एक शताब्दीपछि धानखेत बगर बनेपछि……


प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार

कर्णाली/ मुखमा आएको गास खोसिएपछि तिला गाउँपालिका–४ जुम्लाका रामकृष्ण उपाध्याय यतिबेला निकै पीडामा हुनुहुन्छ । असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाले कात्तिक २ गते भीषण बाढी आयो । त्यसले उहाँको १० भारी धान मात्र क्षति भएन, खेत नै बगरमा परिणत भएको छ ।

सोही वडाका लालबहादुर सार्की र कर्णबहादुर हमालको घर नै बाढीले बगाउँदा उनीहरुको बिचल्ली भएको छ । तीन वर्षदेखि प्यारालाइसिस रोगले थलिएका कर्ण सुनारको कमाइ खाने खेतनै नदीमा परिणत भएपछि उहाँको परिवारमा ठूलो सन्ताप परेको छ । तातोपानी गाउँपालिका– ४ जुम्लाका देवीकृष्ण उपाध्यायको पनि धानखेत बगरमा परिणत भएका छन् ।

बाढीले तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि, वडा नं ७ को दुर्गा मावि मधु सुर्की सर्मी, ८ को कालिका मावि टोप्ला र तिला गाउँपालिका–४ नुवाकोटको सेतीवाडा मावि जुम्ला क्षतिग्रस्त बनाउँदा हाल त्यहाँको पठनपाठन ठप्प भएको छ । यसले बालबालिका र अभिभावक समस्यामा परेका छन् भने काठ र निर्माणाधीन झोलुङ्गे पुल बगाउँदा आवातजावत ठप्प भएको छ ।

तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका स्थानीय वीरबहादुर सिंहका अनुसार विसं १९८४ सालमा ठूलो क्षति भयो भन्ने सुनिएपनि यस्तो क्षति नभएको बताउनुभयो । “कात्तिक २ गतेको बाढीले गरेको क्षतिबाट धेरै घर परिवार सुकुम्बासी बन्ने अवस्था छ । वर्षभरिको मुख्यबाली धान सखाप परेपछि यो वर्ष भोकमरीले सताउने चिन्ता यहाँका नागरिकलाई बढेको छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही गाउँपालिका–४ नुवाकोट गाउँस्थित सेतीवाडा माविका शिक्षक यज्ञप्रसाद उपाध्यायले प्राकृतिक विपत्तिले करोडौँको क्षति गर्दा पनि सङ्घ र प्रदेश सरकार नपुगेको गुनासो गर्नुभयो । “बाढीले विद्यालय सञ्चालन गर्ने अवस्था छैन”, शिक्षक उपाध्यायले दुखेसो पोख्दै भन्नुभयो, “विद्युत्, घर, कुटानी, पिसानी मिल, पुल, स्याउ बगैँचा, पुर्खाले आर्जेको खेतीयोग्य जमिन सबै बगाएर लगेको छ । यस्तो पीडामा पनि माथिल्लो तहका सरकार नजिक आएका छैनन् ।”

स्थानीय गणेशकुमारी सिंहले यो वर्षको धानबाली बाढीले विनाश गरे पनि अर्को बाली लगाउला भन्ने आशा सकिएको बताउनुभयो । “बाढीले खेतमा मात्रै पुरेको भए पनि एक दुई वर्ष लगाएर खेत बनाउन सकिन्थ्यो होला”, सिंहले भन्नुभयो, “खेतमा नदी बगिरहेको छ, अब के गर्ने रु सरकारले हाम्रो दुःखमा सान्त्वना दिन पनि पुगेन ।”

यता जुम्ला ‘क’ बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले अविरल वर्षाका कारण जुम्ला जिल्लामा उत्पन्न विपद् व्यस्थापनार्थ राहत र विशेष पुनःस्थापना प्याकेज अविलम्ब कार्यान्वयन गर्न, कर्णाली लोकमार्गको अविलम्ब कालोपत्र गर्ने कार्यका लागि सङ्घीय सरकारलगायत सम्बद्ध निकायसँग आवश्यक पहल, समन्वय गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अनुरोध गरेको छ ।

जुम्लालगायत कर्णाली प्रदेशमा ई–टिकेट प्रणाली लागू गर्न, नियमित उडान भर्न, पारदर्शिता सुनिश्चित गर्न, हवाई क्षेत्रमा भइरहेको अनिमियतता रोक्न र जुम्लास्थित विमानस्थलको शीघ्र स्तरोन्नति गर्ने कार्य अगाडि बढाउनसमेत मुख्यमन्त्री शाहीको ध्यानाकर्षण गरेको प्रदेशसभा सदस्य भण्डारीले जानकारी दिनुभयो ।

वर्षाले दर्जनौँ घर भत्केका छन् । नदी किनारमा रहेका हजारौँ भारी खेतीयोग्य जमिन बाढीले बगर बनाएपछि अहिले यहाँका स्थानीयले पुर्पुरोमा हात राख्नुपरेको छ । दर्जनौँ काठका साँघु, स्याउ बगैँचा, सामुदायिक विद्यालय र खानेपानी, विद्युत् आयोजना बगाएर लगेको जुम्ला जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिनुभयो ।“हामीले बाढीले गरेको प्रारम्भिक क्षतिबारे स्थानीय सरकारसँगको समन्वय सहकार्यमा प्रदेश तथा सङ्घ सरकारलाई पठाइसकेका छौँ”, प्रमुख जिल्ला अधिकारी प्रसाईंले भन्नुभयो, “विस्तृत विवरणका लागि विषयगत कार्यालय, गैसस तथा सम्बन्धित सरोकारवाला सम्मिलित प्राविधिक टोली क्षतिग्रस्त ठाउमा परिचालन गरिएको छ ।”

कर्णाली प्रदेश सरकारको कात्तिक ५ गते बसेको विपद् परिषद्को बैठकले एक हप्ताभित्र अविरल वर्षाका कारण आएको बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट भएको सम्पूर्ण क्षति यकीन गरी पठाउन यहाँका १० वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । बाढी पहिरोलगायत प्राकृतिक विपद्का कारण मृत्यु भएका परिवारलाई विपद् जोखिम बिमा उपलब्ध गराउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिनुभयो ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com