सेनाको नेतृत्वमा चुरे क्षेत्रमा १६ हजार वृक्षारोपण


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

– श्यामसुन्दर शश

असार २६, २०७४- राजनीतिक परिवर्तनको आडमा पटक पटक भएको वन फडानीको कारण उजाड  बनेको चुरे क्षेत्रलाई पुनः हरियो बनाउन नेपाली सेनाको सप्ताहव्यापी अभियान अन्तर्गत विभिन्न जातका १५ हजार बढि रुख रोपिएका छन् । चुरेको भिरालो जग्गामा विभिन्न जातका विरुवाको १० किलो विजारोपण समेत गरिएको छ ।

महेन्द्रनगर स्थित गोरखनाथ गणका गणपति खेमराज शर्माका अनुसार चुरे क्षेत्रका १० हेक्टर जग्गामा टिक, मसला, जामुन, गोल्डमोहर, म्याङ्गोस्टीक, सतिसाल, शिरिष, खयरलगायतका १५ हजार ८ सय विरुवा वृक्षारोपन गरिएको छ भने भिरालो जग्गामा ५ किलो खयर र ५ किलो बबूलको विजारोपण गरिएको हो ।

जिल्ला वन कार्यालय धनुषाको सहयोगमा महेन्द्रनगरस्थित गोरखनाथ गणले सञ्चालन गरेको ‘गो ग्रीन क्याम्पेन’ अन्तर्गत गणेशमान–चारनाथ नगरपालिका–१ को तीनतल्लेस्थित चुरे क्षेत्रमा गत बुधवारदेखि सञ्चालित यो अभियान सोमवार विधिवत भयो । अभियानमा स्थानीय नागरिक, शिक्षक, विद्यार्थी, कर्मचारी, सेना, प्रहरी, सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार दशक अघिसम्म साखु, सिसौ, खयर, कर्मा, जामुन, सतिसाल, साल, सिमललगायतका वहुमूल्य रुख विरुवाले ढाकिएको चुरे क्षेत्र अचेल उजाड छ । जंगल फडानीको कारण नाङ्गो बनेको चुरे पर्वत श्रृंखलाको भू–स्खलन (भू–कटान) तिव्र छ । चुरे पर्वतको वालुवा, गिटी, ढुङ्गा बर्षेनी चारनाथ खोलामा थुप्रिंदै छ । नदीको स्तर निरन्तर उभो लाग्दैछ । पानीको मुहान सुक्दैछ ।

गणेशमान–चारनाथ नगरपालिका–१ छघरियाका ७५ वर्षीय रामश्री यादवले भने, ‘चार दशक अघिसम्म चारनाथ खोला माथिको सम्पूर्ण डाँडा हरियो थियो । यहाँ विभिन्न जातिका रुख विरुवा, वनस्पतिका साथै हाती, वाघ, चितुवा, हरिनलगायतका जनावरहरु पनि पाइन्थे । चुरे क्षेत्रमा दिनमा आउँन पनि मानिसहरु डराउँथे ।’

मुलुकमा पटक पटक भएको राजनीतिक परिवर्तनको राम्रो प्रभाव जे सुकै भएपनि यसको दुष्प्रभाव भने चुरे वनले वेहोरेको बताइन्छ । २०३६ सालको जनमत संग्रह ताका निर्दलीय व्यवस्थाको पक्षमा जनमत बनाउन चुरेको वन फडानी गराइएको थियो । २०४६ सालको जनआन्दोलनको क्रममा पनि चुरे फडानी भएको थियो । १० वर्षे माओवादी सशस्त्र युद्धको बेला पनि चुरे फडानी तिव्र बनाइएको थियो । २०६२/०६३ को दोश्रो जनआन्दोलन ताका वन तस्करहरुले उत्पात नै मचाएका थिए । हतियारसहित वन फडानी गर्न आउने वन तस्करहरुले स्थानीय वन रक्षकहरुलाई हत्या समेत गरेको इतिहास छ ।

स्थानीय भिमनाथ पाठामगरका अनुसार २०६३ सालमा चुरे वन सुरक्षाको उद्देश्यले जिल्ला वन कार्यालय धनुषाको सहयोगमा स्थानीयवासीले ‘चुरेवन संरक्षण समिति’बनाएका थिए । संरक्षण समितिका सदस्यहरु राति जाग्राम बसेर वन रक्षा गर्थे । यसक्रममा सशस्त्र वन तस्कर तथा स्थानीयवासी बीच भएको भिडन्तमा एक वन तस्करसंगै स्थानीय रामजुलुम यादव र जुगेश्वर यादवको मृत्यु भएको थियो ।

माओवादी खुला राजनीतिमा आएपछि चुरे वन अतिक्रमण झन तिव्र भयो । आफूलाई माओवादी भन्ने सिन्धुली, रामेछाप, उदयपुर, काभ्रेलगायतका झण्डै एक हजार परिवार चुरे वन फडानी गरेर घरजम गरेका थिए ।

राजनीतिक आवरणमा चुरेको सात सय हेक्टर जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर तथा खेत खाली गराउन स्थानीयवासी तथा जिल्ला वन कार्यालयलाई हम्मे परेको थियो । जिल्ला वन कार्यालय धनुषाका अधिकृत सुरेश शर्मा भन्छन्, ‘उक्त जग्गा खाली गराउन झण्डै ७२ राउण्ड गोली चलाउनु परेको थियो । चुरे अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरुमा आगो लगाइएको थियो ।

तर, चुरे वनक्षेत्रको १९ सय विघा जग्गा नेपाली सेनाको भोगाधिकारमा आएयता चुरे वन कटानी भने रोकिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार हाल चुरे क्षेत्रको १३ सय विघा जग्गा ‘सैनिक फाइरिङ्ग रेञ्ज’ प्रयोजनको लागि तथा ६ सय विगहा जग्गा आर्टीलरी प्रयोजनको लागि प्रदान गरिएको छ । गणपति खेमराज जोशीका अनुसार चुरे क्षेत्रमा सेनाले तिनतल्ले सुरक्षा गुल्मको निर्माण समेत गरेको छ ।

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम अन्तर्गत दुई वर्ष अघि चुरेको उपल्लो क्षेत्रमा वृक्षारोपन गरिएको थियो । सेनाको तिनतल्ले गुल्म निर्माण भए यता उक्त रुखहरु पुनः हुर्किन थालेको छ । चुरे क्षेत्रलाई पुनः हरियो बनाउने सेनाको अभियानबाट स्थानीयवासी खुसी छन् । स्थानीय रामश्री यादवले भने, ‘पुनः चालिस वर्ष पुरानो चुरे वन हेर्न पाउँछु भने आशा जागेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com