा अन्यौलको अवस्था पनि सृजना भएको छ । एकैपरिवारका एकैपटक दिएका आवेदनमा पनि बाबुको स्वीकृत हुने, छोराको पेन्डिङमा रहने अवस्था आएको छ । परिवारका एउटा सदस्यको हुने अर्काको बारेमा निर्णय आउन बाँकी रहने अवस्था छ ।

तपाईहरुको कानुनी कार्यालयको अनुभवमा टीपीएस स्वीकृत हुन कति समय लागेको अवस्था छ ?

सुरुसुरुमा फाइल गरेका प्रायजसो टीपीएस आवेदनहरु स्वीकृत भइसकेका छन् । तर पछिल्लो चरणमा दिएका आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् । पछिल्लो चरणमा फाइल गरेका कतिपय आवेदनहरु स्वीकृत भएपनि अधिकांश पेन्डिङ अवस्थामा नै रहेका छन् ।

टीपीएसको अवधि जम्मा ६ महिनामात्र बाँकी रहेको अवस्थामा आवेदनहरु पेन्डिङ अवस्थामा रहँदा आवेदकले टीपीएसबाट पूर्णरुपमा फाइदा लिन नपाएको अवस्था छ नि त ?

पूर्णरुपमा फाइदा लिन नसकेको अवस्था छ । किनभने माभ्नी कार्यक्रममाफर्त अमेरिकी सेनामा जान वा अन्य त्यस्तै प्रकारका सुविधा लिनका लागि टीपीएस पूर्णरुपमा स्वीकृत भएको हुनुपर्छ । तर अमेरिकामा बस्न र काम गर्न भने टीपीएस पूर्ण रुपमा स्वीकृत नभएपनि कुनै अप्ठ्यारो छैन । टीपीएस पूर्णरुपमा स्वीकृत नभएकाहरुले पनि वर्क परमिट भने पाइसकेका छन् । उनीहरुले अमेरिकामा ढुक्कसँग काम गर्न सक्छन् । त्यस्तै टीपीएस पेन्डिङ रहेको अवस्थामा पनि कतिपयले अमेरिका बाहिर गएर आउन पाउने एडभान्स परोल पाएका छन् । तर पूर्णरुपमा टीपीएस स्वीकृत नहुँदै ट्राभल डकुमेन्ट लिएर अमेरिकाबाहिर जाने मान्छेहरुमाथि डरको वातावरण सृजना भएको छ । उनीहरु ढुक्कसँग अमेरिका बाहिर जान सकेका छैनन् । किनभने अमेरिका बाहिर गएको बेलामा यता टीपीएस अस्वीकृत भएमा पुन अमेरिकामा छिर्न नपाइने हो कि भन्ने उनीहरुमा डर छ । त्यो विषयमा केही भन्न सकिने अवस्था हुँदैन । राम्रो केसहरु स्वीकृत हुने भरोसामा मान्छेहरु अमेरिका बाहिर गएरपनि आएका छन् । तर कहिलेकाँही केस अस्वीकृत भएमा अमेरिका छिर्न नपाउने अवस्था आउन सक्छ ।

टीपीएस स्वीकृत हुनमा ढिलाई भइरहेकोबारे तपाईहरुले युएससीआईएससँग सोध्दा उनीहरुको जवाफ कस्तो हुने गरेको छ ?

उनीहरुले ढिलाई भइरहेकोबारे खास कारण खुलाउन चाहँदैनन् । तर अहिलेको अवस्था विश्लेषण गर्दा राष्ट्रपतीय चुनावका कारण टीपीएस आवेदन स्वीकृत हुनमा ढिलाई भएको देखिन्छ । किनभने अमेरिकी नागरिकताका लागि आवेदन दिएकाहरुलाई नागरिकता प्रदान गर्दै अमेरिकी चुनावमा मतदानमा सहभागी गराउनका लागि उनीहरुका केसमा धेरै कर्मचारीहरु खटिनुपर्ने अवस्था छ । युएससीआईएसका अधिकारीहरु नागरिकता प्रदान गर्नेमा व्यस्त भएकाले टीपीएसको काम गर्ने कर्मचारीको अभाव जस्तो देखिन्छ । चुनावका बेलामा धेरै आवेदकलाई नागरिकता प्रदान गर्नेमा प्राथमिकता दिने नीति पहिलेदेखिकै हो ।

डिसेम्बरमा नेपाल टीपीएसको अवधि सकिदैछ । लम्बिने सम्भावना कत्तिको छ ?

अन्य देशको अवस्था हेर्दा अमेरिकाले टीपीएसको अवधि लम्बाउने गरेको छ । नेपालको सन्दर्भमा नलम्बाउनुपर्ने कुनै कारण देखिन्न । नेपाली समुदायका व्यक्तिहरु अहिले यसबारेमा चुप देखिन्छन् । टीपीएस लम्बाउन सिनेटरहरुलाई पत्र लेख्ने लगायतका अभियानहरु चलाउन जरुरी छ । समुदायका व्यक्तिहरुले सामुहिक रुपमा त्यस्ता अभियान सुरु गर्नुपर्ने बेला भइसकेको छ । त्यसो भएमा टीपीएसको अवधि लम्बिन सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com