बेलायतको मतगणना एकै रातमा कसरी सम्भव ?


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

जेष्ठ २७, २०७४- घोषणा भएको ५० दिनमै बेलायतको संसदीय निर्वाचन गत बिहीबार सम्पन्न भयो । प्रधानमन्त्री टेरेजा मेले ताजा जनादेश लिन भन्दै पदावधि सकिन तीन वर्ष बाँकी रहँदा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । आतंकवादको चपेटामा परेको बेलायतले सुरक्षा चुनौतीबीच निर्वाचन सम्पन्न गर्‍यो । बेलायती संसदमा ६५० सिटका लागि भएको उक्त निर्वाचनमा ४ करोड ६९ लाख योग्य मतदातामध्ये ७० प्रतिशतले देशभरका ४० हजार केन्द्रबाट मतदान गरे । यसवर्षको सहभागिता २५ वर्षयताकै सबैभन्दा धेरै भएको बेलायती मिडियाको विश्लेषण छ ।

राति १० बजे मतदान सकियो र बिहासम्म एक सिटको पुन: गणनाले ढिलाइ बाहेक लगभग सबै क्षेत्रको नतिजा आयो । कुन क्षेत्रले नतिजा पहिलोपटक सार्वजनिक गर्ने भन्ने प्रतिष्पर्धामा हाउटन एण्ड सन्डरल्याण्ड साउथको नतिजा एक घण्टा अर्थात राति ११ बजेभित्रै सार्वजनिक भएको थियो । राति एक बजेसम्म ५ निर्वाचन क्षेत्रका परिणाम आइसकेका थिए ।

यो निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । वर्तमान प्रधानमन्त्री मेको कन्जरभेटिभले ३१८, प्रतिपक्षी लेबर पार्टीले २६२, स्कटिस नेशनल पार्टीले ३५ र लिबरल डेमोक्रेटिक पार्टीले १२ सिट जिते । बेलायती संसदमा बहुमत हुन ३२६ सिट आवश्यक पर्ने भएपनि स्पष्ट बहुमत नआएपछि प्रधानमन्त्री मेले १० सिटमात्र जितेको नर्दन आयरल्याण्डको डेमोक्रेटिक यूनियनिष्ट पार्टी (डियूपी) संग मिलेर सरकार बनाउने कसरत थालेकी छन् ।

नेपालमा दुई दशकपछि घोषणा गरिएको स्थानीय निर्वाचनको दोश्रो चरण हुन अझै बाँकी छ । पहिलो चरणको निर्वाचन नतिजा (भरतपुरबाहेक) आउन हप्तौं लाग्यो । आखिर बेलायतमा त्यति छिटो मतगणना कसरी सम्भव छ ? बेलायतको निर्वाचनमा छिटो परिणाम आउनुका केही मुख्य कारण छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँ उम्मेदवार संख्या कम, मतपत्र सामान्य अनि स्पष्ट हुन्छ । यातायात सुविधाले निर्वाचन सकिएको करिब ३० मिनेट भित्र सबै मत पेटिका मत गणनास्थल आइपुग्छन् । पूर्व तयारीसहित जनशक्ति परिचालन अत्यधिक र विश्वासको भरमा काम गरिन्छ ।

यहाँ मतगणना छिटो हुनुमा पाँच कारण देख्छन् अन्तर्राष्ट्रिय  कानुनका प्राध्यापक एवं बेलायती परराष्ट्रमन्त्रीको सल्लाहकार समितिमा रहेर काम गरिसकेका डा. सूर्यप्रसाद सुवेदी । उनको बुझाइमा लामो समयको अभ्यास र परीक्षण भइसकेको प्रणाली लागू, थोरै उम्मेदवार, सानो र सामान्य मतपत्र, व्यवसायिक निर्वाचन अधिकृत वा रिटर्निङ अफिसर एवं शिक्षित मतदाताका कारण छिटो नतिजा आउँछ ।

बेलायतको संसदीय निर्वाचनमा लेबर पार्टीबाट उठेर पराजित पहिलो नेपाली मुलका उम्मेदवार डा. बच्चु कैलाश कैनीले यातायातको सुगमता, जनशक्ति, प्रभावकारी व्यवस्था, पूर्व तयारी र विश्वासलाई मुख्य कारण मानेका छन् ।

कैनीले निर्वाचनका दिन आफ्नो निर्वाचन क्षेत्रमा मत गन्न र निर्वाचन घोषणा गर्न करिब १०० जना कर्मचारी खटिएको बताए । ‘यहाँ पूर्ण तयारी, छिटो काम सक्नुपर्छ भन्ने मानसिकता तथा प्रभावकारी रुपमा जनशक्ति, श्रोत र साधनको परिचालन हुन्छ’, कैनी थप्छन्, ‘मत गन्ने दिनमा एक जना उम्मेदवारले १० जना एजेन्ट राख्न पाउँछन् । तर, सबै कर्मचारीको विश्वासमा काम हुन्छ । एजेन्टले कुनै कुरा हेर्नु पर्दैन । अर्को कुरा यहाँका कर्मचारी इमान्दार र भरपर्दाे हुन्छन् ।’

मतगणना स्थलमा एजेन्टका रुपमा सहभागी लक्ष्य गुरुङका अनुसार लामो टेबलमा एकातिर गणना गर्ने कर्मचारी र अर्कोतिर एजेन्ट बसेका हुन्छन् । सुरुमा सिल गरेर ल्याइएको ब्यालेट बक्समा भएको मतपत्र संख्या लेखिए बमोजिम ठीक छ छैन् रुजु गरिन्छ । दोश्रो चरणमा कुन पार्टी वा उम्मेदवारको हो छुटयाएर ट्रेमा राखिन्छ र तेश्रो चरणमा गणना गरिन्छ । गणना सकिएपछि पनि फेरि जाँचिन्छ ।

लन्डन बरो अफ बार्नेट क्षेत्रको गणनामा बसेका गुरुङले बिहान ६ बजे नतिजा घोषणा भइसकेको जनाए । उक्त क्षेत्रमा तीन
सांसदको २१ वडाका २१ वटै टेबल राखिएका थिए र एक टेबुलमा ६ जनाले मत गनेका थिए ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com