कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपछि मादक पदार्थ सेवन गर्न मिल्छ ?
लामो समयको प्रतिक्षापछि कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि तपाईलाई खुशियाली मनाउने वा मादक पदार्थ सेवन गर्ने इच्छा लाग्नसक्छ । तर के कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनबित्तिकै मादकपदार्थ सेवन गर्नु उचित हो ? के मादकपदार्थ सेवन गर्दा भ्याक्सिनले काम गर्छ ?
यो कुरा तपाईले कतिमात्रामा मादकपदार्थ सेवन गर्नुहुन्छ त्यसमा भरपर्ने विज्ञहरुले बताएका छन् । एउटा वा दुईवटासम्म मादकपदार्थ सेवन गर्दा अहिलेको भ्याक्सिन कम प्रभावकारी हुने कुनै प्रमाण छैन । केही अध्ययनहरुले भ्याक्सिन लगाएपछि थोरैमात्रामा मादकपदार्थ सेवन गर्दा इम्युन प्रणालीमा फाइदा गर्नेसमेत देखाएका छन् ।
तर भारीमात्रामा मादक पदार्थ सेवन गरेको खण्डमा इम्युन प्रणालीमा नकारात्मक दवाव श्रृजना हुने र भ्याक्सिनलाई काम गर्नबाट अवरोध उत्पन्न हुने विज्ञहरुको भनाई छ । कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि संरक्षणको स्तर तयार गर्न शरीरलाई केहीदिन लाग्ने भएकाले यो अवधिमा इम्युनि निर्माणमा अवरोध गर्ने कुनैपनि कुरा चासोको विषय हुने गरेको छ ।
युनिभर्सिटी अफ क्यालोफोर्नियामा भाइरस शोध केन्द्रका निर्देशक इम्युन रेस्पोन्समा मादक पदार्थको प्रभावबारे अध्ययन गरेका इल्हेम मेसाउदीले ठीक्कमात्र मादकपदार्थ सेवन गर्नेहरुका सन्दर्भमा भ्याक्सिन लगाउने समय वरपर ठीक्कमात्र मादकपदार्थ सेवन गर्दा कुनै समस्या नहुने बताएका छन् । तर अत्याधिक मदिरा सेवन गरेमा भने सबै बायोलोजिकल प्रणालीहरुमा असर गर्ने र भ्याक्सिनको प्रभावकारिता कम हुने उनले बताए ।
ठीक्क मादकपदार्थ सेवन भन्नाले पुरुषका लागि दिनको दुईवटा सम्म र महिलाका लागि दिनको एउटासम्म बुझिन्छ । भारी मदिरा सेवन भन्नाले पुरुषका लागि दिनको ४ वा त्योभन्दा बढी र महिलाका लागि तीन वा त्योभन्दा बढी बुझिन्छ । एउटा ड्रिंक्समा वाइन ५ आउन्स, ह्वास्की लगायतको मादकपदार्थ साढे १ आउन्स र बियर १२ आउन्स बुझ्नुपर्छ ।

रसियन स्वास्थ्य अधिकारीहरुले गत डिसेम्बरमा भ्याक्सिनको डोज लगाउनुभन्दा कम्तीमा दुईसाता अगाडिदेखि मादकपदार्थ सेवन नगर्न चेतावनी दिएका थिए । त्यस्तै भ्याक्सिन लगाइसकेपछि कम्तीमा ४२ दिनसम्म मादकपदार्थ सेवन नगर्न सुझाव दिइएको थियो । रसियन स्वास्थ्य अधिकारीहले मादक पदार्थ सेवन गर्दा इम्युन विकाश गर्नमा शरीरको क्षमतामा कमी आउने दावी गरेका थिए ।
अमेरिकामा पनि भ्याक्सिन लगाउने धेरैले मादकपदार्थबारे प्रश्न सोध्ने गरेको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरमा डाक्टर एन्जेला ह्युलेटले बताएकी छिन् । भ्याक्सिन लगाएकाहरुले अधिकतम इम्युन विकाशका लागि सुनिश्चित गर्नका लागि यस्ता प्रश्नहरु राख्ने गरेको उनले बताइन् । अहिले अमेरिकामा एफडीएबाट अमेरिकामा स्वीकृत भ्याक्सिनमा मादक पदार्थको प्रभाव हुने नहुनेबारे विचार नगरिएको उनको भनाई छ ।
विभिन्न अध्ययनहरुबाट स्पष्ट छ कि अत्याधिक मादक पदार्थको सेवनले इम्युन प्रणालीमा नकारात्मक असर गर्नुका साथै ब्याक्टेरिया र भाइरल संक्रमणको संवेदनशीलतालाई बढाउँछ । अत्याधिक मादक पदार्थको सेवनले इम्युन सेलहरुलाई संक्रमणभएको ठाउँमा जानबाट रोक लाग्नुका साथै इम्युन सेलहरुलाई आफ्नो काम गर्नबाट रोक्छ । जसका कारण इम्युन सेलहरुले भाइरस र ब्याक्टेरिया नष्ट गर्न सक्दैछन् । भाइरस र ब्याक्टेरियालाई सेलहरुमाथि आक्रमण गर्न सहज बनाउँछ ।

त्यसको साटो ठीक्कमात्र मादकपदार्थ सेवन गर्नेहरुका सन्दर्भमा भने त्यस्तो नकारात्मक प्रभाव देखिएको छैन । ५ प्रकारका फरक फरक स्वासप्रश्वास सम्बन्धित भाइरस संक्रमित ३ सय ९१ जनामा गरिएको परीक्षणमा ठीक्कमात्र मादकपदार्थ सेवन गर्दा उनीहरुले चुरोट सेवन नगरेको खण्डमा रुघाखोकी लाग्नबाट बचाएको थियो ।
अर्को एउटा अध्ययन बाँदरमाथि गरिएको थियो । ७ महिनासम्म बाँदरहरुलाई मादकपदार्थ दिइएको थियो । केही बाँदरले रमाएर अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । केही बाँदरले अलिअलिमात्र मादक पदार्थ सेवन गरेका थिए । अत्याधिक मादक पदार्थ पिएका बाँदरमा भ्याक्सिनले कममात्र काम गरेको थियो भने ठीक्क पिउनेहरुमा भ्याक्सिनले काम गरेको थियो । अत्याधिक पिउनेहरुमा इम्युनको विकाश हुन नसकेको पाइएको थियो । तर अलिअलिमात्र पिउनेहरुमा भने नपिउनेहरुको तुलनामा राम्रो इम्युन रेस्पोन्स पाइएको थियो ।
मुसामा गरिएको एउटा यस्तै परीक्षणमा पनि अत्याधिक मदिरा लिएकाहरुमा इम्युन रेस्पोन्स कम देखिएको थियो भने अलिअलिमात्र लिएकाहरुमा इम्युन रेस्पोन्स राम्रो देखिएको थियो । डाक्टर एन्जेला ह्युलेटले भ्याक्सिन लगाएपछि सकभर मादक पदार्थ सेवन नगर्न सुझाव दिएकी छिन् तर एक ग्लास श्याम्पेन वा त्यस्तै सामान्य रुपमा मादक पदार्थ सेवन गर्दा भ्याक्सिनको प्रभावकारितामा नकारात्मक असर नगर्ने उनको विश्वास छ ।





