अमेरिकाका आधाभन्दा धेरै राज्यमा ५० प्रतिशत बढी बयस्कलाई पूर्णरुपमा भ्याक्सिन
अमेरिकाका आधाभन्दा धेरै राज्यमा ५० प्रतिशत बढी बयस्कले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको सीडीसीले जनाएको छ । न्युयोर्कमा एकजना नर्सले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो शट लगाएको ५ महिनापछि अमेरिकामा २५ वटाभन्दा बढी राज्यमा पूर्णरुपमा भ्याक्सिन लगाउनेहरु ५० प्रतिशतभन्दा धेरै भएका छन् ।
वासिंटन डिसीमा पनि १८ बर्षमाथिका ५० प्रतिशतभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएका छन् भने मेनमा झण्डै ६३ प्रतिशत बयस्कले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । कनेक्टिकट र भर्मोन्टमा पनि पूरुर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने बयस्कहरु झण्डै ६३ प्रतिशत पुगेका छन् ।

६० प्रतिशतभन्दा धेरै बयस्कले पूर्णरुपमा कोरोनाबिरुद्ध भ्याक्सिन लगाएका राज्यहरुमा मासाचुसेट्स र रोढ आइल्याण्ड पनि रहेका छन् । न्युयोर्कमा ५६ प्रतिशतभन्दा धेरै बयस्कले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । न्युजर्सीमा कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएका बयस्कहरु न्युयोर्कभन्दा धेरै ५९ प्रतिशत नाघिसकेका छन् ।
अमेरिकाभरमा कम्तीमा एउटा डोज भ्याक्सिन लगाउने जनसंख्या कुल बयस्क जनसंख्याको ६१ प्रतिशत नाघिसकेको छ भने दुबै डोज लगाउने कुल जनसंख्या ५० प्रतिशतको नजिक पुग्न लागेको छ । राष्ट्रव्यापी तथ्यांक हेर्दा कुल बयस्क जनसंख्याको ४९ दशमलव ६ प्रतिशत बयस्कले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

राज्यको तथ्यांक हेर्दा कम प्रतिशतमात्र भ्याक्सिन लगाउनेहरुमा टेनेसी, अर्कान्सास, अलाबामा, मिसिसिपी लगायत छन् । मिसिसिपीमा कुल बयस्क जनसंख्याको झण्डै ३५ प्रतिशतलेमात्र कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएका छन् ।





