अमेरिकामा एकसय मिलियन बयस्कले पूर्णरुपमा लगाए कोरोनाबिरुद्धको भ्याक्सिन
अमेरिकामा एकसय मिलियन बयस्कले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका छन् । मोडेर्ना र फाइजरका दुई दुई डोज तथा जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाउने १८ बर्षको जनसंख्या एकसय मिलियन पुगेको हो ।
भ्याक्सिन वितरणमा अमेरिकाले हासिल गरेको यो माइलस्टोनबारे ह्वाइटहाउसले समेत घोषणा गर्ने भएको छ । अमेरिकामा कुल जनसंख्याको ३८ प्रतिशत भन्दा धेरै बयस्कहरुले कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएका छन् । एउटामात्र वा पूरै भ्याक्सिन लगाउने बयस्कहरु भने १४१ मिलियन नाघिसकेका छन् ।

अमेरिकामा अहिलेसम्म १४३ मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । जसमध्ये दुबै डोज लगाउनेहरु १ सय मिलियन नाघेका हुन् । अमेरिकामा ६५ बर्षमाथिको कुल जनसंख्याको ८२ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । पूरै डोज लगाउने यो उमेर समुह कुल जनसंख्याको ६८ प्रतिशतभन्दा बढी रहेको छ ।

बाइडेन प्रशासनले सुरुको एकसयदिनमा २ सय मिलियन डोज भ्याक्सिन वितरण गर्ने लक्ष्य लिएको थियो । अहिलेसम्म अमेरिकामा २३७ मिलियन डोज भ्याक्सिन वितरण भइसकेको छ । कोरोना महामारीबाट ५ लाख ७१ हजारभन्दा धेरैलाई गुमाएको अमेरिकाले भ्याक्सिन वितरणमा नयाँ माइलस्टोन श्रृजना गरेको हो ।





