कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोज समयमै लगाउन छुटे के गर्ने ?
हालै सीडीसीले सार्वजनिक गरेको एउटा तथ्यांक अनुशार ५० लाख भन्दा धेरै अमेरिकनहरुले कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोज लगाउन छुटाएका छन् । कुनै कारणले समयमै दोश्रो डोज लगाउन नपाएकाहरुलाई विज्ञहरुले केही महत्वपूर्ण सुझावहरु दिएका छन् ।
मोडेर्ना र फाइजरको दुईवटा डोज लगाउनु अनिवार्य भएपनि एउटा डोजलेमात्र पनि केहीमात्रामा संरक्षण भने प्रदान गर्ने जनाइएको छ । तर जोखिम कम गर्न दुबै डोज लगाउनुपर्छ । सीडीसीको एउटा अध्ययन अनुशार एउटामात्र डोजव लगाउँदा ८० प्रतिशतमात्र संरक्षण प्राप्त भएकोमा दुबै डोज लगाउँदा ९० प्रतिशतभन्दा बढी संरक्षण प्राप्त भएको देखिएको थियो । झण्डै ४ हजार स्वास्थ्यकर्मीहरुमा यो अध्ययन गरिएको थियो ।
यदि कसैले दुईडोज लगाउनुपर्ने कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोज समयमा लगाउन बिर्सेको वा कुनै कारणले छुटाएको खण्डमा यथाशक्य छिटो लगाउन न्युयोर्क युनिभर्सिटीका ल्यांगोन हेल्थमा सरुवा रोग, एलर्जी र खोप विशेषज्ञ डाक्टर पर्भी पारिखले सुझाव दिएका छन् । पहिलो डोज लगाएपछि दोश्रो डोज लगाउन छुटेको अवधिपछि विरामी हुने अवस्था आउन नदिन यथाशीघ्र दोश्रो डोज लगाउनुपर्ने उनको भनाई छ ।

दोश्रो डोज लगाउन ढिलो भएको खण्डमा प्रतिरोध क्षमताको विकाशमा याक्सिनले क्षमतामा प्रभाव पार्ने वा नपार्ने भन्ने सन्दर्भमा अहिलेसम्म अध्ययन भएको छैन । त्यसैले ढिलो डोज लगाएकाहरुबीच अध्ययन नगरीकन कुनै निष्कर्षमा पुग्न भने तत्काल सम्भव नभएको न्युयोर्क युनिभर्सिटीको लङ आइल्याण्डमा रहेको ल्यांगोन अस्पतालका सरुवा रोग विशेषज्ञ लियोनार्द क्रिलोभले बताउका छन् ।
पहिलो डोज लगाएपछि दोश्रो डोज लगाउन छुटाएकाहरुले पहिलो डोज लगाएको ९० देखि १२० दिनसम्म दोश्रो डोज लगाउँदा सम्भवत अझै प्रभावकारी हुने उनको भनाई छ । त्यसैले पहिलो डोज लगाएपछि कुनै कारण दोश्रो डोज लगाउन छुटेको खण्डमा त्यसका लागि भ्याक्सिन वितरण केन्द्रमा गएमा प्रदायकहरुले भ्याक्सिन लगाइदिन अस्वीकार नगर्ने जनाइएको छ ।
मोडेर्ना र फाइजरको भ्याक्सिनको पहिलो डोज लगाएका झण्डै ८ प्रतिशतले दोश्रो डोज भ्याक्सिन छुटाएको सीडीसीको पछिल्लो तथ्यांकमा देखिएको छ । यो संख्या बढ्दै जाने सीडीसीको अनुमान रहेको छ ।

पहिलो डोज लगाएकाहरुले दोश्रो डोज छुटाउनुको कारण भने फरक फरक बताएका छन् । केहीले फ्लुजस्तै देखिने लगायतका साइड इफेक्टको डरका कारण दोश्रो डोज नलगाएको बताएका छन् भने केहीले आफू पहिलो डोजबाटै प्रयाप्त सुरक्षित भएको अनुभव गरेकाले दोश्रो डोज नलगाएको बताएका छन् । केही भ्याक्सिन प्रदायकहरुले भने प्रयाप्त भ्याक्सिन नरहेको भन्दै दोश्रो डोजका अप्वाइन्टमेन्टहरु रद्द गरिदिएका थिए ।
सबैभन्दा ठूलो भ्याक्सिन प्रदायक मध्येको एक वालग्रिनले मोडेर्ना वा फाइजरको भ्याक्सिनका पहिलो डोज लगाएका केही व्यक्तिलाई आफूसँग अर्को भ्याक्सिनमात्र उपलब्ध रहेको भन्दै अप्वाइन्टमेन्ट रद्द गरिदिएको थियो । केहीले उपयुक्त दोश्रो डोज प्राप्त गर्नका लागि प्रयास गरेका थिए भने केहीले त्यत्तिकै छाडेका थिए ।
अर्कान्सास र इलिनोयका स्वास्थ्य अधिकारीहरुले पहिलो डोज लगाएकाहरुलाई दोश्रो डोज लगाउनका लागि सम्झाउन फोन, टेक्स्ट र पत्रहरु पठाउने गरेका छन् । पेन्सिलभेनियामा स्वास्थ्य अधिकारीहरुले कलेजमा पढ्ने विद्यार्थीहरु विदा भइसकेपछि पनि दोश्रो डोज प्राप्त गर्ने सुनिश्चितताका लागि काम गरिरहेका छन् । साउथ क्यारोलिनामा दोश्रो डोजका लागि छुटाएकाहरुका लागि भ्याक्सिन अलग्गै राखिएको छ ।





