कोरोना संक्रमणबाट निको भएका कस्ले १ महिनापछि र कस्ले ३ महिनापछि भ्याक्सिन लगाउने ?
कोरोना संक्रमणबाट निको भएकाहरुले पनि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्छ । कोरोना संक्रमणबाट निको भएपछि कतिसमयसम्म पुन संक्रमण नहुनेगरी संरक्षण प्राप्त हुन्छ भन्नेबारे अझैसम्म विज्ञहरु यकिन छैनन् ।
पहिले नै कोरोना संक्रमणभएर निको भइसकेपछि पुन संक्रमण हुन सम्भव छ । त्यसैले विगतमा कोरोना संक्रमणबाट निको भएका वा विगतमा संक्रमण नभएका सबैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्छ । कोरोनाको लक्षण भएकै बेलामा भ्याक्सिन नलगाउन अमेरिकन सीडीसीले सुझाव दिएको छ ।

कोरोना संक्रमण भएको व्यक्तिले पहिलो डोज लगाउँदा भने एकदेखि तीनमहिनासम्म कुर्न सुझाव दिइएको छ । यदि कोरोना संक्रमण भएको बेलामा कुनै व्यक्तिको उपचार एन्टीबडी वा प्लाज्मा विधिबाट गरिएको थियो भने त्यस्ता व्यक्तिले भ्याक्सिन लगाउनका लागि ९० दिन कुर्नुपर्ने अमेरिकन सीडीसीको निर्देशिकामा उल्लेख छ ।
यदि तपाईलाई कोरोना संक्रमण भइसकेपछि कुन विधिबाट उपचार गरिएको थियो भन्ने थाहा थिएन भने तपाईले त्यसबारे उपचारमा संलग्न डाक्टर वा स्वास्थ्यसँस्थाबाट जानकारी लिनुपर्छ । कुनै कारणवश जानकारी प्राप्त हुन नसकेमा तीन महिना कुर्नु उचित हुन्छ ।
त्यस्तै विगतमा कोरोना संक्रमण भएकाहरुले भ्याक्सिन कहिले लिने भन्ने सन्दर्भमा कुनै थप प्रश्नहरु भएमा पनि चिकित्सकको परामर्श लिनुपर्छ ।
पहिलो डोज भ्याक्सिनपछि कोरोना पोजेटिभ देखिएमा दोश्रो डोज कहिले लगाउने ?
कोरोनाबिरुद्धको पहिलो डोज भ्याक्सिन लगाइसकेकाहरुमा कोराना संक्रमण देखिएपछि उनीहरुमा दोश्रो डोज लगाउने वा नलगाउने तथा कहिले लगाउने भन्ने सन्दर्भमा अन्यौल देखिएको छ । यसबारेमा अन्यौल हटाउन अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले गाइडलाइन प्रकाशित गरेको छ ।
उक्त गाइडलाइनमा अर्कोपटक कोरोना संक्रमण हुन नदिन वा प्रतिरक्षाका लागि कोरोना संक्रमणदेखिएकाहरुले पनि पूरै डोज लगाउनुपर्ने उल्लेख गरिएको छ । तर बिरामी भएकै अवस्थामा वा आइसोलेसनको अवधि कायम रहेको अवस्थामा भने भ्याक्सिनको दोश्रो डोज नलगाउन सुझाव दिइएको छ । आइसोलेसनमा बस्नुपर्ने भएकाहरुलाई दोश्रो डोज लगाउनुपर्ने समय गुज्रिसकेको भएपनि आइसोलेसन सकिनेबित्तिकै दोश्रो डोज लगाउन सिफारिस गरिएको छ ।
कोरोना संक्रमण भएमा लक्षण देखिन छाडेपछि वा सामान्यतया दुईदेखि चारसातापछि दोश्रो डोज लगाउन सकिने विज्ञहरुको सुझाव छ । दुबै डोज लगाइसकेपछि संक्रमित भएमा तेश्रो डोज लगाउनुनपर्ने र दुबै डोजले सिकिस्त हुनबाट संरक्षण प्रदान गर्ने जनाइएको छ ।
सामान्यतया नेपालमा वितरण गरिएको कोभिशिल्ड भ्याक्सिनको दोश्रो डोज ६ देखि ८ हप्ताभित्र लगाउन सिफारिस गरिएपनि भ्याक्सिन उपलब्ध नभएका कारण यो अवधि नाघिसकेको छ । लाखौं व्यक्तिले पहिलो डोज लगाएर दोश्रो डोज कुरिरहेका छन् भने कतिपय पहिलो डोज लगाएपछि संक्रमित भइसकेका छन् ।

सीडीसीले दोश्रो डोज भ्याक्सिन लगाउन ढिलो भयो भन्दैमा भ्याक्सिनको तेश्रो डोज पनि लगाउन सिफारिस भने गरेको छैन । अधिकांश भ्याक्सिन दुईवटा डोज लगाउनु अनिवार्य भएपनि एउटा डोजलेमात्र पनि केहीमात्रामा संरक्षण भने प्रदान गर्ने जनाइएको छ । तर जोखिम कम गर्न दुबै डोज लगाउनुपर्छ ।
यदि कसैले दुईडोज लगाउनुपर्ने कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोज समयमा लगाउन बिर्सेको वा कुनै कारणले छुटाएको खण्डमा यथाशक्य छिटो लगाउन न्युयोर्क युनिभर्सिटीका ल्यांगोन हेल्थमा सरुवा रोग, एलर्जी र खोप विशेषज्ञ डाक्टर पर्भी पारिखले सुझाव दिएका छन् । पहिलो डोज लगाएपछि दोश्रो डोज लगाउन छुटेको अवधिपछि विरामी हुने अवस्था आउन नदिन यथाशीघ्र दोश्रो डोज लगाउनुपर्ने उनको भनाई छ ।
दोश्रो डोज लगाउन ढिलो भएको खण्डमा प्रतिरोध क्षमताको विकाशमा भ्याक्सिनले क्षमतामा प्रभाव पार्ने वा नपार्ने भन्ने सन्दर्भमा अहिलेसम्म अध्ययन भएको छैन । त्यसैले ढिलो डोज लगाएकाहरुबीच अध्ययन नगरीकन कुनै निष्कर्षमा पुग्न भने तत्काल सम्भव नभएको न्युयोर्क युनिभर्सिटीको लङ आइल्याण्डमा रहेको ल्यांगोन अस्पतालका सरुवा रोग विशेषज्ञ लियोनार्द क्रिलोभले बताएका छन् ।

पहिलो डोज लगाएपछि दोश्रो डोज लगाउन छुटाएकाहरुले पहिलो डोज लगाएको ४ महिनाभित्र दोश्रो डोज लगाउँदा सम्भवत प्रभावकारी हुने उनको भनाई छ । अमेरिकामा समेत ठूलो संख्यामा दोश्रो डोज लगाउन छुटाउनेहरु रहेका छन् । नेपालमा भ्याक्सिन उपलब्ध नभएका कारण दोश्रो डोज लगाउन ढिलो भइरहेको छ ।
पहिलो डोज लगाएकाहरुले दोश्रो डोज छुटाउनुको कारण भने फरक फरक बताएका छन् । केहीले फ्लुजस्तै देखिने लगायतका साइड इफेक्टको डरका कारण दोश्रो डोज नलगाएको बताएका छन् भने केहीले आफू पहिलो डोजबाटै प्रयाप्त सुरक्षित भएको अनुभव गरेकाले दोश्रो डोज नलगाएको बताएका छन् ।





