नेपालमा दोश्रो डोज लगाइदै गरेको चिनियाँ खोपको युएईमा तेश्रो डोज सुरु
नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा
नेपालमा समेत वितरण भइरहेको कोरोनाबिरुद्धको सिनोफार्म अन्तरगतको चिनियाँ खोपको तेश्रो डोज समेत लगाउनुपर्ने भएको छ । युनाइटेड अरब इमिरेट्सले यो खोपको दोश्रो डोज लगाइसकेको ६ महिना पूरा भइसकेकाहरुलाई तेश्रो डोज लगाउन आव्हान गरेको छ ।
भ्याक्सिनको तेश्रो डोज लगाउने युएईको कार्यक्रम विश्वमै पहिलो मध्येको हो । युएईले यस अगाडि नै दोश्रो डोजबाट प्रयाप्त एन्टीबडी नबनेकाहरुलाई चिनियाँ खोप सिनोफार्मको तेश्रो डोज दिन सुरु गरिसकेको छ । अहिले भने ६ महिना नाघेका सबैलाई तेश्रो डोज लगाउन आव्हान गरिएको हो ।

समाजलाई अधितकम संरक्षण प्रदान गर्ने कार्यक्रम अन्तरगत तेश्रो डोजको आव्हान गरिएको युएईको आपतकालिन संकट तथा प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । युएईले बृद्धबृद्धाहरुलाई र अन्य प्रकारको रोग भएकाहरुलाई तेश्रो डोज लगाउने प्राथमिकतामा राखेको छ । युएईमा मे १८ मा जम्मा १२७० जनामा नयाँ संक्रमण पुष्टी भएको रिपोर्ट सार्वजनिक गरिएको छ ।
युएईमा कुल जनसंख्याको ७३ प्रतिशत बयस्कहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । जुन विश्वमै सबैभन्दा उच्चमध्येको दर हो । युएईमा सबैभन्दा धेरै चिनियाँ खोप सिनोफार्म लगाइएको छ । गतबर्षमा यसको सुरुवात भएदेखि उत्पादन पनि युएईभित्रै स्थानीयरुपमा भइरहेको छ । गतबर्षको नोभेम्बरको पहिलो साता नै त्यहाँका शाषक शेख मोहम्मद बिन रसिदले यो भ्याक्सिन लगाएका थिए ।
While receiving the COVID-19 vaccine today. We wish everyone safety and great health, and we are proud of our teams who have worked relentlessly to make the vaccine available in the UAE. The future will always be better in the UAE. pic.twitter.com/Rky5iqgfdg
— HH Sheikh Mohammed (@HHShkMohd) November 3, 2020
विश्व स्वास्थ्य संगठनबाट भने यो भ्याक्सिनले यसै महिनाको सुरुतिरमात्र प्रयोगको स्वीकृति पाएको थियो । नेपालमा अहिले यो भ्याक्सिनको दोश्रो डोज वितरण भइरहेको छ । यो भ्याक्सिन अहिले विश्वका झण्डै दुई दर्जन देशहरुले प्रयोग गरिरहेका छन् ।
यो भ्याक्सिन कोरोनाको लक्षणसहितको संक्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको छ । तर यो भ्याक्सिन लगाइएका सेशेल्स लगायतका मुलुकमा संक्रमणदर पनि उच्च हुँदा वास्तविक संसारमा भ्याक्सिनको प्रभावकारिताको मापदण्डबारे प्रश्न रहेको छ । यद्यपी सेशेल्समा यो भ्याक्सिन लगाएकाहरुमा संक्रमण देखिएपनि कोहीपनि सिकिस्त भने नभएको जनाइएको छ ।





