फाइजर र मोडेर्नाको भ्याक्सिन ६५ बर्षमाथिकालाई सिकिस्त हुनबाट रोक्न ९४ प्रतिशत प्रभावकारी
कोरोनाबिरुद्धको फाइजर र मोडेर्नाको भ्याक्सिन ६५ बर्षमाथिकाहरुमा वास्तविक विश्वमा पनि सिकिस्त हुनबाट रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकन सीडीसीले बुधबार प्रकाशित गरेको तथ्यांक अनुशार भ्याक्सिन लगाएका अमेरिकनहरुमाझ गरिएको अध्ययनमा भ्याक्सिन लगाएका ९४ प्रतिशत कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल भर्ना हुनबाट बचेका छन् ।
फाइजर र मोडेर्नाको एउटामात्र शट लगाएका ६५ बर्षमाथिकाहरुलाई पनि सिकिस्त भएर अस्पताल भर्ना हुनबाट रोक्न भ्याक्सिन ६४ प्रतिशत प्रभावकारी देखिएको छ । अध्ययनले जनवरीदेखि मार्चसम्म १४ वटा राज्यमा अस्पताल भर्ना भएका ४१७ जनाको केसको मूल्यांकन गरेको थियो । यसअगाडि तेश्रो चरणको क्लीनिकल परीक्षणको तथ्यांकमात्र सार्वजनिक गरिएपनि भ्याक्सिन लगाएको वास्तविक विश्वको तथ्यांक भने सार्वजनिक भएको थिएन ।

सीडीसीले आफ्नो अध्ययनमा उच्च जोखिममा रहेकाहरुका लागि भ्याक्सिन कोभिड संक्रमणबाट सिकिस्त हुनबाट जोगाउन महत्वपूर्ण उपकरण भएको निष्कर्ष निकालेको छ । सीडीसीले कोरोनाबिरुद्ध भ्याक्सिन लगाउनुका फाइदाका थप प्रमाणहरु पनि सार्वजनिक गरेको छ ।
अमेरिकामा अहिले औषतमा हरेक दिन २७ लाखले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइरहेका छन् । कुल जनसंख्याको ६५ बर्षभन्दा माथिका ८२ प्रतिशतले अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । ६५ बर्षमाथिका ६८ दशमलव ३ प्रतिशतले पूर्णरुपमा भ्याक्सिन लगाइसेका छन् ।
अमेरिकामा कुल जनसंख्याको ४३ प्रतिशत अर्थात् १४२ मिलियनभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिन लगाउने १८ बर्षभन्दा माथिको जनसंख्या ५४ दशमलव ५ प्रतिशत रहेको छ ।





