एमाले विवाद समाधानको पहल तीव्र, एक होलान् त ओली–नेपाल?


प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने दिन नजिँकिदै जाँदा सत्तारुढ नेकपा एमालेमा विवाद समाधानको पहल तीव्र पारिएको छ।

शुक्रबार साँझ एमालेका ओली तथा माधव नेपालपक्षका नेताहरुबीच बालुवाटारमा छलफल भएको छ। छलफल सकारात्मक भएको नेताहरुले दाबी गरेका छन्। यद्यपि ठोस निर्णयमा भने नपुगेको जनाइएको छ।

बैठकमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमाल थिए भने खनाल(नेपाल समूहबाट योगेश भट्टराई, घनश्याम भूसाल र गोकर्ण विष्ट सहभागी थिए।

नेपाल पक्षले जेठ २ लाई बटमलाइन बनाएको छ भने ओली पक्षले फागुन २८ बाट फर्किन नसक्ने अडान राख्दै आएको छ।

बालुवाटारमा वार्ता चलिरहेका बेला महासचिव ईश्वर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

खनाल-नेपाल समूहका नेताहरूलाई गरिएको कारबाही राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर फिर्ता गर्ने विषयमा पनि कुरा अगाडि बढेको बताइएको छ।

बिहीबार साँझ राष्ट्रपति भेट्न शीतल निवास पुगेका नेपाल त्यहाँबाट फर्किएलगत्तै ओलीसँग भेट गरेका थिए। भेटमा दुवै पक्षले गुटगत गतिविधि नगर्ने र विवाद नचर्काउने समझदारी गरेको जनाइएको छ। खनाल(नेपाल पक्षले गर्दै आएका गतिविधि रोक्ने समझदारी बनेको पनि बुझिएको छ।

नेता नेपाल र उनीपक्षका नेताहरुले बिहीबार नै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com