२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

के नेपालले अनुरोध नगरेको भएपनि अमेरिकाले गर्ने भ्याक्सिन सहयोगको सुचीमा पर्न सम्भव थियो ?

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम अन्तरगत कुन कुन देशलाई भ्याक्सिन वितरण गर्ने भन्ने आफ्नै सुची छ । कोभ्याक्स कार्यक्रम अन्तरगत नेपालले आष्ट्राजेनेका भ्याक्सिन प्राप्त समेत गरिसकेको छ । थप भ्याक्सिन समेत प्राप्त गर्दैछ । तर अमेरिकाले बिहिबार विश्वका विभिन्न देशलाई २५ मिलियन डोज भ्याक्सिन दिने घोषणा कोभ्याक्ससँगको समन्वयले विभिन्न मापदण्डका आधारमा आफ्नै तजविजले गरेको बताएको छ ।

नेपाल लगायत विश्वका विभिन्न देशहरुलाई २५ मिलियन डोज भ्याक्सिन प्रदान गर्ने ह्वाइटहाउसको घोषणा लगत्तै आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले कुन कुन देशलाई भ्याक्सिन दिने भन्ने मापदण्ड तय गर्दा ती देशबाट आएका अनुरोधलाई समेत मुख्य आधार मानिएको बताएका छन् । देशबाट आएका अनुरोधपछि त्यहाँ महामारीको अवस्था लगायतका अन्य तत्वहरुको मूल्यांकन गरेर भ्याक्सिन सहयोग गर्ने देशहरुको सुची तय गरिएको उनले बताए ।

ज्याक सुलिभानले भने – ‘हामीले विश्वभरका विभिन्न देशबाट भ्याक्सिन सहायताका लागि अनुरोध प्राप्त गरेका छौं । हामीले २५ मिलियन डोज भ्याक्सिन कसरी छुट्यायौं भन्ने सन्दर्भमा कैयन महत्वपूर्ण तत्वहरु रहेका छन् । जसमा अमेरिकासँग भ्याक्सिनको अनुरोध गरेका सम्भव भएजति धेरै देशलाई सहयोग उपलब्ध गराउने योजना अनुरुप काम गरिएको थियो ।’

दक्षिण एसियाका अधिकांश मुलुकले अमेरिकाबाट भ्याक्सिन सहयोग प्राप्त गर्ने घोषणा हुँदा नेपालले अनुरोध नगरेको भएपनि स्वत प्राप्त गर्नसक्ने तर्क कतिपयले गरेका छन् । तर अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानको भनाईलाई आधार मान्दा नेपालले विशेष अनुरोध नगरेको भए कोभ्याक्सबाट पाउने सुविधा बाहेक अमेरिकाबाट तोकेरै भ्याक्सिन सहयोग गर्ने देशको सुचीमा नेपाल नपर्नपनि सक्ने अवस्था रहेको थियो । नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तान, बंगालादेश, श्रीलंका, मालदिभ्स लगायतका मुलुकले अमेरिकासँग भ्याक्सिनको अनुरोध गरेका थिए ।

ह्वाइट हाउस । फोटो: खसोखास

विश्वका विभिन्न देशले अमेरिकासँग भ्याक्सिनका लागि अनुरोध गरेपनि अनुरोध गरेका सबैलाई भने अमेरिकाले भ्याक्सिन सहयोग गर्ने सुचीमा राखेको छैन । अनुरोध प्राप्त भइसकेपछि ती देशमा महामारीको अवस्था, भ्याक्सिन वितरणको अवस्था लगायतका कैयन विषयलाई आधार मानेर भ्याक्सिन सहयोगको सुचीमा राखिएको ह्वाइट हाउसले जनाएको छ ।

सुलिभानले पत्रकारसम्मेलनमा नेपाललाई तोकेरै आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । दक्षिण र दक्षिणपूर्वी एसियाका भारत, नेपाल, फिलिपिन्स र अन्य संक्रमणदर बढीरहेका देशहरु आफ्नो प्राथमिकतामा रहेको उनले पत्रकार सम्मेलनमा स्पष्ट पारेका थिए । अमेरिका अरुलाई सहयोग गर्ने स्थीतिमा रहेको र त्यसैले अरुलाई सहयोग गर्ने उनले बताए ।

अमेरिकाले आफ्नो भ्याक्सिन अरुदेशको समर्थन प्राप्त गर्नका लागि प्रयोग नगर्ने सुलिभानले स्पष्ट पारे । राष्ट्रपति जो बाइडेनले पनि भ्याक्सिन अरु देशको समर्थन प्राप्त गर्नका लागि प्रयोग नगर्ने बारम्बार बताउँदै आएका छन् । सुलिभानले भने – ‘भ्याक्सिन सहयोग गर्ने अरु देशहरुले जस्तो हामीले कुनै शर्त राखेका छैनौं । सहयोग उपलब्ध गराइने देशबाट अमेरिकाले बदलामा कुनै चीज मागेको छैन । हाम्रो एउटै उद्देश्य महामारीको अन्त्य गर्नु हो ।’

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

त्यस्तै पत्रकार सम्मेलनमा राष्ट्रपतिका सल्लाहकार जेफ्री जियन्टसले अहिले अमेरिकाले सहयोग गर्ने भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति नपाइसकेको तर ६० मिलियन डोज उत्पादन गरेर भण्डारण गरिएको आष्ट्राजेनेका भ्याक्सिन भने नरहेको बताएका छन् । ६० मिलियन आष्ट्राजेनेका डोजहरुले एफडीएको सहमति कुरिरहेकाले अहिले प्रदान गरिने २५ मिलियन डोजहरु अमेरिकामा स्वीकृत जोन्सन एण्ड जोन्सन, फाइजर र मोडेर्नाबाटै उपलब्ध गराइने उनले स्पष्ट पारे ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

जुनको अन्तिमसम्ममा ८० मिलियन डोज भ्याक्सिन विश्वमा वितरण गर्ने राष्ट्रपतिको योजना अनुरुप आगामी साताहरुमा २५ मिलियन भ्याक्सिनहरु सम्बन्धित देशहरुम पुराइने उनले बताए । यथासम्भव भ्याक्सिन वितरणका लागि विदेशी मुलुकसँग काम सुरु गरिसकिएको उनले बताए । दक्षिण कोरियाका लागि भने भ्याक्सिन विहिबार नै पठाइसकिएको छ ।

नेपालको विशेष अनुरोध

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहायता अनुरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाएकी थिइन् । नेपाललाई कोरोनाविरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पठाएको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका थिए ।

भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए । खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न मुलुकले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गरेका थिए ।

अमेरिकाबाट नेपालमा भ्याक्सिन डोनेशनका लागि विभिन्न क्षेत्रबाट व्यापक पहल भएको थियो । नेपालीहरुले भ्याक्सिन सहयोगको आव्हान गर्दै हस्ताक्षर अभियान संचालन गरेका थिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालमा रहेका अमेरिकी राजदूत र्याण्डी बेरी समक्ष भ्याक्सिन सहयोगको आग्रह गरेका थिए ।

राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पठाएको पत्र अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाउँदै नेपाली राजदूत युवराज खतिवडा ।

नेपालमा आष्ट्राजेनेका अन्तरगतको कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका लाखौंले दोश्रो डोज पाएका छैनन् । उनीहरु दोश्रो डोजको व्यग्र प्रतिक्षामा रहेका छन् । पहिलो डोज पनि लगाउन नपाएकाहरु पनि भ्याक्सिनको प्रतिक्षामा रहेका छन् ।

नेपालमा भ्याक्सिन सहयोगका लागि केही अमेरिकी सांसदहरुले समेत सिनेटमा आवाज उठाएका थिए । अमेरिकामा रहेका नेपालीहरुले ती सांसदहरुसमक्ष गरेको आग्रहपछि सिनेटका विभिन्न कमिटिहरुमा यसबारे कुरा उठेको थियो ।

अमेरिकाले नेपाललाई भ्याक्सिन दिने घोषणा गरेपछि त्यसको स्वागत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले अमेरिकी घोषणाको स्वागत गरेका छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →