मोडेर्ना भ्याक्सिन १२ बर्षदेखि १७ बर्षसम्मका बालबालिकामा शतप्रतिशत प्रभावकारी
कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन १२ बर्षदेखि १७ बर्षसम्मका बालबालिकाहरुमा पनि सुरक्षित र उच्च प्रभावकारी रहेको कम्पनीले जनाएको छ । यो भ्याक्सिन अहिले अमेरिकामा १८ बर्षमाथिकाहरुलाई पनि लगाउन अनुमति छ ।
यदि १२ बर्षदेखि माथिकाहरुमा प्रयोगको स्वीकृति पाएमा यो भ्याक्सिन उक्त उमेर समुहमा लगाइने अमेरिकामा दोश्रो भ्याक्सिन हुनेछ । यसअगाडि अमेरिकामा फाइजर भ्याक्सिनलाई १२ बर्षदेखि माथिकाहरुमा प्रयोगको अनुमति दिइएको छ भने धमाधम वितरण समेत भइरहेको छ । अहिलेसम्म ६ लाख बालबालिकाहरुलाई अमेरिकामा फाइजर भ्याक्सिन दिइएको छ ।
मोडेर्ना भ्याक्सिन ४ साताको फरकमा २ डोज लगाउनुपर्छ । यो भ्याक्सिन १२ बर्षदेखि १७ बर्षसम्मका ३७ सय बालबालिकाहरुमा परीक्षण गरिएको थियो । आधाभन्दा बढीलाई सलाइन दिइएको थियो भने आधालाई वास्तविक भ्याक्सिन दिइएको थियो ।

कम्पनीले १२ देखि १७ बर्षसम्मका उमेर समुहका व्यक्तिमा मोडेर्ना भ्याक्सिन कोरोनाको लक्षणसहितको संक्रमण रोक्न शतप्रतिशत प्रभावकारी रहेको जनाएको छ । भ्याक्सिन लक्षणविनाको संक्रमण रोक्न ९३ प्रतिशत प्रभावकारी रहेको पाइएको छ ।
मोडेर्नाले १२ देखि १७ बर्षसम्मका उमेर समुहका व्यक्तिमा भ्याक्सिन लगाउने अनुमतिका लागि जुन महिनाको सुरुवातमा एफडीए समक्ष आवेदन दिने अपेक्षा गरिएको छ । परीक्षणका क्रममा १८ बर्षमाथिका व्यक्तिमा यो भ्याक्सिन लक्षणसहितको संक्रमण रोक्न ९५ प्रतिशशत प्रभावकारी देखिएको थियो भने वास्तविक भ्याक्सिन वितरणमा लक्षणसहितको संक्रमण रोक्न ९० प्रतिशत प्रभावकारी देखिएको सीडीसीले जनाएको छ ।





