६१ प्रतिशतलाई भ्याक्सिन दिइएको सेशेल्समा कोरोना संक्रमण उच्च हुनुको सन्देश
प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार
विश्वकै सबैभन्दा बढी जनसंख्यालाई कोरोनाबिरुद्धको भ्याक्सिन दिइएको मध्येको देश सेशेल्समा कोरोना संक्रमण दर पनि उच्च देखिएको छ । पूर्वी अफ्रिकामा पर्ने देश सेशेल्समा कुल जनसंख्याको ६१ दशमलव ४ प्रतिशतभन्दा धेरैले कोरोनाबिरुद्धको खोप लगाएका छन् । तर कोरोना महामारी भने रोकिएको छैन ।
झण्डै ९८ हजार जनसंख्या रहेको यो देशमा बिहिबार सार्वजनिक तथ्यांक अनुशार सकृय कोरोना सक्रमितहरु झण्डै २७ सय रहेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुशार संक्रमितहरुमध्ये ३३ प्रतिशत पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु रहेका छन् ।
तर सेशेल्समा देखिएको संक्रमणदरले भ्याक्सिनले काम नगरेको भने प्रमाणित नहुने विज्ञहरुको भनाई छ । त्यहाँका विदेश तथा पर्यटनमन्त्रीका अनुशार भ्याक्सिन लगाएकाहरुमा संक्रमण त भएको छ तर उनीहरुमध्ये कोहीपनि सिकिस्त बिरामी भने भएका छैनन् । भ्याक्सिन लगाएकाहरु कसैको पनि ज्यान गएको छैन । भ्याक्सिन लगाएका कसैमा पनि जटिलता देखिएको छैन ।

सेशेल्समा चीनमा बनेको सिनोफार्म भ्याक्सिन र भारतमा बनेको आष्ट्राजेनेकाको उत्पादन कोभिशिल्ड वितरण गरिएको थियो । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुमध्ये ५७ प्रतिशतले सिनोफार्म भ्याक्सिन लगाएका थिए । १८ बर्षदेखि ६० बर्षसम्मकाहरुलाई यो भ्याक्सिन दिइएको थियो । त्यस्तै ४३ प्रतिशतले कोभिशिल्ड लगाएका थिए, यो भ्याक्सिन ६० बर्षभन्दा माथिकाहरुलाई दिइएको थियो ।
मे ८ पछिको तथ्यांक हेर्दा संक्रमितहरुमध्ये ३७ प्रतिशत पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु रहेका छन् । उनीहरुमध्ये कुन भ्याक्सिन लगाएकाहरु कति छन् भन्ने तथ्यांक भने सार्वजनिक गरिएको छैन । संक्रमण पुष्टी भएकाहरुमध्ये अस्पतालमा भर्ना भएकाहरुको तथ्यांक हेर्दा भर्ना हुनेहरुमध्ये २० प्रतिशत पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु रहेको जनाइएको छ । तर उनीहरु कोहीपनि सिकिस्त भने नभएको त्यहाँको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।
बिहिबारसम्म त्यहाँ जम्मा २ जनामात्र आईसीयुमा रहेको जनाइएको छ । भ्याक्सिनले जनताहरुलाई संरक्षण प्रदान गरेको निष्कर्षमा पुगिएको त्यहाँका विदेशमन्त्रीले बताएका छन् । दुबै भ्याक्सिनले काम गरेको निचोडमा आफूहरु पुगेको र भ्याक्सिन वितरण नगरेको भए अवस्था अत्यन्तै खराब हुने उनको भनाई छ ।





